गोरक्ष समाचारदाता
दाङ, २० मङ्सिर । दाङमा प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाँउमा लिकिछिपी बसेको अवस्थामा १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रहरीको विशेष अभियान अन्तर्गत मङ्सिरको १४ देखि १९ गतेसम्म पाँच दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत इकाइबाट खटिएको प्रहरी टोलीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव परीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत दाङमा बुझाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमाथि विभिन्न प्रकृतिका मुद्दा रहेका छन् । उनीहरूबाट जम्मा २३ हजार ५२ रुपैया जरिवाना तथा ११ वर्ष १० महिना १० दिन कैद सजाय कार्यान्वयनका लागि अदालतमा पठाइएको छ ।