युवा पुस्ताको अपेक्षा र कांग्रेस महाधिवेशन

बिजय बिष्ट
नेपाली कांग्रेसको आसन्न महाधिवेशन पार्टीको नियमित प्रक्रियाभन्दा धेरै धेरै अर्थ बोकेको क्षण बनिरहेको छ। देशको जनसांख्यिक बनावट, बदलिँदो राजनीतिक चेतना र युवामाथि बढ्दो जिम्मेवारीका कारण यस महाधिवेशनलाई अहिलेको पुस्ताले भविष्यको दिशानिर्देशक अवसरका रूपमा हेरिरहेको छ।

तर विडम्बना के छ भने, युवाको संख्यात्मक र बौद्धिक उपस्थितिको तुलनामा पार्टी संरचनामा उनीहरूको सहभागिता अत्यन्त न्यून छ। यही असन्तुलन आज युवाको प्रमुख चिन्ता र आवाज बनेको छ। २०६२र६३ को जनआन्दोलनले नेपालमा समावेशी लोकतन्त्रको जग बसायो। त्यसपछि दलित, महिला, जनजाति, मधेसी र अल्पसंख्यक समुदायका लागि संरचनागत सुनिश्चितता भयो। तर देशको सबैभन्दा ठूलो जनसांख्यिक हिस्सा बोकेको युवा समूह भने अझै औपचारिक समावेशी संरचनाबाट बाहिरै छ।

युवालाई प्रायः “भोलिका नेता” भन्ने भाषण हुन्छ, तर आजको दिनमा उनीहरूलाई निर्णय गर्ने ठाउँ कमै मिल्छ। यही अन्तरले युवाभित्र विसंगति, निराशा र असन्तुष्टि बढाइरहेको छ। देशबाट वर्षैहुँदा लाखौं युवा विदेशिनुको मूल कारण रोजगारी मात्र होइन, मुलुकमा अवसर र विश्वासको अभाव हो। विदेशिन बाध्य युवाको पसिनासँगै देशको ऊर्जा, श्रम र सृजनशीलता पनि बाहिरिनु राष्ट्रकै लागि दीर्घकालीन चुनौती हो।

राजनीतिक दलहरूमा संलग्न युवाले पनि चुनावी गतिविधि वा सडकमै सीमित भूमिकामा आफूलाई भेट्छन्, तर नीति निर्माण र संगठनात्मक नेतृत्वमा उनीहरूको स्थान अत्यन्त सीमित रहन्छ। अब यही संरचनागत कमजोराइलाई सम्बोधन गर्ने समय आएको छ। नेपाली कांग्रेसले विगतमा राज्य र समाजका उपेक्षित समुदायका लागि गरेको संस्थागत समावेशीकरण ऐतिहासिक थियो। आज त्यो नैतिकता र उदाहरण युवाका सवालमा पनि लागू गर्नुपर्ने आवश्यकता छ।

युवाका लागि स्पष्ट, बाध्यकारी र सम्मानजनक कोटा व्यवस्था अब विकल्प होइन, पार्टीको दीर्घकालीन अस्तित्वका लागि अनिवार्य शर्त बनिरहेको छ। जनसंख्यामा बहुमत, प्रविधिमा दखल, नवप्रवर्तनमा क्षमता र देश बदल्ने आँट भएकाहरूलाई निर्णयमा स्थान दिनु नै संगठनलाई आधुनिक बनाउने पहिलो पूर्वसर्त हो।

कांग्रेसको महाधिवेशनले यसपटक केवल नेतृत्व चयनको अभ्यासमा सीमित हुनु हुँदैन। यो अवसर पार्टीभित्र नयाँ राजनीतिक संस्कार जन्माउने क्षण हुनुपर्छ—जहाँ गुटभन्दा माथि योग्यता, पहुँचभन्दा माथि क्षमता र भाषणभन्दा माथि कार्य संस्कृतिले स्थान पाओस्। युवालाई निर्णय प्रक्रियामा समेटेर मात्र पार्टीले आफ्नो भविष्य सुरक्षित गर्न सक्छ। युवालाई पछाडि राख्ने परम्परा लामो समय टिक्न सक्दैन, किनकि राष्ट्रको भविष्य निर्माण गर्ने शक्ति उनीहरूकै हातमा छ।

नेपाली कांग्रेस समावेशीताको पक्षधर पार्टी हो। यही पार्टीले अब समावेशीताको अर्को अध्याय—युवा समावेशीकरण—सुरु गर्नुपर्छ। युवाको ऊर्जा नाराभन्दा बढी निर्णयमा देखिनुपर्छ, जिम्मेवारीका ठाउँमा देखिनुपर्छ। देश उठाउने बल आजको युवा पुस्ताकै मुटुभित्र धड्किरहेको छ, र त्यो बललाई संस्थागत रूपमा उपयोग गर्न सके कांग्रेसले मात्र होइन, पूरा राष्ट्रले नयाँ आशा पाउनेछ।