Goraksha

National Daily

क्षमा र धैर्यका प्रतीक : महान वैज्ञानिक सर आइजक न्यूटन

प्रेरणाको विन्दु

तुफानबाबु श्रेष्ठ

विश्व इतिहासमा यस्ता थोरै व्यक्तित्व छन् जसले मानव सभ्यताको दिशा परिवर्तन गरिदिए । तिनै विलक्षण व्यक्तित्वमध्ये एक हुन्– सर आइजक न्यूटन । उनलाई केवल भौतिक विज्ञानका जनक मात्र मानिदैन धैर्य, अनुशासन, साधना र क्षमाको मूर्त स्वरूपका रूपमा पनि स्मरण गरिन्छ । विज्ञानको क्षेत्रमा उनले जुन योगदान दिए, त्यसले विश्वलार्ई नयाँ दृष्टिकोण दियो र मानिसको सोच्ने तरिका नै बदलिदियो ।

१६४३ जनवरी ४ मा इंग्ल्याण्डको लिंकनसायरमा जन्मिएका न्यूटनको बाल्यकाल कठिन र संघर्षपूर्ण थियो। पिता उनको जन्मपूर्व नै बितिसकेका थिए र आमा पनि दोस्रो विवाह गरेर टाढा गएकी थिइन् । सानैदेखि एक्लो जीवन बिताएका न्यूटन भित्रैभित्रै आत्ममन्थनमा लिप्त रहन्थे । यही एकान्तले उनलार्ई चिन्तनशील र अनुसन्धानमुखी बनायो ।

स्कुलमा औसत विद्यार्थी भए पनि उनी हरेक वस्तुका कारण र परिणाम बुझ्ने प्रयास गर्थे। क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत रहँदा उनले भौतिक विज्ञान र गणितमा अद्भूत योगदान गर्न थाले। गुरुत्वाकर्षणको नियम, गतिसम्बन्धी नियम, प्रकाशको आवर्तन र परावर्तनका सिद्धान्त र कलन (ऋबअिगगिक) जस्ता अद्वितीय खोजले उनलाई अमर वैज्ञानिकको दर्जा दिलाए । न्यूटनको सबैभन्दा चर्चित योगदान हो– गुरुत्वाकर्षणको सिद्धान्त (ीबध या न्चबखष्तबतष्यल ।)

भनिन्छ, एक दिन जब उनी बगैंचामा बसी ध्यानमा मग्न थिए, उनको नजिकै एउटा स्याउ खस्यो । त्यस घटनाले उनलार्ई सोच्न बाध्य बनायो– ‘स्याउ सिधै तल किन खस्यो ? किन उडेर माथि गएन ?’ यही प्रश्नले गुरुत्वाकर्षणको खोजमा उनी तल्लीन भए र मानव इतिहासमा पहिलो पटक उनले पृथ्वीको आकर्षण शक्ति सिद्ध गरे ।

त्यसपछि उनले गतिसम्बन्धी तीन महत्वपूर्ण नियम प्रतिपादन गरे– जसलार्ई आज पनि ‘ल्भधतयल ’क ीबधक या ःयतष्यल’ भनेर पढाइन्छ । यी नियमले मेकानिक्स, खगोलशास्त्र र इन्जिनियरिङका आधार तयार गरे ।

प्रकाशको क्षेत्रमा पनि न्यूटनले महान योगदान दिए । उनले प्रिज्म प्रयोग गरेर देखाए कि सेतो प्रकाश वास्तवमा विभिन्न रंगको संयोजन हो । उनले परावर्तन, आवर्तन र प्रकाशको विक्षेपण सम्बन्धी सिद्धान्त प्रतिपादन गरे। न्यूटनको जीवनमा एउटा हृदयविदारक घटना घट्यो, जसले उनको मानवीयता र क्षमाशीलता उजागर ग¥यो ।

बीस वर्षसम्म उनले प्रकाशसम्बन्धी प्रयोगमा कठोर साधना गरे । उनले असङ्ख्य नोट र अनुसन्धानका कागजात तयार गरेका थिए । एक रात उनी आफ्नो प्रयोगशाला बाहिर टहलिरहेका थिए। त्यही बेला उनको प्यारो कुकुर ‘डायमण्ड’ टेबलमा उफ्रियो। टेबलमा जलिरहेको दियो पल्टियो र आगो लाग्यो । न्यूटनको वीस वर्षको मेहनत जलेर खरानी भयो । जब न्यूटन फर्किए र त्यो विनाश देखे, उनी अत्यन्त दुःखी भए ।

क्षणभरका लागि मनमा रागको भाव आयो– ‘यो कुकुरलार्ई मारेँ भने मन हलुका होला’ तर तुरुन्तै उनको अन्तर्मनले भन्यो– ‘डायमण्डले जानाजानी गरेको होइन ।’ त्यसपछि उनी कुकुर नजिक गए, उसको टाउकोमा हात राखे र प्रेमपूर्वक भने– ‘ओ डायमण्ड ! डायमण्ड ! तिमीले जुन हानी ग¥र्या, त्यो तिमी बुझ्दैनौँ ।’

यो प्रसंग न्यूटनको व्यक्तित्वमा रहेको अद्भूत क्षमाशीलता र धैर्यको प्रतीक हो । उनले पुनः साहस जुटाए, स्मृतिबाट आफ्नो सबै अनुसन्धान पुनः सिर्जना गरे र त्योभन्दा उत्कृष्ट अनुसन्धान परिणाम विश्वलार्ई दिए । न्यूटन मान्दथे– ‘कठिनाइँ बिना लक्ष्य प्राप्त हुँदैन । जसको बाटो सजिलो छ, उसको उच्चता शंकास्पद हुन्छ ।’ उनी बिहानदेखि रातिसम्म अध्ययन र प्रयोगशालामा नै बिताउँथे ।

खाना र निद्रामा पनि न्यूनतम समय खर्च गर्थे । उनले जीवनभर विवाह गरेनन् । उनको सम्पूर्ण जीवन ज्ञान, अनुसन्धान र मानव हितमा समर्पित रह्यो। न्यूटनको धैर्य र लगनले नै विज्ञानलार्ई नयाँ युगमा प्रवेश गरायो । उनले मानवीय सोचाइलार्ई भौतिक साक्ष्यमा आधारित गराए । उनका योगदानले ग्यालिलियो र केप्लरको अनुसन्धानलार्ई अगाडि बढाउँदै आधुनिक भौतिकशास्त्रको जग बसाए ।

न्यूटनको जीवनले एउटा गहिरो सन्देश दिन्छ– ‘धैर्य, साधना र क्षमा नै साँचो महानताको आधार हो ।’ उनले विज्ञानमा मात्र होइन, जीवन दर्शनमा पनि प्रेरणा दिएका छन् । उनी मान्दथे– ‘हामी जो केही बुझ्छौँ, त्यो सागरको किनारमा खेलिरहेको बालक जस्तै हो, सागर अझ असीम छ ।’ उनको विनम्रता र क्षमाशीलता नै उनको वास्तविक महानता हो । उनले सारा जीवन ज्ञानको प्रकाश फैलाउन बिताए, तर कहिल्यै आफ्नो सफलतामाथि गर्व गरेनन् ।

आइजक न्यूटन केवल एक वैज्ञानिक मात्र होइनन्, मानवताको आदर्श पनि हुन् । उनले सिकाएका छन्– असफलताले हाम्रो आत्मबल परिक्षण गर्छ । कठिनाइँ सफलता प्राप्त गर्ने सीढी हो । क्षमाशीलता र धैर्य नै साँचो प्रतिभाको पहिचान हो ।

जब हामी जीवनमा असफलता वा क्षतिका क्षणमा निराश हुन्छौँ, न्यूटनको डायमण्डको कथा सम्झनुपर्छ । किनभने त्यो कथाले भन्छ– मानिसको महानता केवल उपलब्धीमा होइन, विपत्तिमा देखिने धैर्य र क्षमामा निहित हुन्छ । न्यूटनले विज्ञानको माध्यमबाट प्रकृतिको रहस्य खोले र आफ्नो जीवन दर्शनबाट मानिसको मनको अन्धकार पनि उज्यालो पारिदिए । त्यसैले आज पनि उनलाई केवल भौतिक विज्ञानका जनकको रूपमा मात्र होइन, धैर्य, लगन र क्षमाका शाश्वत प्रतीकका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ ।