दाङमा सिकलसेल एनिमिया तथा थालेसिया कार्यक्रम, पाँच हजारको सिकलसेल परीक्षण गर्ने तयारी

खेमराज रिजाल

दाङ, २० मङ्सिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस वर्ष कम्तिमा पाँच हजार शंकास्पद समुदायका नागरिकको सिकलसेल एनिमियाको परीक्षण गर्ने तयारी गरेको छ । प्रतिष्ठानको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको आर्थिक सहयोगमा सिकलसेल एनिमियाको परीक्षणको तयारी भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

२०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा सुरू भएको यो कार्यक्रम दाङमा सुरू भएको थियो । त्यो बेला देशभरका स्याम्पलका रूपमा सिकलसेल परीक्षण गर्दा तीन सय ५० जनामा सिकलसेल देखिएकोमा दाङ जिल्लाका मात्रै २६ केश देखिएका थिए । जुन एकदमै गम्भीर अवस्था हो । विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमितता दिन भने सकिएको छैन ।

सङ्घीय सरकारले सिकलसेल एनिमिया तथा थालेसेमिया कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको आर्थिक सहयोग प्राप्त भएपछि यस कार्यक्रमबारे जानकारी गराउन शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । जिल्लाका दशवटै पालिकाका प्रमुख÷अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्राध्यापक डा जनार्दन पन्थीले दाङ जिल्लामा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम जिल्लाका तीन स्थानमा सञ्चालन गरिने बताए । स्थानीय सरकारसँगको समन्वयमा देउखुरीमा कुनै एक स्थानमा, मध्ये दाङको एउटा स्थान र पश्चिम दाङको एक स्थानमा निःशुल्क रूपमा सिकलसेल एनिमियाको परीक्षण गरिने छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आइतवारदेखि नै यो सेवा सुरू हुने छ । यो सेवा मङ्सिरदेखि वैशाखसम्म निरन्तर जारी रहने पनि बताइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन ओपिडिमा यो सेवा उपलब्ध हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा अजयराज गौतमले जानकारी दिएका छन् । यदि कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने पनि प्रतिष्ठानले जनाएको छ । अन्य कुन–कुन स्थानमा हुने भन्ने विषयमा पालिकाले छलफल गरेर आइतवारसम्म स्थान तय गर्ने छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको परिचयात्मक कार्यक्रममा प्रतिष्ठानका फिजिसियन गौतमले सिकलसेल एनिमिया के हो ? यसको रोकथामका उपाय के–के हुन् ? र यसको उपचार र न्यूनीकरणका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । सिकलसेल एनिमिया एउटा वंशाणुगत रोग भएकाले लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एवम् उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने पनि डा गौतमको प्रस्तुतीमा उल्लेख थियो । सिकलसेल एनिमिया भइसकेपछि त्यस्ता व्यक्तिका रक्तकोषको आकार हसिया जस्तो हुने पनि चिकित्सकले बताएका छन् ।

जब कोषको आकार परिवर्तन भएर बाङ्गो हुन्छ, त्यसले राम्रोसँग रक्त सञ्चारमा अवरोध ल्याउँछ । यसका कारण रगत नपुगेर कतिपय अङ्गको मृत्यु हुने सम्मको खतरा हुन्छ । यसको उपचार लक्षण अनुसार हुने चिकित्सकले बताएका छन् । पूर्ण रूपमा निको भएर जाने अवस्था भने रहँदैन । सिकलसेल एनिमियामा केही सिकलसेल बाहक हुन्छन् भने केही सिकल सेलका रोगी हुन्छन् । यदि सिकलसेल बाहक र सिकलसेल रोगीका बिचमा विवाह भयो भने उनीहरूबाट जन्मने शिशुलाई पनि सिकलसेल एनिमियाको सम्भावना अत्यधिक हुन्छ । यस्ता जोडिबाट स्वस्थ बच्चा जन्मने सम्भावना २५ प्रतिशत मात्र रहन्छ ।

सोही परिचयात्मक कार्यक्रममा डा सविना विश्वकर्माले सिकलसेल एनिमिया तथा थालेसेमिया कार्यक्रमका बारेमा जानकारी गराइन् । नमुना परीक्षणको कार्यक्रम मङ्सिरदेखि वैशाख महिनासम्म निरन्तर रहने पनि उनले जानकारी दिएकी छिन् । डा सविनाका अनुसार नेपालमा दाङ पनि सिकल सेल एनिमियाको अत्यधिक प्रभावित जिल्ला हो । यद्धपि प्रयाप्त मात्रामा परीक्षण नहँुदा अहिलेसम्म यहाँ कति जनामा सिकल सेल एनिमिया छ भन्ने आधिकारिक तथ्याङ्क नभएको पनि बताइन् । यो कार्यक्रम अनुसन्धानसँगै परामर्श र उपचार पनि भएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले दाङ जिल्लामा सिकलसेल एनिमियाको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै यसको अनुसन्धान एवम् परीक्षण र उपचारलाई पनि थप प्रभावकारी बनाउन आग्रह गरे । साथै सिकल सेल एनिमियाको विषयमा आम नागरिकलाई जानकारी गराउन स्थानीय सरकारले आफ्ना पाठ्यक्रममा पनि सिकलसेल एनिमियाका विषय समावेश गर्न आग्रह गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो अभियानमा सहकार्य गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शाखा अधिकृत शालिकराम कालाथोकीले गरेका थिए ।

दाङ जिल्लामा थारू समुदायको बाहुल्यता भएकाले यहाँ सिकल सेल एनिमियाका बिरामी धेरै हुन सक्ने अनुमानसहित यसको न्यूनीकरण एवम् रोकथामका लागी तीनै तहका सरकार यसमा लागिरहेका छन् । थारू समुदायको बाहुल्यता भएका पालिकाले यस अघिदेखि नै आफ्नो वार्षिक कार्यक्रममा सिकल सेल एनिमिया परीक्षण, उपचार, रोकथाम एवम् न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएका छन् । स्वास्थ्य कार्यालय दाङले पनि २०७९ साल र २०८० सालमा संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका विभिन्न पालिकामा सिकलसेल एनिमियाको प्रयोगशाला परीक्षण गरेको थियो ।

२०७९ साल असार ६ देखि असार १८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा दुई हजार ८० नमुना परीक्षण गरिएकोमा सिकलसेल रोग ३७ जनामा र सिकल सेल बाहक ३२८ जनामा देखिएको थियो । २०८० मा जम्मा २५८५ जनाको रगतको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा सिकलसेल रोग ९ जनामा देखिएको थियो भने सिकल सेल बाहक २८४ जना थिए । त्यसपछि स्वास्थ्य कार्यालय दाङमा सिकलसेल एनिमिया परीक्षणको कार्यक्रम आएको छैन । यो अवस्थाले समग्र जिल्लामा सिकलसेल एनिमियाको अवस्था कस्तो छ भन्ने एकिन तथ्याङ्क कसैसँग पनि छैन । पछिल्लो कार्यक्रमले तथ्याङ्कलाई समेत बाहिर ल्याउने बताइएको छ ।