calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

कारागारका कैदीबन्दीको निःशुल्क आँखा जाँच

गोरक्ष समाचारदाता
तुलसीपुर, १४ मङ्सिर । कारागार कार्यालय तुलसीपुर, दाङका कैदीबन्दीहरूको निःशुल्क आँखा जाँच गरिएको छ । कारागार कार्यालय तुलसीपुर दाङको आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरको प्राविधिक सहयोग एवम् एनएवीपी नर्वेको आर्थिक सहयोगमा एकदिने आँखा जाँच कार्यक्रम भएको हो ।

कारागारका महिला ३४ र पुरुष एक सय ६० गरी एक सय ९४ जना कैदीबन्दीको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएका मध्ये १० जना कैदीबन्दीको आँखामा मोतियाविन्दु देखिएको थियो भने अन्य ७२ जनालाई चश्मा लगाउनुपर्ने भएकाले नजिकको हेर्नका लागि चश्मा वितरण गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए ।

यसैगरी अन्य केहीको आँखामा मासु पलाएको र केहीलाई अन्य समस्या भएकाले राप्ती आँखा अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । मोतियाविन्दुका बिरामीलाई अस्पतालमा निःशुल्क शल्यक्रिया हुने राप्ती अस्पतालका बाह्य कार्यक्रम संयोजक बिमल घिमिरेले जानकारी दिएका छन् ।

यसैबिच नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक तथा एनएबिपी नर्वेको आर्थिक सहयोग एवम् बागचौर नगरपालिकाको आयोजनामा जनकल्याण क्याम्पस थारमारेमा मङ्सिर १० र ११ गते दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविरमा दुई सय ५२ जनाको आँखा जाँच तथा ९६ जनाको निःशुल्क शल्यक्रिया सम्पन्न भएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन ।

राप्ती आँखा अस्पतालका सहायक प्राडा रञ्जितकुमार साहको नेतृत्वमा गएको १३ जना टोलीले सेवा दिएको थियो । यसैगरी मङ्सिर १३ र १४ गते सल्यानको आँखा उपचार केन्द्र श्रीनगरमा एनएविपी नर्वेको आर्थिक सहयोग र शारदा नगरपालिकाको आयोजनामा निःशुल्क आँखा शिविर भइरहेको नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले जनाएको छ ।