calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म

गोरक्ष समाचारदाता
दाङ, १६ मङ्सिर । नियमित वा विशेष महाधिवेशन पक्षधरको विवाद टुंग्याएर नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका विषयमा मध्यमार्गी निकास निकालेको छ । उसले पार्टीभित्र चलेको विशेष वा नियमित महाधिवेशन माग गरेका दुई पक्षको अडानकाबिच मध्यमार्गी निकास निकाल्दै पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सोमवार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन गर्ने निर्णय गर्दै महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । कांग्रेसभित्र महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन हुनु पर्ने प्रस्ताव पार्टीमा गरेका थिए भने पार्टीको संस्थापन पक्षले आगामी प्रतिनिधिसभा निर्वाचन पछि मात्रै नियमित महाधिवेशन हुनुपर्ने फरक प्रस्ताव गरेको थियो । यी दुई फरक–फरक प्रस्तावका कारण आन्तरिक विमतिमा फसेको कांग्रेसले महाधिवेशनको तिथि टुंग्याउन सकिरहेको थिएन ।
पार्टीभित्रको यही आन्तरिक विवादकै कारण पार्टीको केन्द्रीय समितिको बैठक समेत पटक–पटक प्रभावित बनिरहेको थियो । अझ यही विवादकै कारण पार्टी विभाजन उन्मुख बन्दै गएको चर्चा समेत व्यापक बन्न थालेको थियो । तर यो जोखिमदेखि सजग पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले मध्यमार्गी निकासको पहल गरिरहेका थिए ।
उनी विशेष र नियमित महाधिवेशनका पक्षधरलाई सम्मान हुने गरी पार्टीलाई सम्भावित जोखिमबाट टार्न मध्यमार्गी बाटोको खोजीमा थिए । यही प्रयास स्वरूप उनी विशेष वा नियमित महाधिवेशनको पक्षमा कतै सुनिएनन् । पुस अन्तिम सातासम्म पार्टीको नियमित महाधिवेशन गरेर सबैलाई सम्मान दिलाउन खोजेका कोइरालाको लक्ष्य अनुरूप नै पार्टीको महाधिवेशनको तिथि टुंगो लागेको छ । ‘कांग्रेसको महाधिवेशनको विषयमा देखिएको आन्तरिक कलहको व्यवस्थापनमा मध्यमार्गी निकास निकालिएको छ’, एक नेताले भने,‘मध्यमार्गी बाटो डा. शेखर कोइरालाको उद्देश्य अनुरूप तय भएको छ, यो निकासले सबैलाई जीतको अनुभूति दिलाएको छ ।’
मध्यमार्गी बाटो अनुरूप कांग्रेस अब आफ्नो महाधिवेशनमा होमिएको छ, यसले आम कांग्रेसीमा उर्जाको सञ्चार गराइदिएको छ  । पार्टीका नेताले समेत पार्टीको महाधिवेशनले पार्टीका नेतादेखि स्थानीय कार्यकर्तासम्म उर्जा ल्याउने बताएका छन् । केन्द्रीय सदस्य दीपक गिरीले आम कार्यकर्ताको चाहना बमोजिम महाधिवेशनको मिति तय भएको भन्दै यसले पार्टी कार्यकर्ता पंक्तिमा ठुलो उत्साह ल्याएको बताए । ‘आगामी चुनावभन्दा अघि नै नियमित महाधिवेशन होओस् भन्ने आम पार्टी कार्यकर्ताको चाहना थियो, कार्यकर्ताको यो चाहनालाई पार्टीले सम्बोधन गरिदिएको छ’, नेता गिरीले गोरक्षसँग कुराकानी गर्दै भने,‘निर्वाचन अघि महाधिवेशनको मिति तय गरेर कांग्रेसले आम कार्यकर्तामा ठूलो उर्जा दिलाएको छ ।’
आम कार्यकर्तामा आएको यो उर्जाले पार्टी सङ्गठन बलियो बन्ने र आगामी चुनावमा यसको फाइदा पार्टीलाई हुने गिरीको भनाई छ । ‘पार्टीका साथीहरूमा उर्जा भयो भने सङ्गठन बलियो बन्छ’, गिरीले भने,‘यसर्थ यो महाधिवेशनले आगामी निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई फाइदा पुग्छ ।’ नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पनि पार्टी सङ्गठनलाई चलायमान बनाउनका लागि पार्टीले तय गरेको महाधिवेशन महत्वपूर्ण रहेको बताए । अब पार्टीलाई महाधिवेशनको बाटोमा डो¥याएर मुलुकको नेतृत्व गर्ने शक्तिका रूपमा कांग्रेसलाई स्थापित गरिनु पर्ने उनको भनाई छ । ‘पार्टीको महाधिवेशनले पार्टी सङ्गठनलाई चलायमान बनाउँछ’, केन्द्रीय सदस्य चौधरीले भने,‘पार्टीको ध्यान अब महाधिवेशनमा केन्द्रित बन्ने छ ।’
यसैगरी उनले महाधिवेशन पश्चात आगामी निर्वाचनमा पर्न सक्ने प्रभावका बारेमा पनि पाटी उत्तिकै गम्भिर बन्नु पर्ने बताए । निर्वाचन अघि पार्टीको महाधिवेशन हुँदा कांग्रेसीमा बेमेल बढ्ने र यसको असर आमनिर्वाचनमा पर्ने गरेको उदाहरण सुनाउँदै चौधरीले यो जोखिमबाट सबै नेता सचेत बन्नुपर्ने बताए ।
कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नावमाली र रकम केन्द्रमा पठाउने समय मङ्सिर २५ गतेभित्र तोकिएको छ ।
पुस ८ गतेभित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाइसकेपछि पनि कुनै सदस्यले नवीकरण गर्न आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने अवधि राखिएको छ । त्यसैगरी नेपाली जनसम्पर्क समितिको अधिवेशनको सम्बन्धमा कांग्रेसले गरेको निर्णयअनुसार जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधि मङ्सिर मसान्तसम्म राखिएको छ ।
त्यसैगरी क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि पुस ३ गतेसम्म कायम राखिएको छ । केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि पुस ५ गतेसम्म राखिएको र २०८२ पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने निर्णय भएको छ । त्यसैगरी गाउँनगर वडा अधिवेशन पुस १६ गते हुने भएको छ भने गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते हुने भएको छ । त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन २०८२ पुस १९ गते तोकिएको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– जहाँ एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् त्यहाँ जिल्ला अधिवेशन नै पुस २१ गतेका लागि तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकाले जिल्लामा अधिवेशन पुस २२ गते तय भएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ का लागि तोकिएको छ भने केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय भएको छ ।