शरद रेग्मी
तुलसीपुर, १३ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङको विकासका लागि टरिगाउँ एयरपोर्टको स्तर वृद्धि र घोराही–तुलसीपुर चारलेन सडक विस्तार आवश्यक रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित राप्ती बबई क्याम्पसको ३५ औँ स्थापना दिवस र २०औँ वार्षिक साधारणसभालार्ई शुक्रवार सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले घोराही–तुलसीपुर चारलेन सडक विस्तार हुनु दाङबासीका लागि सुखद् भएको बताए ।
घोराही–तुलसीपुर चारलेन सडक विस्तारका लागि आपूmलगायतका जनप्रतिनिधिले संसद्मा पटक पटक गरेको पहलका कारण नयाँ ठेक्का भएर निर्माणको चरणमा प्रवेश गरेको भन्दै पूर्वमन्त्री गिरीले भने, ‘अलपत्र परेको चारलेन सडक ठुलो प्रेसरपछि अहिले नयाँ ठेक्का भएर निर्माणको काम सुरु भएको छ । यसमा मेरो मात्र होइन, सबैको भूमिका छ ।’
उनले तुलसीपुरमा रहेको एयरपोर्टको स्तर वृद्धिका लागि १७ बिघा जग्गा खरिद गर्नुपर्ने भए पनि क्यानको क्रप्ट डिजीका कारण हुन नदिएको बताए । उनले भने, ‘दाङको टरिगाउँ एयपोर्टको स्तर वृद्धिका लागि क्यानको क्रप्ट डिजीको ‘बाइसनेस’ छ, जसका कारण एयरपोर्टको स्तर वृद्धि हुनसकेको छैन । यो सबैले बुझनुपर्छ ।’ राप्ती बबई क्याम्पस सञ्चालन समितिका संस्थापक अध्यक्षसमेत रहेका पूर्वमन्त्री गिरीले जीवनमा सबैभन्दा ठुलो अनुशासन भएको भन्दै उनले अनुशासन पालना गरेकै कारण राप्ती बबइ क्याम्पसले सफलता प्राप्त गरेको बताए ।
क्याम्पसका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले क्याम्पससँगै समग्र दाङको विकासमा दलहरू एकजुट हुनुपर्नेमा जोड दिए । राप्ती बबईले पश्चिम दाङमा शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै समयानुकूल क्याम्प्सलाई अघि बढाउन नेतृत्वले ध्यान दिनुपर्ने र त्यसमा निरन्तर सहयोग रहने सहभागीले बताएका थिए ।
समारोहमा पूर्व संविधान सभा सदस्य अनारकली मिया, पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली, पूर्व प्रदेश सभा सदस्य शंकर गिरी, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विमल रिजाल, तुलसीपुरका पूर्व नगर प्रमुख ढुण्डीराज लामिछाने, समाजसेवी घनश्याम पाण्डेसहितका वक्ताले क्याम्पसको उपलब्धि, आगामी योजना र सामुदायिक शिक्षाको विकासमा क्याम्पसको भूमिकाबारे धारणा राखेका थिए ।
समारोहमा क्याम्पस प्रमुख गणेश पार्धेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना तथा कार्यक्रम सार्वजनिक गरेका थिए । उनका अनुसार क्याम्पसले सन् २०२८ भित्र गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण प्राप्त गर्ने लक्ष्यसहित दर्ता प्रक्रियामा रहेका जग्गालाई क्याम्पसको नाममा दर्ता गर्ने, बिएएससी, बिएएलएलबी, एलएलबी जस्ता नयाँ कार्यक्रम थप्ने तथा पाँच वर्षभित्र पाँच जना एमफिल र तीन जना पिएचडी उत्पादनका लागि शिक्षकलाई प्रोत्साहन गर्ने योजना अघि बढाइएको छ ।
२०४७ सालमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर स्थापना भएको राप्ती बबई क्याम्पसले २०७९ कात्तिक २९ गते विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट मध्यपश्चिममै पहिलो पटक क्युएए प्रमाणपत्र हासिल गरेको थियो । मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय अन्तर्गत बिहानी, दिवा र सन्ध्याकालीन सत्र सञ्चालन हुँदै आएको क्याम्पसमा कक्षा ११–१२ लगायत स्नातकोत्तर तहमा हाल चार हजार एक सय ५६ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा कोषाध्यक्ष बिनिल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले गरेका थिए ।