गढवामा पुनरुत्पादनशील कृषि, कम लगानीमा उच्च उत्पादन

आलोक भावुक
गढवा, २२ मङ्सिर । गढवा गाउँपालिका–५ का कोशेली उद्यमी महिला समूहका दिदीबहिनीहरू आइतवार बिहानैदेखि काउलीको बिरुवा सार्ने काममा व्यस्त थिए । पुनःरुत्पादनशील कृषि अन्तर्गत प्राप्त तालिम तथा प्राविधिक सहयोगले उनीहरूको खेती गर्ने तौरतरिकामा परिवर्तन आएको छ ।

पहिले परम्परागत खेती प्रणाली अपनाउँदा धेरै लगानी, धेरै श्रम र कम उत्पादन हुने गरेको अनुभव गरेका महिलाहरूलाइ भने कम खर्चमै उच्च र गुणस्तरीय तरकारी उत्पादन गर्न सक्षम बन्दै गएका छन् । यसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै आय आर्जनमा समेत सकारात्मक प्रभाव पारेको छ ।

समूहकी अगुवा कृषक फिर्ती चौधरीका अनुसार गढवा गाउँपालिकाले सञ्चालन गरेको परियोजनाबाट माटो व्यवस्थापन, जैविक मल तथा झोलमलको वैज्ञानिक प्रयोग, जैविक विषादी निर्माण र कम्पोस्ट मल उत्पादन गर्ने सीप प्राप्त भएको छ ।‘यो विधिबाट माटो स्वस्थ रहन्छ, बोटबिरुवाको वृद्धि राम्रो हुन्छ र खर्च पनि घट्छ,’ चौधरीले बताइन् । उनका अनुसार माटोको प्राकृतिक गुण जोगाएर खेती गर्दा रोग तथा कीराको प्रकोप समेत उल्लेख्य रूपमा घटेको छ ।

महिला समूहले सामूहिक रूपमा तरकारी उत्पादनमा जोड दिएपछि स्थानीय बजारमा काउली, बन्दा, काँक्रो, सागसब्जी लगायतका उत्पादनले राम्रो मूल्य पाउन थालेका छन् । उपभोक्ताहरू पनि रासायनिक औषधि कम प्रयोग गरिएको तरकारीप्रति आकर्षित भइरहेका छन् । पर्यावरण मैत्री खेतीका कारण समुदायमा पुनरुत्पादनशील कृषिप्रतिको चासो बढ्दै गएको स्थानीयहरूको भनाइ छ ।

कतिपय किसानहरूले महिला समूहको अभ्यासबाट प्रेरित भएर आफ्नै खेतमा पनि यही प्रणाली अपनाउन थालेका छन् । गढवा गाउँपालिकाले महिलालाई आर्थिक रूपमा सबल बनाउने, आयआर्जन बढाउने र दिगो कृषि प्रणाली विकास गर्ने उद्देश्यसहित सञ्चालन गरेको यो परियोजना प्रभावकारी बन्दै गएको गाउँपालिकाको भनाइ छ ।

महिला समूहको निरन्तर मेहनत, सामूहिक भावना र सिकाइप्रतिको लगावले गाउँमा हरियालीसँगै आत्मनिर्भरता र आत्मविश्वासको वातावरण समेत बढेको देखिन्छ । स्थानीय तहको सक्रियता र समुदायको सहभागिताले पुनरुत्पादनशील कृषिलाई गाउँ–गाउँसम्म विस्तार गर्न सकिने र यसले दीर्घकालीन रूपमा खाद्य सुरक्षा र वातावरण संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।