calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

विद्यार्थीले प्रकाशन गरे भित्तेपत्रिका

गोरक्ष समाचारदाता
मसुरिया, १४ मङ्सिर । राप्ती गाउँपालिका–३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीले ‘सिर्जनाको पाना’ नामक त्रैमासिक भित्तेपत्रिका प्रकाशन सुरु गरेका छन् । विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कक्षाका विद्यार्थीले पत्रिका निकालेका हुन् ।

ड्रइङ पेपरमा हस्तलिखित रूपमा तयार गरिएको पत्रिकामा विद्यालयका गतिविधि, कविता, गजल, मुक्तक, चुटकिला, सामान्य ज्ञान, समाचारलगायत सामग्री समावेश गरिएको छ । शिक्षकको सहजीकरणमा विभिन्न कक्षाका विद्यार्थीको टोलीले पत्रिका प्रकाशन गरेको हो । भित्तेपत्रिकाको सम्पादक मण्डलमा जित्मली विष्ट, अनुष्का चौधरी र हसिना खातुन छन् ।

प्रकाशन तथा व्यवस्थापन समूहमा कञ्चन चौधरी, लक्ष्मी सुनार, सोलन चौधरी, रेविका विष्ट, आयुष विक र अन्द्रेश चौधरी रहेका छन् । प्रधानाध्यापक केशवराज आचार्य संरक्षकका रूपमा रहेका छन् । एक कार्यक्रमकाबिच पत्रिकाको औपचारिक विमोचन गरिएको थियो । राप्ती–३ का वडाध्यक्ष उमेश अधिकारीले पत्रिकाको विमोचन गरेका हुन् ।

अध्यक्ष अधिकारीले विद्यार्थीको सिर्जनशीलता प्रशंसनीय रहेको उल्लेख गर्दै पढाइसँगै सिपमूलक शिक्षालाई निरन्तरता दिन आग्रह गरे । प्रधानाध्यापक आचार्यले भित्तेपत्रिका विद्यार्थीको क्षमता उजागर गर्ने महत्वपूर्ण माध्यम भएको भन्दै यसले बालबालिकालाई आत्मविश्वासी र जिम्मेवार बनाउन सहयोग गर्ने बताए ।

विमोचन कार्यक्रम कक्षा ८ की छात्रा जित्मली विष्टको अध्यक्षतामा भएको थियो । कक्षा ७ की छात्रा कञ्चन चौधरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ८ की छात्रा पुष्पा बस्नेतले गरेकी थिइन् । सहभागीलाई कक्षा ७ की छात्रा अनुष्का चौधरीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।