जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा पद्मोदय प्रथम

गोरक्ष समाचारदाता
दाङ, १३ मङ्सिर । पाँचौँ संस्करणको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् । राप्ती इन्जिनियरिङ कलेज घोराही दाङले शुक्रवार कलेजमा आयोजना गरेको प्रतियोगितामा पद्मोदयका विद्यार्थी राजीव केसी, प्रशान्त केसी, वीरेन्द्र पुन, शिशिर यादव र छात्रा शान्ति पाण्डेले ५५ अङ्क प्राप्त गर्दै प्रथम भएका हुन् ।

यसैगरी सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा अध्ययनरत छात्र सन्तोष जैसी, विपिन चौधरी, भानुभक्त पेङ्ग, अनुप चौधरी र जीवन केसीले ५० अङ्क प्राप्त गरेर द्वितीय स्थान हासिल गरे भने गोरखा स्कुल घोराहीका विद्यार्थी केबी पुन, इन्द्र बुढा मगर, समीप न्यौपाने, अभिषेक केसी र मन्जिता चौधरी र गुरु जजुर मावि तुलसीपुरका विद्यार्थी कुलदीप दहित, होमराज भण्डारी, कमल केसी र छात्रा मिना वली, विनिता शर्माले समान ४५÷४५ अङ्क प्राप्त गर्दै तृतीय स्थान हासिल गरे ।

यसैगरी गोरखा स्कुल तुलसीपुरका विद्यार्थी सुलभ घर्ती मगर, निशान्त दसौदी, प्रतीक्षा पुरी, विशाल योगी र गृष्मा मल्लले ४० अङ्क प्राप्त गर्दै सान्त्वना भए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र दुई हजार पाँच रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कलेजका सञ्चालक समितिका अध्यक्ष शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड घोराही शाखाका प्रमुख कमलप्रसाद अर्यालले यस्ता खालका कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने बताए । कलेज सञ्चालक समितिका अध्यक्ष शैलेन्द्र गिरीले जिल्लामा प्लस टुतर्फ अध्ययनरत विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता बाहिर ल्याउने उद्देश्यले कलेज विगत चार वर्षदेखि जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयका प्राचार्य लोकबहादुर बस्नेत, नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतले कलेजले हरेक वर्ष जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेर सराहनीय कार्य गर्दै आएको बताए । प्रतियोगीतामा २० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

कार्यक्रममा कलेजका व्यवस्थापन समितिका अध्यक्ष भीमसेन गिरी, कलेजका प्रिन्सिपल रेशम गिरी, जिल्लामा रहेका कलेज तथा विद्यालयका प्राचार्य÷प्रतिनिधि र विद्याथीको सहभागिता रहेको थियो । कलेजका निर्देशक मधुसूदन वैद्यको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका बिबिए विभागीय प्रमुख सिर्जना देवकोटाले गरेकी थिइन् ।