सल्यानमा प्रदेशस्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी
गोरक्ष समाचारदाता
सल्यान, १४ मङ्सिर । सल्यानमा पहिलो पटक प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागको आयोजना तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानको सहआयोजना र बागचौर नगरपालिका सल्यानको सहयोगमा भएको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष इन्द्र भण्डारी ‘अङ्कित’ को अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यता एवम् बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्मिमा डिसी वलीको विशिष्ट आतिथ्यतामा भएको थियो । सङ्गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका नारी स्रष्टाले आआफ्ना काव्य रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालीकोटकी राष्ट्रियता आचार्य र सावित्री सोती, जाजरकोटकी जयन्ता सुधा, सुर्खेतका कल्पना विश्वकर्मा, लीला ढकाल, सीता यरी, प्रेरणा सेर्पाइली र सिर्जना खत्री, हुम्लाकी जयन्ती पाल र लुना चौलागाई, रुकुम पश्चिमकी सीता बुढा र सिजन बाठा मगर, सल्यानकी कल्पना पलक, यामकला डाँगी, लीला शर्मा र विनु बुढाथोकी र दैलेखकी शोभाकुमारी ज्ञवालीले प्रतिनिधिमूलक काव्य रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेतले कार्यक्रम गर्नुको औचित्यबारे प्रकाश पारेका थिए । सङ्गोष्ठीमा भाषा आयोग नेपालका पूर्वसदस्य उषा हमालद्वारा तयार पारिएको ‘काव्यमा कर्णालीका नारी हस्ताक्षर’ नामक कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यक्रम प्रमुख सन्ध्या पहाडीले प्रस्तुत गरेकी थिइन् भने टिप्पणी सुर्खेतकी कोकिलासिंह ठकुरीले गरेकी थिइन् । कार्यक्रम सुरु हुनु अघि कार्यक्रमको मूल ब्यानरका साथमा नेपाली पोसाकमा सजिएका पञ्चकन्या एवम् स्थानीय आमा समूहका दिदीबहिनीको पञ्चेबाजासहित नगर परिक्रमा गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सचिव नोखिराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष तारादेवी शर्मा गरेकी थिइन् ।
