तुलसीपुरमा महोत्सव हुने
गोरक्ष समाचारदाता
तुलसीपुर, १५ मङ्सिर । तुलसीपुरमा प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन कृषि व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव–२०८२ हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा महोत्सव हुने भएको हो । औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार भन्ने मुल नाराका साथ प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन कृषि व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव आयोजना गर्न थालिएको हो ।
घरेलु तथा साना उद्योग महासंघले आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी गराएको हो । संस्थाका अध्यक्ष लालबहादुर केसीले तुलसीपुरको गौरवको आयोजनाका रूपमा रहेको तुलसीपुर औद्योगिक ग्रामको प्रचारप्रसारका साथै औद्योगिक ग्राम सञ्चालन, तुलसीपुरमा स्थानीय सरकारको समन्वयमा तरकारी हाटबजार सञ्चालन, व्यावसायिक नवीनतम सोचको विकास गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।
विभिन्न प्रकार तथा सम्भावनात्मक साना व्यवसाय क्षेत्रमा हुने जोखिमजन्य समस्याको प्रारम्भिक चरणसम्मको पहिचानकारी लिन नसक्दा हुने क्षतिलाई न्यूनीकरणका लागि विशेष सावधानी अपनाउन विभिन्न सचेतनामूलक कार्यक्रममार्फत् प्रचारप्रसार गर्न महोत्सवको आयोजना गर्न थालिएको बताइएको छ ।
आगजनी नियन्त्रणका लागि आगो निभाउने उपकरणको प्रयोगमा स्थानीय सरकारको सहयोगको साझेदारीमा निःशुल्क रिफिलको व्यवस्था र विपद् न्यूनीकरणका अन्य कार्यक्रममा साझेदारी गर्ने तथा युवालाई व्यवसायमा प्रोत्साहित गरी विभिन्न व्यवसायमा नविनतम आइडिया छानोट गर्ने र सफल व्यवसायीका रूपमा स्थापित हुने उद्देश्यले गाउँको व्यवसाय संवर्धन केन्द्र व्यापार इन्क्युवेसन केन्द्रको अवधारणा अन्तर्गत सञ्चालन र परिचालन गर्ने कार्यालयको स्थापना गरी सेवा प्रदान गरिने बताए ।
यसैगरी संस्थाले आप्mनै भवनबाट सम्पूर्ण गतिविधि सञ्चालन गर्न उपयुक्त स्थान छनोट गरी भवन निर्माण गर्ने, न्यूनोत्तम र साना व्यवसायलाई उत्पादनको नमुना बनाउने, उत्पादन प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्ने र महिला तथा युवा उद्यमशीलता सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै प्रवर्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताए । उनले स्टार्टअप र साना व्यवसायलाई प्रवर्धन र उत्पादनलाई महोत्सवमा प्राथमिकता दिइने जानकारी गराएका थिए ।
महोत्सव पुस ४ देखि १९ गतेसम्म तुलसीपुर–६ मा सञ्चालन हुने भएको हो । स्थानीय व्यवसायीलाई पहिलो प्राथमिकता दिँदै स्टलमा छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर वलीले गरेका थिए ।
