calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कोइलाबास भन्सार असफल

अमरराज आचार्य
दाङ, २० मङ्सिर । कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । दाङको एक मात्रै भन्सार नाकाका रूपमा रहेको कोइलाबास भन्सार कार्यालयले लक्ष्यभन्दा १८ लाख ४५ हजार नौ सय ९६ रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयले चौमासिकसम्म ५७ लाख ७४ हजार राजस्व सङकलन गर्ने लक्ष्य लिएको थियो ।

कात्तिक मसान्तसम्म ३९ लाख २८ हजार चार रुपैयाँ सङ्कलन भएको कोइलाबास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिएका छन् । जुन लक्ष्यको ६८ दशमलव शुन्य तीन प्रतिशत हो । सङ्कलित राजस्व पाँच लाख रुपैयाँ मुद्दा लिलामीबाट असुल भएको र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको पनि कार्यालयले जनाएको छ । कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । जसमा नौ लाख ९० हजार नौ सय ७४ रुपैयाँ राजस्व उठेको छ । जुन लक्ष्यको ७२ दशमलब ९७ प्रतिशत हो । लक्ष्यभन्दा तीन लाख ६७ हजार २६ रुपैयाँ कम राजस्व सङ्कलन भएको छ ।

भदौमा १४ लाख ९८ रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जसमा छ लाख ६८ हजार छ सय ४९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यको ४४ दशमलब ६४ प्रतिशत हो । लक्ष्यभन्दा आठ लाख २९ हजार तीन सय ५१ रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । असोजमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएका थिया । जसमा आठ लाख चार हजार पाँच सय ५१ रुपैयाँ सङ्कलन भएको छ । जुन ५६ दशमलव ७८ प्रतिशत हो ।

लक्ष्यभन्दा छ लाख १२ हजार चार सय ४९ रुपैयाँ कम भएको छ । यसैगरेर कात्तिकमा १५ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जसमा नौ लाख ६३ हजार आठ सय ३० रुपैयाँ सङ्कलन भएको छ । जुन ६४ दशमलब २१ प्रतिशत हो । लक्ष्यभन्दा पाँच लाख ३७ हजार एक सय ७० रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । पहिलो चौमासिकमा असफल भए पनि आउदाँ दिनमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने कार्यालयको अपेक्षा रहेको छ ।

नेपालको पछिल्लो घटना क्रमले गर्दा नेपाल आउने भारतीय पर्यटक कमी हुँदा राजस्व कम सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम हुँदा यसले राजस्व सङ्कलनमा समेत प्रभाव पार्ने गरेको छ । भारत प्रवेश गर्दा कडाइ गरेको कारणले यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागज पत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ । जसले आवतजावत कम हुने गरेको हो ।

‘कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो’ कार्यालय प्रमुख विष्टले भने । सामान ल्याउने थोरै मात्र रहेका छन् । ‘नजिकै रहेका नागरिकले मात्र सामान ल्याउने गरेका छन् व्यापारीहरुले यहा बाट ल्याउने गरेका छैनन् ’ उनले भने । यो नाकामा भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँ र मोटरसाइकलबाट प्रति दिन दुई सय रुपैयाँ लिने गरेको प्रमुख विष्टले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्न लगायतका अन्य

सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलाबास क्षेत्रसँगै कोइलाबासमा रहेको रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिर लगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।

सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी राजस्व उठ्ने गरेको कार्यालय प्रमुख विष्टले बताए । व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । ‘यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो’ उनले भने । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा विकास भएको तथ्याङ्कले देखाएको छ ।

व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्ने भन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको छ । दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन् । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन ।