खगराज न्यौपाने
श्रीयुत भाइ रमेश
आशिर्वाद
यहाँ हामी सबै सकुशल छौँ । त्यहाँ अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा सबै साथीहरुको सफलता र सुस्वास्थ्यको कामना गर्दछु । विदेशमा बसेर पनि देश र देशबासीहरुको विषयमा जिज्ञासा राखेकोमा तिमीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
भाइ रमेश, हाम्रो देशको प्राचिन इतिहास पल्टाएर हेर्दा सानो गोर्खा राज्यलाई कलिलै उमेरमा राजा भएका पृथ्वीनारायण शाहले ठुलो दुरदर्शिताका साथ नेपालको सीमा फराकिलो पारेका थिए । आज हामी सबैले गर्वका साथ शिर ठाडो पारेर आफूलाई नेपाली हौँ भन्न पाएका छौँ ।
विगत हेर्दा हाम्रा पूर्वजहरुको स्वाभिमान र देशभक्ति कै कारण नेपालको मान प्रतिष्ठा उचाइमा पुगेको देखिन्छ तर आज हाम्रा गणतन्त्र स्थापना भएपछिका नेताहरुले पार्टीका घोषणा पत्रमा लेखेको कुरा कहिले पूरा गरेनन् । बरु नागरिकलाई हैन आफू र आफ्ना नजिकका नातेदारहरुलाई सम्पन्न तथा वैभवशाली गराउन सफल भए । यस्ता नेताहरुले राजसत्ताको अन्त गरे तर आफै राजा महाराज भएर पुरै देश लुट्न सफल भए । यस्ता नेताहरुबाट देशको विकास हुने कुराको परिकल्पना गर्न पनि सकिँदैन ।
भाइ रमेश, भारतको उत्तर प्रदेश, विहार नेपालसँग सटेका छन् । नेपाल ती प्रदेशभन्दा पनि सानो छ तर हाम्रा नेताले आफ्ना आसेपासेहरुका लागि पार्टीका झोलेहरुलाई ठाउँ दिनका लागि सात प्रदेशमा विभाजन गरेर देशलाई आर्थिक दृष्टिले कमजोर पार्ने काम गरेका छन् ।
जेन–जीले शान्तिपूर्वक आफ्ना माग राखेका बेला अन्धाधुन्द गोली प्रहार गरेर सत्ता छोडेर पलायन भई भागि सेनाको संंरक्षणमा बाचेकाहरुले आज सांसद ब्युँताउने असफल प्रयास गरिरहेका छन् । देशलाई डुबाउने सबै पार्टीका नेतालाई नागरिकले बहिष्कार गरेर वा हराएर पन्छाउने काम गर्नुपर्छ ।
भाइ रमेश, पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि नेपालमा कुन समयमा कति रासायनिक मल चाहिन्छ भनेर थाहा नपाउने वा नल्याउने र हरेक सिजनमा मलको हाहाकार गराउने किसानलाई दुःख दिनेहरुलाई के गर्ने ? के यस्तो चालाले कृषि क्षेत्रको उन्नति हुनसक्छ र ? नेपालमा भएका उद्योगहरु सबै पार्टीहरुका नेताहरु जो सत्तामा पुग्छन्, उनैले उद्योगहरु बेचेर खान सफल भएका छन् ।
यस्तो भए कसरी देश उठ्ला ? सबै पार्टीहरुले कोसेलीका भरमा टिकट दिने परिपाटीले इामान्दार कार्यकर्ताहरु ओझलमा पर्न थालेको पनि धेरै समय बितिसक्दासम्म नेतृत्व वर्गमा चेत नआउनु नै पार्टीप्रतिको वितृष्णा हो । यसरी धनीले मात्र टिकट पाउने र खर्च गरेको पैसा उठाउनका लागि भ्रष्टाचार गरेको कुरा सबैले सुन्दै आएको कुरा हो ।
भाइ रमेश, यहाँ नेपालमा जे पनि हुनसक्छ । यो भन्दा पहिले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनेकै हो । अहिले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्नु कुनै अनौठो कुरा होइन । बरु नेपालीहरु फुट्दा विदेशीहरुको दबाबमा सरकार ढल्ने र बन्ने गरेको चर्चा सबैले सुनेकै कुरा हो ।
हामी आपसमा मिलेर विदेशीको निर्देशनमा होइन हाम्रै नीति निर्देशनमा क्रमशः भ्रष्टहरुका फायल खोल्ने र सजाए दिने काम गर्न सके जनतामा सकारात्मक सन्देश जाने थियो र क्रमशः भष्टाचार समाप्त हुने थियो । यसैले यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । मैले यो छोटो पत्रमा तिम्रो जिज्ञासा मेटाउने प्रयास गरेको छु । बाँकी अर्को पत्रमा फेरि भेट हुने बाचा गर्दै विश्राम गर्दछु ।
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने