हराए : सिम्ठारो, पुरानो जडन, राइमन्या, ढुनमुने, गौरी, तिल्की, मसिनो झिनुवा, गोपाल, मार्सी, कांग्रेसी (ठर्रा मार्सी) तथा जुम्ली मार्सी
उदाए : युएस ३१२, युएस ३०५, भिएनआर २२२३, र २२४५ र उपज धान
खेमराज रिजाल
दाङ, २९ बैशाख । तुलसीपुर गैरीगाउँका किसान जगत खड्काले पोहर सालदेखि सिम्ठारो धानको चामल नपाएपछि तिल्की र विन्देश्वरी धानको भात खान थाले । बाथको समस्यासँगै हाइब्रिड चामलले नसहेपछि दशकदेखि उनी रैथानेको खेतीमा लागिरहेको बताए । तर खेती लगाइदिनेले कम फल्ने भन्दै रैथाने धान लगाइदिन छाडेपछि समस्यामा छन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ का विनोद पोख्रेलको खेतमा केही बर्ष पहिले तिल्की धान फल्थ्यो, ग्वारखोलाको गनारीमा फल्ने तिल्की धान रोप्ने चलन पनि हराएको छ । बिजौरीकै प्रदीप गौतमको गनारी खेतमा पनि अहिले हाइब्रिड धान मात्रै फल्न थालेको छ । तिल्की सम्झँदै यही धानको चामल उपभोग गर्ने गरेको उनको भनाइ छ । उनीहरुजस्तै धेरै किसानहरुले पछिल्लो समयमा रैथाने धानको खेती गर्न छाडेका छन् । स्वास्थ्यका लागि राम्रो मानिएका फाइवरयुक्त रैथाने धानहरु हराउँदै जाँदा उपभोक्ताहरुको समेत चासो बढेको छ । तर रैथाने धान जोगाउनेतर्फ सरकार लाग्न नसकेको बुझाई स्थानीय नागरिकहरु छ । उपभोक्ताहरुले रैथाने जातको चामल खोजिरहेपछि बजारमा उपलव्ध छैन ।
पहिले दाङमा सिम्ठारो, पुरानो जडन, राइमन्या, ढुनमुने, गौरी, तिल्की, मसिनो झिनुवा, गोपाल, मार्सी, कांग्रेसी (ठर्रा मार्सी) तथा जुम्ली मार्सी समेत खेती हुन्थ्यो । पछि यी धानहरु हराउँदै गएपछि माछापालन, मन्सुली र सावा मन्सुली पनि खेती हुन थाल्यो । तर पछिल्लो समयमा यी स्थानीय उन्नत जातका भनिएका धान खेती पनि हाइब्रिड धानले प्रतिस्थापन गरेको छ । अचेल किसानहरुले युएस ३१२, युएस ३०५, भिएनआर २२२३, र २२४५ र उपज धान मात्रै एग्रोभेटबाट खरीद गरिरहेका छन् । यी सबै धानको बीउको मूल्य प्रतिकेजी ५ सयको हाराहारीमा पर्छ । नेपालमै तयार भएका उन्नत जातका बीउको भने बजारमा अभाव छ ।
रैथाने धानमा के पाइन्छ ?
