सार्वजनिक संस्थाको सुदृढीकरणका लागि सामूहिक पहल आवश्यक : विज्ञहरूको सुझाव

काठमाडौँ,१९ मंसिर । सार्वजनिक संस्थाहरू तथा निकायहरूको सुदृढीकरणका लागि राजनीतिक दल, प्राज्ञिक वर्ग, सञ्चारमाध्यम र नागरिक समाज सबैले मिलेर सामूहिक पहल गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिवेश : सार्वजनिक संस्था सुदृढीकरणका सवालहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले नेपालमा सार्वजनिक निकायप्रति घट्दो जनभरोसा सुधारका लागि प्रभावकारी कदम आवश्यक रहेको बताएका हुन्।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. उद्धव प्याकुरेलले सत्तामा हुँदा सुधारका कुरा नउठाउने र प्रतिपक्षमा हुँदा सार्वजनिक संस्थामाथि मात्र कटाक्ष गर्ने प्रवृत्तिले नागरिक तहमा निराशा फैलेको बताउनुभयो। उहाँले राजनीतिक दलभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदा दलप्रति सार्वजनिक स्वामित्व कमजोर हुने र त्यसको नकारात्मक प्रभाव अन्य संस्थामा पनि पर्ने उल्लेख गर्नुभयो।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले नेपालमा नयाँ–नयाँ संस्था थपिँदै गए पनि तिनको प्रभावकारितामा ध्यान नपुगेको बताउनुभयो। सुधारका दायित्व भएका व्यक्तिहरू नै नकारात्मक टिप्पणीमा केन्द्रित हुने प्रवृत्तिले समाजमा सार्वजनिक संस्थाप्रति नकारात्मक धारणा बढेको उहाँको भनाइ थियो।

युवा अभियन्ता अर्जुन साहले सेवा प्रवाहमा ढिलाइ र सेवाग्राहीप्रति देखिने व्यवहारले सार्वजनिक निकायप्रति विश्वास घटाएको बताए। नागरिक समाजका प्रतिनिधि तथा बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ठूला कामभन्दा पनि दैनिक सेवामा हुने सुधारले नागरिक विश्वास फिर्ता ल्याउन सक्ने बताए।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक प्रकाशचन्द्र घिमिरेले उपयुक्त नेतृत्व, जिम्मेवारी वहन गर्ने संस्कार, चुस्त प्रणाली र जवाफदेहीता बढाउन सुझाव दिनुभयो।

गोरखाकी सन्ध्या अछामीले सेवाको डिजिटलाइजेशनलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। स्ववीयू सभापति स्वयम् श्रेष्ठले राजनीतिक भागबण्डा र सोही आधारमा हुने नियुक्ति नै संस्थाप्रति अविश्वासको मुख्य कारण भएको बताउँदै सुधार नहुँदा जनअसन्तुष्टि अझै बढ्न सक्ने चेतावनी दिए।

राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य विनोद शाहीले सार्वजनिक निकायलाई दलको स्वार्थमा गिज्याउने प्रवृत्ति रोक्न सके जनविश्वास बढ्न सक्ने भन्दै यथाशीघ्र सुधारका कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।