calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

दंगीशरणमा ‘छोरी सम्मान कार्यक्रम’ बन्दै प्रभावकारी

प्रमोद आचार्य
दंगीशरण, १५ मङ्सिर । दंगीशरण गाउँपालिकामा ‘छोरी सम्मान कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले सञ्चालन गरेको छोरी सम्मान कार्यक्रममा सहभागिता बढ्दै गएपछि प्रभावकारी बनेको हो ।

छोरी सम्मान कार्यक्रममा हालसम्म तीन सय ९९ बालिकाले सुविधा लिएका छन् । २०७९ साउनदेखि हालसम्म गाउँपालिकामा जन्मिएका बालिकालाई लक्षित गर्दै लागु गरिएको यो कार्यक्रम स्थानीय तहमा प्रभावकारी र लोकप्रिय बन्दै गएको छ । महिला तथा बालबालिका शाखा प्रमुख सुनकुमारी घर्तीका अनुसार कार्यक्रमबाट हालसम्म सयौँ परिवार लाभान्वित भएका छन् ।

‘छोरीको सामाजिक सुरक्षासँगै शिक्षा र स्वास्थ्यमा लगानी बढाउन कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ’, उनले भनिन् । गाउँपालिका अध्यक्ष शम्भु गिरीले सदियौँदेखि संस्थागत रहेको पितृसत्तात्मक सोच अन्त्य गर्दै सामाजिक रूपमा पछाडि पारिएका समूहमा रूपान्तरण ल्याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए । ‘छोरीप्रतिको पारिवारिक दृष्टिकोण बदल्दै समग्र सामाजिक परिवर्तन ल्याउन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेका छौँ’, अध्यक्ष गिरीले भने ।

गाउँपालिकाले छोरी सम्मान कार्यविधि, २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीका अनुसार गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन, २०७५ को दफा ३ बमोजिम बालविवाह न्यूनीकरण र बालिकाको सामाजिक सुरक्षा अभिवृद्धिका लागि सो कार्यविधि जारी गरिएको छ ।

कार्यविधि अनुसार २०७९ साउनदेखि जन्मिएका बालिकाको नाममा मासिक तीन सय रुपैयाँका दरले १८ वर्ष पुरा नहुँदासम्म बैंक खातामा रकम जम्मा हुँदै आएको छ । एक परिवारमा अधिकतम दुई छोरीसम्म कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ । १८ वर्षसम्म सङ्कलित बचत रकम छोरीको शिक्षा, स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ ।

२०७९ असोज २८ गतेदेखि औपचारिक रूपमा लागु भएको कार्यक्रम हाल स्थानीयमा उदाहरणीय पहलका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । भौतिक पूर्वाधारसँगै मानव विकासलाई समान प्राथमिकता दिँदै गाउँपालिकाले कार्यक्रमलाई दीर्घकालीन सामाजिक लगानीका रूपमा अघि बढाइरहेको जनाएको छ ।