गोरक्ष समाचारदाता
तुलसीपुर, २३ मङ्सिर । जेन–जी आन्दोलनका क्रममा प्रशासनिक भवन जलेर ध्वस्त भएपछि खरानी पन्छाएर पुरानो भवनमा सेवा सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाले प्रथम त्रैमासिक प्रगति समीक्षा सोमवार एउटा होटलमा सम्पन्न गरेको छ ।
चार सय ३३ जना कर्मचारी र करिब ९० बढी कार्यपालिका सदस्य रहेको तुलसीपुर उपमहानगरपालिकाको त्रैमासिक प्रगति समीक्षा सुरुआतमा उत्साहित देखिन्थ्यो तर प्रस्तुतीकरण देखाउँदै सहभागी बाहिरिन थालेपछि नगर प्रमुखले निर्देशन दिने बेला दुई दर्जनको पनि सहभागिता देखिएन । समीक्षा कार्यक्रममा उपमहानगरपालिकाका १९ वटै वडाको प्रगति समीक्षा प्रस्तुत गरिएको थियो भने झन्डै दुई दर्जन बढी विषयगत शाखाले आआफ्नो प्रस्तुति देखाएका थिए । सबै शाखाको प्रगति समीक्षामा आर्थिक वर्षको चार महिना समाप्त भैसक्दा आर्थिक र भौतिक प्रगति कुनै पनि वडा र शाखाहरूको १५ प्रतिशतभन्दा माथि उक्लन सकेन ।
आर्थिक वर्षको सुरुआतमै वर्षातको मौसम, लगत्तै जेन–जी आन्दोलन र त्यसपछिका पर्वका कारण कार्यप्रगति सन्तोषजनक नदेखिएको कार्यक्रममा उल्लेख गरियो । धेरै विषयगत शाखाका प्रस्तोताले जेन–जी आन्दोलनका कारण भौतिक संरचना ध्वस्त भएका कारण कार्यप्रगति कम भएको सङ्केत गरेका थिए । आफ्नै अध्यक्षतामा भएको कार्यक्रम समापनमा झिनो उपस्थितिबिच उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले आफ्नै कार्यालयको कार्यक्रममा दिनभर बस्न नसकेका कर्मचारी र जनप्रतिनिधिप्रति खेद प्रकट गरे ।
प्रथम त्रैमासिक प्रगति समीक्षा जनपेक्षा अनुरूप सन्तोषजनक हुन नसकेको भन्दै सम्पूर्ण विभाग, शाखा एवम् वडालाई पारदर्शी भएर समयमै जनताका काम गर्न निर्देशन दिए । ‘जनपेक्षा अनुरूप काम हुन सकेको प्रस्तुतीकरणमा देखिएन, तपाईंहरूको क्रियाशीलता अझै बढाउन निर्देशन दिन्छु’, नगर प्रमुख खड्काले भने । सुरुमा ७० बढी उपस्थिति रहेको सभाहलमा नगर प्रमुख खड्का बोलिरहँदा मुस्किलले दुई दर्जन कर्मचारीको उपस्थिति थियो ।
समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले उपमहानगरपालिकालाई मिडियामैत्री बन्न आग्रह गरे । यति धेरै प्रस्तुतिमा मिडिया साक्षारताका सन्दर्भमा कसैले पनि बजेट विनियोजन नगरेको भन्दै उनले उपमहानगरपालिकाले गरेका कामबारे जनतालाई जानकारी दिन उपमहानगरपालिका मिडियामैत्री हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा वडाध्यक्षहरू तथा केही कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रमा खड्काले गरेकी थिइन् ।