गोरक्ष समाचारदाता
दाङ, २६ मङ्सिर । घोराही उपमहानगरपालिका–१७ मा रहेको प्राथमिक विद्यालय क्वाडीले महायज्ञबाट ३१ लाख रुपैयाँ बचत गरेको छ । विद्यालयले मङ्सिर ८ देखि १५ गतेसम्म सञ्चालन गरेको श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञबाट ३१ लाख २९ हजार नौ सय ७० रुपैयाँ बचत गर्न सफल भएको हो ।
महायज्ञ मुल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । महायज्ञबाट कुल ४१ लाख ९५ हजार एक सय १५ रुपैयाँ आम्दानी गरे पनि १० लाख ६५ हजार एक सय ४५ रुपैयाँ खर्च हुँदा ३१ लाख २९ हजार नौ सय ७० रुपैयाँ बचत भएको महायज्ञका निर्देशक श्रीधर पौडेलले जानकारी दिए ।
उनका अनुसार नगदी रसिदबाट ३६ लाख सात हजार एक सय ४२ रुपैयाँ, दानपेटिकाबाट २१ हजार नौ सय आठ रुपैयाँ, धान बिक्रीबाट चार लाख २५ हजार दुई सय ६५ रुपैयाँ र कलश बिक्रीबाट एक लाख ४० हजार आठ सय रुपैयाँ सङ्कलन भएको छ । विभिन्न स्रोतबाट प्राप्त यो रकम विद्यालयको विकासका लागि महत्वपूर्ण स्रोत बन्ने अपेक्षा गरिएको छ । प्राथमिक विद्यालय क्वाडीको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि सञ्चालन गरिएको श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञबाट सङ्कलित रकमलाई विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणमा लगाइने महायज्ञ मुल आयोजक समितिकी संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेमन्ता पुनले जानकारी दिइन् ।
सबैको साथ र सहयोगले महायज्ञबाट अपेक्षा गरेभन्दा राम्रो दान सङ्कलन गर्न सफल भएको भन्दै मुल आयोजक समिति संयोजक पुनले दाताको दानलाई सही सदुपयोग गर्दै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा लगाइने बताइन् । यस महायज्ञले स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोग प्राप्त गरेको थियो । पत्रकार सम्मेलनको सहजीकरण विद्यालयका प्रधानाध्यापक खड्ग वलीले गरेका थिए ।