गोरक्ष समाचारदाता
दाङ, १३ मङ्सिर । धानखोला–लमही सडक खण्डलाई चारलेनका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन् । धानखोला–लमही चारलेन सडक निर्माण सङ्घर्ष अभियानले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर एमसिसी परियोजना अन्तर्गत निर्माण हुन थालेको उक्त सडक खण्डलाई चारलेन बनाउनुपर्ने माग गरेका हुन् ।
लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको ठाउँमा दुईलेन सडक निर्माण गर्दा सडकमा सवारी चाप उस्तै रहने र त्यसले दुर्घटनाको जोखिम बढाउने भएकाले दीर्घकालीन रूपमा सोच्दै चारलेन सडकका रूपमा एमसिए परियोजनो अघि बढाउनुपर्ने सङ्घर्ष समितिका संयोजक प्रकाश शाहीले बताए ।
उनले दुईलेन सडकको डिपिआर परिवर्तन गरी चारलेनको निर्माण गर्न भन्दै उस्तै सडक निर्माण गर्नुपर्ने भए त्यसको अर्थ नभएको बताए । पत्रकार सम्मेलनमा शाहीले भने, ‘धानखोला–लमही सडक भनेको प्रदेश राजधानी रहेको क्षेत्र हो । सहरीकरण बढ्दै गएको छ’, उनले भने, ‘त्यसकारण यो क्षेत्रमा चारलेन सडक निर्माण हुन आवश्यक छ ।’
पूर्व–पश्चिम राजमार्गकै अन्य सडकखण्डमा चारलेन सडक निर्माण भइरहेको समयमा दाङको देउखुरी क्षेत्रमा मात्र दुईलेन सडक निर्माण गर्न खोज्नु उपयुक्त नभएको भन्दै उनले, ‘यो सडकमा अत्यधिक दुर्घटना भइरहेको हुँदा स्थानीय प्रशासनले ‘टाइम कार्ड’ लागु गरेको छ । यसबाट पनि जानकारी हुन्छ, यो सडक कति जोखिमपूर्ण र चापमा परिरहेको छ । त्यसकारण चारलेन वा छ लेन सडकका रूपमा विकास गर्न आवश्यक छ ।’
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत छिमेकी जिल्ला कपिलवस्तुलगायतका अन्य स्थानमा चारलेन सडक निर्माण भइरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश राजधानी रहेको क्षेत्रमा चारलेन सडक निर्माण गरिनुपर्ने बताए ।