प्रकृतिको पहिचान र नयाँ पुस्ताको मार्गदर्शन
भुपेन्द्र सुवेदी
विगतलाई सम्झँदा आजका मानिसहरुको रहनसहन, खानपिन, चालचलन र जीवनशैली निकै परिवर्तन भइसकेको देखिन्छ । हाम्रो देशको हावा–पानी, मौसम र जलबायुमा आएको तीव्र फेरबदलले गर्दा दैवी प्रकोपहरु पैतालामै उचालिँदै छन् ।
नयाँ–नयाँ रोगहरुको प्रवेशले बालकदेखि वृद्धसम्म स्वास्थ्यका असंख्य समस्या भोगिरहेका छन् । हिजो हाम्रा पुर्खाहरुले प्रकृतिले दिएको उपहारका रुपमा चिनिएका जडीबुटी तथा औषधीजन्य सम्पदाको नियमित प्रयोग गर्थे, उनीहरुकै ज्ञान, अभ्यास र घरेलु उपचारले पुस्तौँ पुस्ता स्वस्थ र सबल बनेको इतिहास हामीसँग छ ।
बिनाऔषधी, बिनाबिदेशी उपचार, केवल आफ्नो भुमीमा उब्जिएको प्राकृतिक अमृतले नै उनीहरुले जीवन सहजै बिताए, जसले गर्दा हामी समेत आजसम्म शारीरिक रुपले बाँचिरहेको अनुभूति हुन्छ । तर शिक्षा नीति भने समयअनुसार परिमार्जन हुन सकेन । गरिबका झोला बोकाउन मात्रै सक्षम शिक्षा प्रणालीले राष्ट्रलाई सुदृढ बनाउन सकेन ।
हामीले आफूलाई “गरिब” भनी बाहिर सहायता खोज्दै हिँड्ने बानी बसालेका छौँ, तर वास्तविकता के हो भने हामी गरिब छैनौँ, हाम्रो शिक्षा नीति नै गरिब छ । यही कमजोर शिक्षाले देशलाई पछाडि पारेको हो । अब नेपालमा आफ्नै सम्पदाको पहिचान गर्ने, वैज्ञानिक मूल्याङ्कन गर्ने र त्यसैअनुसार शिक्षालाई पुनर्संगठित गर्ने समय भइसकेको छ ।
हाम्रै देशमा विशाल मात्रामा फलाम, तामाको खानी, पेट्रोलियम, मट्टितेलका भण्डार, पहाडी भू–भागदेखि हिमाली क्षेत्रसम्म विभिन्न मूल्यवान पत्थर तथा खनिज पाइन्छन् । हिमाली क्षेत्रमा अझै धेरै दुर्लभ र अचुक औषधीजन्य पदार्थहरुको खानी छ, जसमा सिलाजितदेखि लिएर बोटबिरुवादेखि प्राप्त हुने अनेक अमृततुल्य जडीबुटीहरु समावेश छन् ।
यी सम्पदालाई स्वयं पहिचान गरी वैज्ञानिक विधिबाट प्रशोधन गर्न सकियो भने नेपाल धेरै अगाडि पुग्ने सम्भावना प्रष्ट देखिन्छ । तर नेताहरुको अज्ञानता, राष्ट्रप्रेमको अभाव र सही निर्णय नलिने प्रवृत्तिका कारण देशले आफ्नै सम्पदा उपयोग गर्न पाएन । सधैँ बाहिरबाट सहयोग माग्ने, राष्ट्रको स्रोतसाधन धितो राख्ने प्रवृत्तिले आज हामीलाई कमजोर बनाएको छ ।
अमेरिका जस्ता देशले आफ्नो हितका लागि आफ्नो भूमिमा गाजा खेतीलाई वैधानिकता दिई ठूलो आम्दानी गरिरहेको उदाहरण स्पष्ट छ भने, उही बस्तुलाई नेपालमा प्रतिबन्ध लगाउन विभिन्न बाह्य संयन्त्र कसरी सक्रिय छन् भन्ने बुझ्न गाह्रो छैन । एउटा संस्थामार्फत हाम्रो स्थानीय स्रोत माथि रोक लगाइयो र हामी त्यसैको इसारामा चलिरहेका छौँ ।
वास्तविक तथ्य के हो भने नेपालको कानुनले २०२८ सालसम्म गाजाको टेन्डरमार्फत खुला खरीद–बिक्री गर्ने व्यवस्था गरेको थियो, जसबाट सरकारले उल्लेख्य कर आम्दानी गथ्र्यो र किसानले विदेशी मुद्रासमेत देशभित्र ल्याउँथे ।
