calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

‘जनताको मन नजितेसम्म दुई–तिहाइको पनि काम छैन’

नेकपाको प्रदेशस्तरीय एकता सन्देशसभा
टेकबहादुर पुन
लमही, १४ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा देशमा बनेको दुई–तिहाइ बहुमतको सरकार जनताको मन जित्न असफल भएका कारण अपेक्षित उपलब्धी दिन नसकेको बताएका छन ।

शनिवार देउखुरीको लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले राजनीतिमा जनताको जनताको मन जित्न सके सफल भइने बताएका हुन् । जुनसुकै सरकार वा नेतृत्वको वास्तविक आधार जनताको विश्वास भएको भन्दै प्रचण्डले भने,‘कुनै पनि सरकार वा नेतृत्वको वास्तविक आधार जनविश्वास हो, केवल संसद्को गणित वा चुनावी परिणाम मात्रै पर्याप्त हुँदैन ।’

उनले पार्टी एकतालाई केवल चुनावी गठजोडका रूपमा नहेर्न कार्यकर्तालाई आग्रह गर्दै यो एकता दीर्घकालीन राजनीतिक स्थायित्व, वैचारिक एकरूपता, आत्मालोचना र संगठनात्मक सुधारको प्रक्रिया भएको बताए ।

सभामा देखिएको ठूलो जनसहभागिता र कार्यकर्ताको उत्साहलाई उल्लेख गर्दै उनले कम्युनिष्ट शक्ति पुनः एकताको दिशामा अघि बढ्न तयार भएको संकेत मिलेको बताए । विभिन्न क्षेत्र, तह र घटकका कार्यकर्ताको उल्लेखनीय सहभागिताले जनस्तरमै पार्टी एकताको आधार बलियो बन्दै गएको उनको भनाइ थियो । उनले भने,‘हामी जहाँ पुगेका छौँ, जनस्तरदेखि सबैले साथ र विश्वास दिएका छन् । आजको उपस्थिति आफैंमा एकताको जनस्वीकृति हो ।’

सामाजिक सञ्जालको लोकप्रियताका भरमा नेतृत्व खोज्ने प्रवृत्ति बढेको भन्दै प्रचण्डले भने,‘इतिहासमा योगदान नगरेका, भूमिगत संघर्ष, जोखिम र बलिदान नबोकेका व्यक्तिहरूले केवल सामाजिक सञ्जालमा लोकप्रिय भएर पार्टी सञ्चालन गर्न सक्दैनन् ।’ नेतृत्व जिम्मेवारीका लागि राजनीतिक यात्रा, वैचारिक प्रतिबद्धता र व्यवहारिक योगदान हुनु पर्ने बताए ।

कार्यक्रममा पार्टीका सह(संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पार्टीको लक्ष्य सङ्गठन विस्तारमा मात्र सीमित नभई देशको उत्पादन, रोजगारी र आर्थिक पुनः रुत्थानसँग जोडिएको बताए। उनले पार्टीको भूमिकालाई पुनः परिभाषित गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई मुख्य एजेन्डा बनाउने समय आएको बताए ।

सहसंयोजक नेपालले महँगी, बेरोजगारी, कृषि संकट, औद्योगिक अविकास जस्ता समस्या जनताले प्रत्यक्ष अनुभूति गरि रहेका गम्भीर चुनौती भएको बताए । एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले भने,‘एकता सामान्य विषय होइन, यो आवश्यक र युगको माग हो । पछिल्लो राजनीतिक परिस्थिति अनुसार पार्टीलाई रूपान्तरण गर्दै अघि बढ्नु अपरिहार्य छ ।’

कार्यक्रममा सहभागी अन्य वरिष्ठ नेताहरूले पनि राजनीतिक सुधार, एकता र राष्ट्रिय हितका विषयमा आ(आफ्ना धारणा राखेका थिए । पूर्वगृहमन्त्री बामदेव गौतमले राजनीतिक दलले विगतका गल्तीबाट पाठ सिक्दै जिम्मेवार र उत्तरदायी भूमिकामा प्रस्तुत हुनु पर्ने बताए । उनले राजनीतिक अस्थिरता, आपसी कलह र विवादले देशको विकास र सुशासनलाई कमजोर बनाएको भन्दै आत्मसुधारमा लाग्न सबै दल र नेतालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले राष्ट्रियतालाई पार्टीको केन्द्रीय एजेन्डा बनाउनु पर्नेमा जोड दिए । उनले भूराजनीतिक परिवेश, खुला सिमाना, आन्तरिक हस्तक्षेप र आर्थिक परनिर्भरता राष्ट्रिय अस्तित्वसँग जोडिएका गम्भीर विषय भएको बताए । पूर्वअर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभाले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था मूल्याङ्कन गर्दै भविष्यको दिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता सभा कार्यक्रमले कार्यकर्तामा नयाँ ऊर्जा, उत्साह र प्रतिबद्धता थप्ने बताए ।

नेपाल कम्प्युनिष्ट पार्टी लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ को अध्यक्षतामा भएको एकता सन्देशसभामा बोल्ने अन्य नेताले प्रदेश नेतृत्वले पार्टीभित्र देखिएका विवाद समाधान, जनस्तरमा संगठन सुदृढीकरण र एकीकृत अभियानको प्रभावकारी कार्यान्वयनका लागि सभा महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेता एवम् पूर्वमन्त्री रेखा शर्मा, चिरण पुनलगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी नेता एवम् पूर्वमन्त्री मेटमणि चौधरीले गरेका थिए ।