सविन प्रियासनको ‘नयाँ लुगा’ उपन्यास बिमोचन

दाङ, १९मंसिर । पत्रकार तथा उपन्यासकार सविन प्रियासनको १३ औँ उपन्यास ‘नयाँ लुगा’ विमोचन गरिएको छ । बालबालिका गतिविधिसँगै समसायिक विषयवस्तुलाई आधार बनाएर लेखिएको उपन्यास नयाँ लुगा बिमोचन गरिएको हो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका आयोजनामा बिहीबार घोराहीमा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का पूर्व केन्द्ीय अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गरेका हुन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव समेत रहेका प्रियासनको यो १३ औँ उपन्यास हो । प्रियासनका रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, एयरहोस्टेज,कालो मन,कडीलगायतका उपन्यास प्रकाशित छन् । प्रियासनको नयाँ लुगा उपन्यासमा बालबालिकाका गतिविधिसँगै देश निर्माण, आत्मनिर्भर अर्थतन्त्रको सन्देशसँगै कसरी सिर्जनशिल बन्न सकिन्छ भन्ने विषयवस्तुलाई समावेश गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि परिषदका केन्द्रीय सल्लाहकार खनालले उपन्यासप्रति प्रियासनमा भएको क्रियाशिलता, प्रतिभा, सोच र लगनशिलताको प्रसंसा गर्दै समाजलाई परिवर्तन गर्ने गरि विषयलाई उठान गर्न आग्रह गरेका थिए । उनले प्रतिभालाई निरन्तरता दिँदै नयाँ सोच र विचारबाट लेखन गर्नुपर्ने र त्यसले समाज परिवर्तनमा भूमिका खेल्ने बताए । उपन्यासमा प्रेमसँगै दर्शन, व्यवहार, शिक्षा र समाजलाई चेतना दिने सन्देश हुनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले प्रियासनमा भएको उपन्सायप्रतिको लगावको चर्चा गर्दै लेखनीलाई निखारर्दै अझै सशक्त उपन्यास लेख्न आग्रह गरेका थिए । छोटो समयमै धेरै उपन्यास लेख्न सक्ने क्षमता भएका प्रियासनलाई गहन अध्ययन गर्दै नयाँ पुस्तालाई नयाँ सोच दिने खालको उपन्यास तयार गर्न समेत सुझाव दिएका थिए ।

राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष डा. सुदीप गौतम,प्रगतिशिल लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्मा,सम्मानित रक्षाकुमारी यादव, रोशनी घर्तीमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा २० वर्षको उमेरमा विद्यालयको प्रधानाध्यापक बनेर चर्चा कमाउन सफल रक्षाकुमारी यादव र सामुदायिक विद्यालयमा अध्ययन गरेर एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सिद्धरत्नाथ मावि नारायणपुरकी पूर्व छात्रा रोशनी घर्ती मगरलाई विशेष अभिनन्दन गरिएको थियो । राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेय कार्यक्रमको सहजीकरण परिषद दाङ शाखा सचिव घनश्याम केसीले गरेका थिए