‘अपराधमा संलग्नलाई कारबाही हुनुपर्छ’

गोरक्ष समाचारदाता
दाङ, २६ मङ्सिर । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नागरिकको अधिकार सुनिश्चितता गर्न अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

नेपाल मानव अधिकार संगठनले बिहिबार घोराहीमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको ‘परिवर्तित परिस्थितिमा मानव अधिकारको अवस्था’ विषयक नागरिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख घर्ती मगरले भर्खरै भएको जेन–जी आन्दोलनका क्रममा अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका घर्ती मगरले भने, ‘जेन–जी आन्दोलनसँगै अन्य घट्नाहरूको सत्यतथ्य छानबिन गरेर अपराध र अराजक गतिविधिमा संलग्नलाई कारबाही हुनुपर्छ । राज्य पक्षको भनेर छोड्न हुँदैन, अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनैपर्छ ।’ आन्दोलनका नाममा अराजक गतिविधिमा संलग्नलाई बचाउँदा नागरिकमा निराशा हुनुका साथै गलत कार्यमा संलग्नलाई प्रश्रय मिल्ने उनको तर्क थियो ।

तत्कालीन माओवादी १० वर्षीय द्वन्द्वका क्रममा समेत नागरिक पीडित भएको भन्दै उनले नागरिक अधिकार सुनिश्चितताका लागि निरन्तर सरोकारवालाले आवाज उठाउनुपर्ने बताए । कार्यक्रममा संविधान सभा सदस्य अनिता देवकोटाले नागरिकको अधिकार सुनिश्चितताका लागि कानुनी व्यवस्था भए पनि व्यवहारमा लागु गर्न नसक्दा अहिले पनि मानव अधिकार हनन् हुने गरेको बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि देवकोटाले मानव अधिकारको विषयलाई आम नागरिकले बुझ्निे गरी तल्लो तहसम्म लैजानुपर्ने धारणा राखिन् । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजु खनालले लोकतन्त्रको सुन्दर पक्ष भनेकै मानव अधिकारको सुनिश्चितता रहेको बताए । मानव अधिकारबिना जनताको बोल्न पाउने अधिकारको सुनिश्चितता नहुने भन्दै उनले मानव अधिकारको प्रत्याभूतिका लागि राज्य गम्भीर बन्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव विश्वराज आचार्यले संविधानमा लेखिएको कुरा व्यवहारमा लागु हुन नसक्दा जनताले अधिकार माग्नुपर्ने अवस्था रहेको बताए । कार्यक्रममा सहभागीले मानव अधिकारको विषयलाई राजनीतिकीकरण नगरी विशुद्ध मानव अधिकारकै दृष्टिले हेरिनुपर्ने धारणा राखे ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल बार एसोसिएसन दाङकी अध्यक्ष गोमा महरा, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्य, ज्येष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरी, महिला मानव अधिकारकर्मी बिमला योगीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संगठन दाङ शाखा अध्यक्ष जयानन्द शर्माको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा संगठनकी टीका डाँगीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।