पद सबैभन्दा ठुलो नसा हो

एकराज शर्मा अधिकारी
जुन कुरा खानाले, जुन कुरा सेवन गर्नाले, मानिसको होश असन्तुलन हुन्छ, यसलाई नसा भन्दछन् । कसैलाई खाएर नसा लाग्छ, कसैलाई हेरेर नसा लाग्छ, कसैलाई सुँघेर नसा लाग्छ । जाँड, रक्सी, चुरोट, बिडि, खैनी, गाँजा, भाङ, चरेस यी सबै नसा लाग्ने चिज हुन् । यसलाई मादक पदार्थ भनिन्छ ।

मादक पदार्थ धेरै छन् । कुनै खाने छन्, कुनै पिउने छन्, कुनै तान्ने छन्, कुनै देखाउने छन् । राम्ररी विश्लेषण गर्ने हो भने हर मानिस कुनै न कुनै नसामा डुबेको पाइन्छ । लेख्ने पनि एउटा नसा हो । म लेख्ने नसामा डुबेको छँु । कहिले त चिया खान पनि बिर्सन्छु । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि चुरोट खानु हुन्थ्यो । चुरोट तान्दा तान्दै हात पोलेको पनि थाहा पाउनु हुन्नथ्यो ।

नसाले मानिसलाई नोक्सान गर्छ भन्ने पनि सबैलाई थाहा छ । नसालु पदार्थमा धु्रमपान स्वास्थ्यको लागि हानिकारक छ भनेको देख्दा देख्दै पनि हामीले खान्छौँ । यो कस्तो बानी हो ? कुनै नसा खाएर लाग्छ, कुनै नसा हेरेर मात्र पनि लाग्छ । खाएर त एउटालाई मात्र लाग्छ, जसले खायो त्यसैलाई मात्र लाग्छ, हेर्ने नसाले त धेरैलाई नोक्सान गर्छ । त्यति मात्र होइन एउटा अर्को नसा छ, अत्यन्त खतरनाक त्यो नसा हो– पदको नसा ।

पदको नसाले लाखौँको नोक्सान गर्छ । पद भन्नु मान, प्रतिष्ठा भन्नु एउटै कुरा हो । यी अहंकार रुपी वृक्षमा फुल्ने फूल हुन् । यी अत्यन्तै सुन्दर हुन्छन् । सबैलाई मन पर्छन् । यी फूलबाट फल्ने फल हो मृत्यु । त्यस्तो हुँदा हुँदै पनि मानिसले यी नसालाई छोड्न सक्दैनन् ।

बुढो भएर नमर्दासम्म पदको नसा छोड्न सक्दैनन् । ती पदको नसामा चुर्लुम्म डुबेका मानिस धेरै शंकालु हुन्छन् । मृत्युदेखि डराउँछन् । एउटा देशमा उच्च पदमा पुगेका तीनजना मानिस रहेछन् । बाटोमा हिड्दा भेट भएछ । एउटाले भने– बाटोमा हिड्दा हिड्दै मृत्यु भयो भने मेरो इच्छा पूरा हुँदैन भनेछ । अर्काले भने– हामी तीर्थ गर्न आएका छौँ ।

खानपिन मिलेन भने मृत्यु पो हुने होकि चाँडै घर फर्किनु पर्छ । तेस्राले भने– हामी तीर्थ गर्न आएका छौँ । तीर्थमा मरे पनि के भयो त ? राम्रै त होला । त्यसपछि पहिलो यात्रुले भने– प्रदेशमा मर्नु हुँदैन । आफ्नो देशमा मरे भने राजकीय सम्मानका साथ दाह संस्कार गरिन्छ । ठुलो इज्जत हुन्छ । यहाँ मरे त्यस्तो हुँदैन भन्ने पीर लाग्छ ।

हुन पनि बालककालदेखि आजसम्म गरेको कामले प्रभाव पारेको कति आजसम्म सम्मान पाइयो, त्यो बिर्सन सकिन्न । मलाई त पद र सम्मानको ज्यादै माया लागेको छ । मानिसले सबै छोड्न सक्छन्, पद छोड्न सक्दैनन् । जस्तो दुःखकष्ट आइपरे पनि मलाई मात्र होइन सबैलाई यस्तै हुन्छ होला । बरु अपमान सहन सक्छु, पदलाई छोड्न सक्दैन भनी ती तीर्थ गर्न गएका साधुले भने– यो संसार विचित्रकबो छ ।

धन, मान, प्रतिष्ठाले अहंकार बढाउँछ । त्यसैले एउटा विद्धानले लेखेका छन् । प्रतिष्ठा सुंगुरको बिष्ठा समान हो । अंहकार रौरब नरक सम्मान हो । त्यसमा आशक्त नभइकन सज्जनले सत्कर्म गर्नुपर्छ । देशको सेवा गर्नुपर्छ ।