खेमराज रिजाल
तुलसीपुर, २३ मङ्सिर । स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बालबालिकाका लागि स्वर्णविन्दु प्राशन निर्देशिका २०८२ जारी गर्दै सबै आपुर्वेद स्वास्थ्य संस्थाले बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालनमा ल्याउन निर्देशन गरे अनुरूप तुलसीपुरको दोघरेस्थित राप्ती आयुर्वेद चिकित्सालयले सोमवारदेखि स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको छ ।
बालबालिकालाई बिहान ७ बजेदेखि स्वर्णविन्दु प्राशन खुवाउन सूचना जारी गरे पनि अभिभावक बिहानै ४ बजेदेखि अस्पतालको प्रङ्गणमा लाइनमा बसेका थिए । अस्पताल परिसरमा थामी नसक्नु भिड भएपछि चिकित्सालयमा भिड व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्नुपरेको थियो । स्वर्णविन्दु प्राशनको शुभारम्भ तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काले गर्ने कार्यक्रम रहे पनि अत्यधिक भिडका कारण र हामी नेपाल संस्थाका प्रतिनिधिको विरोधका कारण औपचारिक कार्यक्रम नै नगरी बालबालिकालाई स्वर्णविन्दु प्राशन थोपा खुवाउन सुरु गरिएको थियो ।
चिकित्सालयले कम्तीमा पाँच सय बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने योजना बनाए पनि त्यो भन्दा धेरै अभिभावक बालबालिका लिएर आएपछि अस्पताल व्यवस्थापनले स्वर्णविन्दु प्राशन खुवाउनेको नाम दर्ता गर्नसमेत भ्याएको छैन । जति आउँछन् सबैलाई खुवाउँदै जाँदा सङ्ख्या यकिन हुन नसकेको चिकित्सालयका प्रमुख मदन बिसीले बताएका छन् ।
दोघरेसँगै आइतवारदेखि लुम्बिनी प्रदेशको रुपन्देही, नवलपरासी, बर्दिया र दाङमा स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु भएको छ । स्वर्णविन्दु प्राशनमा अभिभावकको अत्यन्त विश्वास बढेपछि खुवाउनेको सङ्ख्या हरेक महिना वृद्धि हुँदै गएको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले जनाएको छ । बिजौरीमा यो कार्यक्रम झन्डै दुई वर्ष अघिदेखि सुरु भएको थियो । सो अस्पतालमा एकै दिन कम्तीमा पाँच हजार बालबालिकाले स्वर्णविन्दु प्राशन थोपा लिने गरेको अस्पतालका निर्देशक डा प्रवेश श्रीवास्तवले बताए ।
आइतवारदेखि तुलसीपुरस्थित दोघरेमा पनि यो कार्यक्रम विस्तार भएपछि बिजौरीमा भिडमा केही कमि आएको देखिन्थ्यो । ‘पहिले बिजौरीमा लैजान्थ्यौँ, तुलसीपुरमा पनि खुवाउने मोबाइलमा म्यासेज आएपछि यतै लिएर आयौँ’, अस्पतालको भिडमा भेटिएकी दुर्पती भट्टराईले गोरक्षलाई भनिन् । उनी बिजौरी जस्तै भिड हुने सम्झेर बिहान ४ बजे नै बच्चालाई लिएर अस्पताल आइपुगेको बताइन् ।
दुर्पती जस्तै शान्तिनगर गाउँपालिका बाघमारेकी सरिता वली पनि यसरी नै बिजौरीबाट तुलसीपुर सरेको बताइन् । ‘तुलसीपुरमा पनि सुरु भएपछि हामीलाई सजिलो भएको छ’, सरिताले भनिन् । तुलसीपुरमा हजार बढी अभिभावक आफ्ना बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउन लाइनबद्ध देखिन्थे । तुलसीपुरको दोघरेमा यो कार्यक्रम सुरु भएपछि पश्चिम दाङका शान्तिनगर, बबई र दंगीशरणसँगै तुलसीपुर बजारका स्थानीयलाई पायक पर्ने विश्वास गरिएको छ ।
बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई सङ्घीय सरकारले स्वर्णविन्दु प्राशन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ पठाएको छ भने तुलसीपुरस्थित दोघरे आयुर्वेद चिकित्सालयलाई प्रदेश सरकारले एक लाख रुपैयाँ मात्र पठाएको छ । अस्पताल प्रशासनले यो बजेटले नियमित रूपमा स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गर्न भने नसकिने बताएका छन् ।
‘पाँच हजार बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउन कम्तीमा ५० हजारको स्वर्णभस्म खरिद गर्नुपर्छ । त्यसपछि घिउ, मह र जनशक्ति परिचालनमा पनि खर्च लाग्छ’, बिजौरी अस्पतालका निर्देशक श्रीवास्तवले भने । स्वर्णविन्दु प्राशनको प्रभाव र प्रचार बढेसँगै आयुर्वेद चिकित्सालयमा आफ्ना नवजात शिशुलाई स्वर्णविन्दु प्राशन खुवाउन हजारौँ आमाहरू सहभागी हुन थालेका छन् ।
बिजौरीमा यो कार्यक्रम सुरुआत गर्दाकै दिन जम्मा ८७ बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको थियो तर यो शनिवार मात्रै स्वर्णविन्दु प्राशनमा सहभागी हुने बालबालिकाको सङ्ख्या कम्तीमा छ हजार बढी पुगेको छ । अब यो भिड तुलसीपुरतर्फ केन्द्रित हुने अनुमान गरिएको छ । स्वर्णविन्दु प्राशन थोपा खुवाउन चिकित्सालयका सबै कर्मचारीसँगै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका कर्मचारीसमेत परिचालन भएको चिकित्सालयका बरिष्ठ कविराज विष्णु पन्थीले जानकारी दिएका छन् ।
आयुर्वेद चिकित्सा पद्धति अनुसार पर्ने पुष्य नक्षेत्रमा स्वर्णविन्दु प्राशन खुवाइन्छ । यो धेरैजसो महिनामा एक पटक पर्दछ तर कुनै महिनामा दुई पटकसम्म पर्दछ । बच्चालाई कहिले खुवाउने भन्ने मिति अस्पतालले सबै सहभागी अभिभावकलाई जानकारी गराउने गरेको छ । स्वर्णविन्दु प्राशनको कार्डमा यो तिथिमिति उल्लेख हुन्छ । आयुर्वेद चिकित्साका अनुसार ग्रम्हि घिउ, शुद्ध मह र स्वर्ण भस्म मिश्रण गरिएको एक प्रकारको तत्वलाई स्वर्णविन्दु प्राशन भनिन्छ । एउटा ड्रपरको माध्यमबाट प्रत्येक बालबालिकालाई उमेर अनुसार दुईदेखि चार थोपासम्म खुवाउन सकिन्छ ।
यो उपचार पद्धतिले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, खानामा रुचि हुने, पाचन प्रक्रियामा सहज हुने, बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोगी हुने भएकाले आयुर्वेद चिकित्सामा स्वर्णविन्दु प्राशनलाई महत्व दिइँदै आइएको छ । भारतलगायत अन्य मुलुकमा यो पद्धति धेरै अघि सुरु भए पनि नेपालमा भने २०७९ सालमा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका तत्कालीन निमित्त निर्देशक डा सन्तोष ठाकुरले सुरुआत गरेका थिए । जुन नेपालमै पहिलो पटक थियो ।
हाल आएर यो सेवा प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा सुरु भएको छ भने जिल्ला आयुर्वेद चिकित्सालय चितवनले पनि यो सेवा भर्खरै सुरु गरेको बताइएको छ । अब यो सेवालाई हरेक आयुर्वेद उपचार केन्द्रमार्फत् विस्तार गर्ने नीति आयुर्वेद विभागले लिएको छ । आयुर्वेद विभागको परिपत्र अनुसार सोमवार मुलुकभरका कम्तीमा २४ वटा आयुर्वेद स्वास्थ्य संस्थामा एकैसाथ सुरु भएको छ ।
अब स्वर्णविन्दु प्राशन खुवाउने दिन अर्को महिना पुसको २१ गते परेको छ । यो नक्षत्र प्रायः महिनामा कम्तीमा पनि एक दिन पर्ने गर्दछ ।