संघीय सरकारले सहजै अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ,१२ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताएका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको अन्तरसरकारी समन्वय संयन्त्र, कुटनीतिक मामिला तथा समन्वय परिषद्को निर्णय कार्यान्वयन अवस्थामाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले संविधानले दिएको अधिकार हस्तान्तरण नहुदा प्रदेश सरकारहरूले खुलेर काम गर्न नपाएको बताएका हुन ।

संघीय सरकारले प्रदेशमा पठाउने कार्यक्रम र बजेटबीच असन्तुलन देखिएको भन्दै मुख्यमन्त्री आचार्यले भने,‘गत वर्ष खानेपानी शीर्षकमा १४ हजार रुपियाँको कार्यक्रम आयो । त्यो पूरा गर्न तीन करोडभन्दा बढी चाहिन्छ । त्यसमा चार करोडभन्दा धेरै लगानी भइसक्यो, तर संघीय सरकारले पठाएको बजेट १४ हजार मात्रै थियो । यस खाले समस्याले गर्दा कार्यान्वनयमा चुनौती देखिन्छ ।’ मुख्यमन्त्री आचार्यले संघीय सरकारले हात हालेका आयोजना सम्पन्न गर्न आवश्यक बजेटसहित प्रदेशमा हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘बजेट नदिई आयोजना मात्र पठाइएपछि प्रदेशले कसरी काम अगाडि बढाउन सक्छ । बाटो, सिंचाइ, खानेपानीजस्ता क्षेत्रमा समस्या यसै कारण देखिएका छन् ।’ उनले संघीय वन ऐनका कारण वन क्षेत्रको समस्या पनि उस्तै रहेको बताए । वनको अधिकार प्रदेशको भनिए पनि मुद्दा हेर्ने अधिकार प्रदेशलाई नदिएर हातखुट्टा बाँधिदिएको जस्तै स्थिति अहिले रहेको भन्दै मुख्यमन्त्री आचार्यले भने,‘चुनढुंगा लगायतका खानी क्षेत्रको अधिकार प्रदेशलाई दिइएको भए राजस्व अभाव हुन्नथ्यो । तर यसमा संघीय स्तरले ध्यान दिन सकेको देखिँदैन ।’ उनले कर्मचारी स्थायित्वको अभाव पनि प्रदेशमा ठूलो समस्या भएको बताए ।

मुख्यमन्त्री आचार्यले भने,‘‘कर्मचारी प्रदेश आएपछि प्रदेशकै झैँ देखिन्छन् । तर संघमा फर्किएपछि उनीहरू फेरि संघकै सोचमा सीमित हुन्छन् । राजनीतिक नेतृत्वमा पनि त्यही प्रवृत्ति देखिन्छ । प्रदेशमा हुँदा प्रदेशको जोडदार वकालत गर्ने, तर संघीय संरचनामा पुगेपछि ती कुरा बिर्सने प्रवृत्तिले समस्या पारेको छ ।’ उनका अनुसार प्रदेश समन्वय परिषद्का निर्णय कार्यान्वयनका लागि प्रदेश सरकार निरन्तर प्रयासरत छ । तर संघीय सरकारले पठाउने बजेट कटौती हुने गरेपछि स्रोतको अभाव बढेको उल्लेख गर्दै उनले भने,‘संघीय सरकारसँग तुलना गर्दा प्रदेशले पूँजीगत खर्चमा राम्रो प्रगति गरेको छ ।

स्रोत उपलब्ध गराइए हामीले क्षमता देखाएका छौँ । चुनौती बजेटकै हो ।’ कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव कुमारराज खरेलले कूटनीतिक मामिलासम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव भिष्मकुमार भुसालले प्रदेश समन्वय परिषद तथा विषयगत समितिसम्बन्धी प्रस्तुति राखेका थिए ।