रैथाने स्थानीय जातका धानखेतीलाई प्रबद्र्धन गर्नुपर्नेमा कृषि बैज्ञानिक पनि सहमत छन् । तर आयात प्रतिस्थापनका नाममा हाइब्रिड धानले धेरै बजार ल्याएको छ । कृषि बैज्ञानिक डा.बुद्धिप्रकाश शर्मा भन्छन्– ‘रैथाने धानभन्दा पनि उच्च स्थानमा फल्ने स्थानीय जातको धानको चामलको बजारमा अत्यधिक माग छ, किनकि त्यो धानको चामलमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ ।’ एन्टिअक्सिडेन्टको मात्रा कम भएको धानले केही दीर्घरोगका बिरामीलाई सामान्य समस्या हुने हुन्छ, किनकि यस्ता धानको चामलमा फाइवरको मात्रा कम र ग्लुकोजको मात्रा केही बढी पनि हुने कृषि बैज्ञानिक शर्माको भनाइ छ ।
‘दाङ जिल्लाको पनि रैथाने धान रातो सिम्ठारो, जुम्ली मार्सीजस्ता धानको उत्पादनलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्दछ’, शर्मा भन्छन्– ‘जसले किसानहरुको आयस्तरमा पनि बृद्धि हुन सकोस् । त्यसो त ५ नं. प्रेस एक्स्पोमा पनि दाङको रातो सिम्ठारो चामल प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री भएको थियो । आवश्यकताको पूर्तिसँगै किसानहरुले पनि आफ्नो बजार सिर्जना गर्न नसक्दा यस्ता रैथाने धानहरुको व्यावसायिक खेती हराउन थालेको उनको अभिव्यक्ति थियो ।
आयात प्रतिस्थापनका लागि हाइब्रिडको उत्पादन बढाउनु स्वाभाविक हो तर पछिल्लो समयमा वाह्य मुलुकहरुले जिएमओ धानको पनि उत्पादन शुरु गरिसकेका छन् । यदि यस्तो धान नेपालमा पनि प्रवेश पायो भने त्यसले मानिसको आनुवंशिकतामा धेरै समस्या समेत ल्याउन सक्ने कृषि बैज्ञानिक शर्माको तर्क छ । उनको भनाइमा जिएमओ धानलाई नेपालले एसेप्ट गर्नु हुँदैन ।
अनुदान दिदा पनि असफल
रैथाने धान उत्पादनलाई प्रबद्र्धन गर्न कृषि ज्ञानकेन्द्रले किसानलाई अनुदान समेत दिने गरेको छ । तैपनि जिल्लामा आवश्यक मात्रामा मूल्य तिरेर पनि रैथाने धान पाउन सकिएको छैन । कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलका अनुसार रैथाने धानलाई प्रबद्र्धन गर्न प्रतिहेक्टर १ लाख रुपैयाँ समेत अनुदान दिने गरिएको छ । तर प्रतिफलको अवस्था अत्यन्तै कमजोर छ । ‘रैथाने धानको प्रवद्र्धन हुन नसक्नुमा सबैभन्दा समस्या उत्पादन कम हुनुनै हो, यसमा स्वयं किसान जागरुक हुनु आवश्यक छ’, कृषि अधिकृत पोख्रेल भन्छन् ।
कृषि ज्ञानकेन्द्रको अनुमानित तथ्यांकमा दाङ जिल्लामा कम्तीमा ७० प्रतिशत जति हाइब्रिड धानको खेती हुने गरेको छ । तर एग्रो व्यवसायी र किसानहरुको भनाइमा अहिले रैथाने धान लगाउनेहरु १० प्रतिशतभन्दा माथि छैनन् । जसका कारण एक बर्ष अघिसम्म पर्याप्त पाइने विन्देश्वरी धान पनि बजारमा पाइन छाडेको उपभोक्ताहरुको भनाइ छ ।
दाङ जिल्लामा कम्तीमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञानकेन्द्रको तथ्यांक छ । यसबाट प्रतिहेक्टर साढे ३ मेट्रिक टनका दरले करिब सवा लाख मेट्रिक टन उत्पादन हुन्छ । कृषि ज्ञानकेन्द्रले किसानहरुलाई उन्नत जातका स्थानीय धान राधा ४, विन्देश्वरी, रामधन, सावा मन्सुली, सुख्खा २, ३ र ४ लगाउन सिफारिस गरे पनि किसानको रोजाइँमा यी धानहरु परेका छैनन् । किनकि हाइब्रिड धानको उत्पादन करिब दोब्बरभन्दा बढी हुने किसानहरु बताउँछन् । यदि लकडाउनको गम्भीर समस्या वा कहिँकतै नाकावन्दी भएको अवस्थामा किसानहरुले हाइब्रिड बीउ पाएनन् भने स्थानीय बीउसमेतको समस्या हुने कृषि कार्यालयले बताएको छ । किनकि किसानहरुले स्थानीय रैथाने धानमात्र होइन, नेपाल सरकारले सिफारिस गरेका धानको बीउसमेत राख्न छाडेका छन् । लकडाउनको अवस्थामा हाइब्रिड छिर्न नपाएको भए धेरै खेत बाँझै हुने अवस्था थियो ।