लोकप्रिय बन्दै बागवानी होमस्टे

गोरक्ष समाचारदाता
दाङ, २२ मङ्सिर । घोराहीमा बजारको कोलाहलबाट टाढा, हरियाली छरिएको शान्त वातावरणमा अर्गानिक खाना र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहनेहरूका लागि बागवानी होमस्टे आकर्षणको नयाँ केन्द्र बनेको छ ।

घोराही–धारापानी पर्यटन सडक अन्तर्गत घोराही–१७ को कर्जाहीमा रहेको बागवानी होमस्टे कृषि पर्यटनले पछिल्लो समय ग्राहकको मन जित्दै आएको छ । करिब २८ कट्ठा क्षेत्रफलमा फैलिएको होमस्टेले गाउँघरको लोक रैथाने परिकार र मौसमी फलफूलको स्वाद लिन पाउने अवसर दिँदै आएको होमस्टे सञ्चालक अङ्कित डिसी बताउँछन् ।

‘बजार नजिकै भएर पनि प्राकृतिक कृषि वातावरणमा अर्गानिक खाना र स्थानीय संस्कृतिको अनुभव दिने उद्देश्यले विगत चार वर्षदेखि यो होमस्टे सञ्चालन गरिरहेका छौँ’, सञ्चालक डिसीले भने, ‘ग्राहक अर्थात् पाहुनाको राम्रो आतिथ्यता पाइरहेका छौँ ।’ होमस्टेमा लोकल कुखुरा, मकैको ढिँडो, कोदोको मम र रोटी, लोकल माछा, तरुल, अर्गानिक तरकारीलगायत विभिन्न परम्परागत खाना तथा नास्ता पाइन्छ ।

सिजन अनुसार आँप, अम्बा, मेवा, नासपातीलगायतका ताजा फलफूलसमेत ग्राहकलाई उपलब्ध गराउँदै आएको भन्दै सञ्चालक डिसीले भने, ‘सबै तरकारी र फलफूल हाम्रै कृषि बारीमा अर्गानिक रूपमा उत्पादन गरिएको खुवाउने गरेका छौँ । यहाँ उत्पादन नहुने मात्र बाहिरबाट ल्याउने गरेका छौँ ।’ होमस्टेमा बस्ने गरी आउनेका लागि पाँच वटा कोठा रहेका छन् ।

होमस्टेमा बास र भोजन गरी प्रतिव्यक्ति एक रातको बसाइँमा सामान्यतया दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म खर्च हुने गरेको बताए । ‘सामान्य रूपमै ग्राहकलाई सेवा दिने गरी होमस्टे सञ्चालन गरेका छौँ’, उनले भने, ‘महँगो छैन, सामान्य नागरिक पनि होमस्टेमा आएर सेवा लिन सक्नेछन् ।’ उनका अनुसार पछिल्लो समय होमस्टेमा खाना र बास बस्नेदेखि रातको समयमा क्याम्प फायरको समेत व्यवस्था रहेको छ ।

होमस्टेमा जिल्लाका विभिन्न ठाउँदेखि बाहिरी जिल्लासम्मबाट पाहुना आउने गरेको डिसीले बताए । ‘फेसबुक तथा युट्युबमा सर्च गरेरसमेत धेरै पाहुना आउनुहुन्छ । सेवा लिएर सन्तुष्ट हुनुहुन्छ’, उनले भने, ‘कतिपय बजारको कोलाहल मन नपरेर दिनभरि शान्त र प्राकृतिक वातावरणमा रमाउने र विश्राम लिनसमेत आउनुहुन्छ ।’ कृषि क्षेत्रमा अध्ययन गर्ने उद्देश्यले समेत पछिल्लो समय मानिसहरू होमस्टेमा आउने गरेको उनको भनाइ छ ।

विश्वको अग्लो त्रिशूल रहेको पाण्डवेश्वर मन्दिर जाने बाटोमा अवस्थित यो होमस्टेले कृषिमा आधारित पर्यटनको उदाहरणका रूपमा रहेको समेत बताए । होमस्टेको निर्माण तथा पूर्वाधारमा करिब १२ लाख रुपैयाँ खर्च भएको छ । शुपथ मूल्य, अर्गानिक खाना र प्राकृतिक वातावरणले गर्दा बागवानी होमस्टे घोराहीका बासिन्दादेखि बाहिरी पर्यटकसम्मको रोजाइँमा परिणत हुँदै गएको छ ।