गोरक्ष समाचारदाता
तुलसीपुर, १९ मङ्सिर । लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको महत्वपूर्ण भूमिका हुने सहभागीले बताएका छन् । लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रत्येक व्यक्ति, परिवार, समुदाय, सरकार र विभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका हुने सहभागीको भनाइ थियो ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राप्ती आँखा अस्पतालमा किशोर, किशोरी र कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको समन्वयमा भएको कार्यक्रममा शिक्षा, चेतना अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन, महिलाको आर्थिक सशक्तीकरण, हानिकारक सांस्कृतिक अभ्यास र सोचको अन्त्य र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताइएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले लैङ्गिकतासम्बन्धी अवधारण, लैङ्गिकतामा आधारित हिंसा, महिलाका कानुनी हक र लैङ्गिकतामा आधारित हिंसाका प्रकारबारे सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।
श्रेष्ठले सामाजिक हिंसा, यौनिक हिंसा, मानसिक, सांस्कृतिक र शारीरिक हिंसाबारे जानकारी गराएकी थिन् । उनले आफूले हिंसा नगर्ने र अरूलाई पनि गर्न नदिने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताएकी थिइन् । लैङ्गिक हिंसा न्यूनीकरणका लागि घरबाटै नैतिक शिक्षा आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘अहिले पनि लैङ्गिकतामा आधारित हिंसा विभिन्न स्थानमा भइरहेका छन्, यसमा व्यक्ति स्वयम् सचेत हुनुपर्छ ।’
बालविवाहका कारण समाजमा हिंसा भइरहेकाले किशोरकिशोरीहरू सचेत हुँदै सबैले ‘बिसपारि विवाहवारी’को मन्यतालाई आत्मसात गर्नुेपर्नेमा उनको जोड थियो । कार्यक्रममा हानिकारक परम्परामा आधारित हिंसा, बोक्सीको आरोप लगाई गरिने हिंसा, दाइजोसम्बन्धी हिंसा, बालविवाह, बहुविवाह, बालिकाको पहिचान गरी गरिने गर्भपतन, कुमारी, देउकी, झुमा प्रथा, छाउपडी, रजस्वला आदि जस्ता महिलाको शारीरिक क्रियासँग सम्बन्धित अवस्थामा गरिने छुवाछुत तथा भेदभावलगायतका विभेदपूर्ण क्रियाकलाप हानिकारक परम्परागत अभ्याससम्बन्धी प्रमुख विषय भएकाले यसबारे सचेता आवश्यक रहेको बताइएको थियो ।
एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा राप्ती आँखा अस्पतालका व्यवस्थापक शशि लामिछाने, नेत्रज्योति प्राविधिक शिक्षालयका लेखा तथा प्रशासन प्रमुख प्रेमाकुमारी सापकोटा, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका सूचना अधिकारी बालाराम खड्का, शिक्षलयका लाइब्रेरियन निरला अर्याल, राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालयमा अध्ययन किशोरकिशोरीलगायतको सहभागिता रहेको थियो ।