गढवामा सहकारी शिक्षा तथा व्यवस्थापन तालिम

देउखुरी, १९ मङ्सिर । गढवामा सहकारी शिक्षा तथा व्यवस्थापन तालिम भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा बिहिबार सहकारी संस्था सदस्य तथा शेयर सदस्यहरूका लागि सहकारी शिक्षा तथा व्यवस्थापन तालिम बाँकीमा सम्पन्न भएको हो ।

तालिम उद्घाटनमा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले सहकारी संस्थालाई व्यवस्थित गर्दै सदस्यको विश्वास जित्न तालिमले सहयोगी भूमिका खेल्ने बताए । गाउँपालिकाले सहकारीलाई प्रेरित गर्दै आवश्यक प्राविधिक सहयोग, लेखापरीक्षण तथा क्षमता अभिवृद्धि तालिमको व्यवस्था गरेको भन्दै तालिममा सिकेको सिपलाई आआफ्नो सहभागितामा लागु गर्न तालिममा सहभागीलाई आग्रह गरिन् ।

सहकारी व्यवस्थापनसम्बन्धी अज्ञानताका कारण देशमा धेरै सहकारीको आर्थिक अवस्था बिग्रने र शेयर सदस्यको लगानी डुब्ने गरेको भन्दै व्यवस्थापनमा ध्यान दिन आग्रह गरेकी थिइन् । कार्यक्रममा सहभागी सदस्यले तालिमबाट प्राप्त ज्ञानले आफ्ना संस्थाको व्यवस्थापन सुधार्ने र सदस्यबिच विश्वास निर्माणमा मद्दत पुग्ने बताएका थिए ।

तालिममा वित्तीय अभिलेखापरीक्षण, ऋण व्यवस्थापन र सदस्यता विस्तारका व्यावहारिक तरिकाबारे उठेको जिज्ञासामाथि प्रशिक्षकले प्रश्नोत्तर सत्रमार्फत् स्पष्ट दिशानिर्देश दिएका थिए । तालिमको समापनमा आयोजक संस्था क्रियटिङ पोसिबिलिटिज नेपाल र गढवा गाउँपालिकाका प्रतिनिधिहरूले सहभागीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप अभ्यासात्मक तालिम र अनुगमनको व्यवस्था गरिने जानकारी दिएका थिए ।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिममा सहकारी संस्थाका सदस्य तथा शेयर सदस्यहरूका लागि सहकारी शिक्षा तथा व्यवस्थापन तालिममा उनको बचत तथा ऋण सहकारी संस्थाका करिब सय बढीको सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षकमा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोककुमार यादव र गाउँपालिका स्तरीय सहकारी सञ्चारका अध्यक्ष बेगमबहादुर गहतराज रहेका थिए । सहकारी शाखा प्रमुख यादवले सहकारीको अर्थ, मूल्य मान्यता, सहकारीको विविध कानुनी व्यवस्था र गहतराजले वित्तीय साक्षरता तथा आधारभूत सहकारी शिक्षाबारे प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण महिला सशक्तीकरण कार्यक्रमकी संयोजक सरिता चौधरीले गरेकी थिइन् ।