चारलेन सडक परियोजनाले सत्तरी प्रतिशत कारोबार दाङमै
खेमराज रिजाल
दाङ, १६ मङ्सिर । घोराही–तुलसीपुर सडक स्तरोन्नतिको काम धमाधम सुरु भएको छ । अहिले गुर्जेखोलादेखि पश्चिम खैरासम्म सडक क्षेत्रको झाडि सफा गरिरहँदा पनि बाटो फराकिलो देखिएको छ । झाडि सफा गरिएका स्थानका सडक किनारामा माटो भरिएको बोरा राखिएका छन् । ताकि गाडि गुडाउनका लागि सहज होस् । यति मात्रै देख्दा पनि दाङबासी दङ्ग छन् । फेरि चारलेन सडक बन्नेमा आशा पलाएको छ ।
दाङ उपत्यकाको गौरवकै योजना मानिने चारलेन सडक स्तरोन्नतिको काम भइरहँदा दाङको विजनेस बढ्ला ? कसले के पाउला ? आर्थिक गतिविधिमा वृद्धि होला ? जस्ता अनुमान हुन थालेका छन् । परियोजनाको कन्सट्रक्शन प्रियड कम्तिमा तीन वर्ष त रहने छ नै, म्याद थप गर्नै परे पनि एक वर्ष थपे त काम सकिहाल्छ नि भन्ने मनस्थितिमा छ, निर्माण कम्पनी ।
चारलेन सडक स्तरोन्नतिको काम सुरु भइरहँदा जिल्लाका व्यवसायीदेखि सर्वसाधारणसम्म पनि यसको काममा जोडिने पर्यत्न गरिरहेका देखिन्छन् । कसैलाई माटोको ढिस्को बेच्ने आशा छ, कसैले निजी जग्गाका ढुंगा बेच्ने प्लान बनाएका छन् त कसैले नदी÷खोलाबाट ल्याएर घाटगद्दि गरेका नदीजन्य पदार्थ बेच्नका लागि सिक्वेन्सको खोजिमा छन् । ‘आखिर सबथोक दाङकै विजनेस त होनि, चारलेन सडक परियोजनाले दाङमा भरपुर विजनेस पाउने छ’, निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले भने । उनको भनाइमा छड बाहेक सबै निर्माण सामग्री दाङकै बजारका प्रयोग हुने छन् ।
‘मलाई लाग्छ कम्तिमा कुल बजेटको ७० प्रतिशत खर्च दाङर्मै हुने छ । परियोजनाभर लेवरले काम पाइरहँदा दाल चामलको बिक्री बढ्ने नै छ । खाजाघर नास्ता पसलको विजनेस पनि स्वाभाविकै बढ्ने भयो । होटल रेष्टुरेन्टसँगै केही घरधनीले भाडामा समेत घरजग्गा लगाउन पाउने छन् ।
चारलेन परियोजनाको निर्माण अवधिभर कुल बजेटको कति प्रतिशत दाङमै खर्च गर्नुहुन्छ ? गोरक्ष संवाददाताको प्रश्नमा निर्माण कम्पनीका कन्ट्याक्ट मेनेजर सुनिल ढुंगानाले भने, करिब–करिब ६० प्रतिशत बजेट त यही खर्च हुने छ । ढुंगानाका अनुसार नदीजन्य पदार्थ ढुंगा, गिट्टि, बालुवा, माटो यही कै प्रयोग हुने छ । स्थानीय सरकारले यसबाट राजस्व लिन सक्ने छन् ।
निर्माण कम्पनी ठेक्का प्रक्रियामै सहभागी भएर नदीजन्य पदार्थ स्थानीय सरकारबाटै लिने तयारीमा छ । कल्भर्ट र वाल निर्माणका लागि आवश्यक सिमेन्ट पनि दाङकै उत्पादन प्रयोग गरिने निर्माण कम्पनीले जनाएको छ । मेसिनरी सामानका लागि आवश्यक इन्धन सबै यहीकै पेट्रोल पम्पबाट आपूर्ति हुने छ । यस बाहेक लेवर पनि सकेसम्म स्थानीयलाई नै प्राथमिकता दिने योजना निर्माण कम्पनीको रहेको छ । यद्धपि यो भने पेटी ठेकेदारको तजवीजमा हुने बताइएको छ ।
अहिले चारलेन सडक स्तरवृद्धिको काम सम्पन्न गर्न दुई अर्ब ५३ करोड रुपैयाँ खर्च हुने छ । यो बजेटको सत्तरी प्रतिशत अर्थात् एक अर्ब ७५ करोड रुपैयाँ परियोजना सञ्चालनको अवधिभर दाङमै खर्च हुने छ । ‘हामीलाई पूर्ण विश्वास छ कि, परियोजना चलिरहँदा यहाँका आर्थिक गतिविधि वृद्धि हुने छन्, बजार केही हदसम्म चलायमान हुने छ’, निर्माण कम्पनीका कन्ट्याक्ट मेनेजर ढुंगानाले भने ।
आज आइतवारको दिन मात्रै सडक स्तरोन्नतिको काममा दिनमा ७ वटा डोजर, दुईवटा टिप्पर, दुईवटा ट्याक्टर परिचालन भएका छन् । एक सातापछि लेवरको काम थाल्ने निर्माण कम्पनीको अन्तिम तयारी छ । ‘अब रिटेन बाल र कल्भर्ट थप गर्ने काम तत्कालै सुरु हुन्छ, यसका लागि एक सयभन्दा बढी लेवर परिचालन गरिने छ’, म्यानेजर ढुंगानाले भने । लेवर थप्ने काम हरेक साता बढ्दै जाने छ । उता बेलझुण्डीमा मेसिनरी जडान र श्रमिक आवास निर्माणको काम पनि धमाधम भइरहेको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा निर्माण कम्पनीको यार्ड तयार भइसकेको छ । भारतको एक्जिम बैंकको ऋण सहयोगको ठेक्का तोडिएपछि अहिले चारलेनमा मदन भण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेनमा स्तरोन्नति हुँदै छ । सडकखण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहने छ । जुन घोराहीको डिके पेट्रोल पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तीखौवासम्म रहने छ ।
सडक स्तरोन्नतिका क्रममा सडकको पुरै कालोपत्रेको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुने छ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ । सडकको बिचमा भने तीन मिटरको मेडियन रहने छ । उक्त क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण हुनेछ ।
जम्मा सडकमध्ये नौ दशमलव पाँच किलोमिटर सडक सहरी क्षेत्रमा पर्ने छ । बाँकी क्षेत्र ग्रामीण क्षेत्रको रहने छ । घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका लागि कुल बजेट दुई अर्ब ५३ करोड रुपैयाँमा निर्माण सम्झौता भएको छ । आयोजनाका अनुसार सडकको कालोपत्रेको मोटाइ भने १० सेन्टिमिटरको रहने बताइएको छ । कालोपत्रे दुई लेयरमा हुनेछ ।
हालको कालोपत्रे बाँकी रहेको सबै भाग हटाएर नयाँ मापदण्ड अनुसार कालोपत्रे हुने आयोजनाका इन्जिनियर ढुंगानाले बताएका छन् । गुर्जेखोलाबाट सडक किनारामा झाडि सफाइको कामसँगै माटो सम्याउने र फिलिङ गर्ने काम समेत सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