नेपालका आयुर्वेद चिकित्सकसँग कुरा गर्दा थाहा हुन्छ—गाजा धेरै रोगका उपचारमा प्रयोग हुने औषधीको मूल आधार हो । राज्यले योजनाबद्ध रुपमा यसको व्यवस्थापन गरेमा देशले ठूलो आर्थिक फाइदा लिन सक्थ्यो, किसानको जीवनस्तर उकासिन्थ्यो र विदेशी सहायता कार्यक्रमभन्दा दोब्बर आम्दानी हुन सक्थ्यो । तर प्रतिबन्धले गर्दा राष्ट्रिय सम्पदा उपयोग हुन सकेन ।
वास्तवमा, प्रतिबन्ध लगाएर कुनै पनि बस्तुको दुरुपयोग रोक्न सकिँदैन । खुला व्यवस्था गर्दा दुरुपयोगको सम्भावना घट्छ, किनकि लुकेर खोज्ने वातावरण नै हुँदैन । विश्वले नेपालको प्राकृतिक श्रोत, खानी तथा सम्पदाको पहिचान गरेरै हाम्रो धरातलमा आँखा लगाइसकेको छ । हामी भने भूतकालमै अल्झिएका छौँ ।
अमेरिकाले नेपालमा प्रतिबन्ध लगाइदिएको कुरा हामीलाई थोरै मात्र थाहा छ, तर उसले आफ्नो क्षेत्रबाट नै गाजा खेती गरेर आज ठुलो धन संकलन गरिरहेको तथ्य हामीले बुझ्न सकेका छैनौँ । यही कारणले हामी पुरानै प्रणाली र भूतकालमा अड्किएर बसिरहेका छौँ । यसबीच, नेपालका धेरै क्षेत्रमा प्रकृतिले दिएको अमूल्य सम्पदा छाडेर बाहिरको जोखिमपूर्ण विकल्प खोज्दा आम नेपालीको स्वास्थ्य दयनीय बन्न गएको छ ।
कृषिप्रधान देश भए पनि दैनिक उपभोग्य वस्तु—बेसार, खुर्सानी, फलफूल, तरकारी समेत विदेशबाट ल्याउनुपर्नु अत्यन्त लज्जाजनक अवस्था हो । उता उत्तम स्वास्थ्य र उत्साह बोकेका युवाहरु ठूलो संख्यामा विदेशिँदै छन्, बाँकी कतिपय युवा विकृति, अव्यवस्था र अनुशासनहीनतामा फसिरहेका छन् ।
आधुनिक खेतीका नाममा रासायनिक मल र बिसादी आयात गर्दा राष्ट्रको ठूलो धन विदेशिएको छ । यिनै बिसादीका कारण दैनिक एक व्यक्तिले विष मिश्रित भोजन खानुपरेको परिस्थिति सिर्जना भएको छ । आफूलाई “श्रमशक्ति” भनी गर्व गर्ने देशले आफ्नै जनतालाई पर–नागरिक बनाइदिने कार्य सुनियोजित ढङ्गले चलाइएको उदाहरण पनि छ, जसले राष्ट्रलाई कमजोर बनाएको छ । आज देशमा अनुशासनहीनताको लहर बढिरहेको छ ।
प्रतिदिन विभिन्न घटनाहरु बढ्दै गएको तथ्य लुकाएर हुँदैन । भूतकाल तुलनात्मक रुपमा सुरक्षित, अनुशासित र आत्मनिर्भर थियो, तर वर्तमान समय दिशाहीन देखिन थालेको छ । अब राष्ट्रको सुरक्षादेखि समृद्धिसम्मका लागि युवा नेतृत्व अत्यावश्यक छ । दशकौँदेखि अस्वस्थ र थकित नेतृत्वले देशले चाहेको परिवर्तन दिन सक्दैन । नयाँ पुस्ताले नेतृत्व समात्न जरुरी भइसकेको छ ।
अब ढिलो गरिरहनु उचित छैन । अब छिटोभन्दा छिटो देशको पहिचान, सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको उपयोग, शिक्षाको सुधार, कृषि प्रणालीको आधुनिकीकरण र युवाशक्तिको सही उपयोग गर्ने नीति अपनाउनैपर्छ । प्रकृतिले दिएको अनमोल धन छाडेर बाहिरबाट आयातमा निर्भर भइरहेसम्म नेपाल सधैँ पछाडि नै रहन्छ । अब आत्मनिर्भरता, पहिचान, समृद्धि र वैज्ञानिक सोचका साथ नयाँ बाटो बनाउने समय आएको छ ।
