औद्योगिक ग्राममा उद्योग सञ्चालन गरे पाँच वर्ष कर छुट

अमरराज आचार्य
दाङ, १२ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाको औद्योगिक ग्राममा आफैँ संरचना बनाएर उद्योग स्थापना गरे उद्योगी व्यवसायीले पाँच वर्षसम्म कर तिर्न नपर्ने भएको छ । तुलसीपुर–१६ मा स्थापना गरिएको औद्योगिक ग्राममा उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न पालिकाले आफैँ संरचना बनाएर व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई पाँच वर्षसम्म कर नलिने भएको हो ।

लगानी भित्राउन औद्यागिक क्षेत्रमा आफैँ संरचना निर्माण गरेर उद्योग स्थापना गर्ने व्यवसायीबाट कर नलिइने तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले बताए । ‘तुलसीपुरमा उत्पादन क्षेत्रमा लगानी भित्राउने उद्देश्यले औद्योगिक ग्राममा उद्योगी व्यवसायी आफैँले संरचना बनाएर व्यवसाय सुरु गरे पाँच वर्षसम्म करमा छुट दिने नीति ल्याएका हौँ’, नगर प्रमुख खड्काले भने, ‘यो नीतिले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्न प्रोत्साहित गर्नेछ भन्ने हाम्रो अपेक्षा हो ।’

उद्योग ग्राममा उद्योग स्थापना भए रोजगार सिर्जना हुनुका साथै रोजगारीका लागि बाहिरिने जनशक्तिले सहज रूपमा यहीँ रोजगार पाउने र उत्पादनमा वृद्धि हुने नगर प्रमुख खड्काले बताए । उनका अनुसार नयाँ उद्योग तथा उपमहानगरपालिकामा सञ्चालनमा रहेका उद्योगहरू पनि औद्योगिक ग्राम क्षेत्रमा जान सक्नेछन् । औद्योगिक ग्राममा जुनसुकै उद्योग स्थापना गर्न सकिने बताउँदै प्रमुख खड्काले भने, ‘हामीले सबैलाई औद्योगिक ग्राममा उद्योग स्थापना गर्न दिने भनेको छौँ, स्थानीयलाई प्राथमिकता दिइए तापनि बाहिरबाट आउने उद्योगी व्यवसायीलाई व्यवसाय गर्न कुनै रोक लगाइने छैन ।’

औद्योगिक क्षेत्रमा साना तथा ठुला जुन कुनै उद्योग स्थापना गर्न सकिने बताउँदै नगर प्रमुख खड्काले प्रदूषण कम हुने खालका उद्योग स्थापनालाई प्राथमिकता दिने बताए । तुलसीपुर उपमहानगरपालिका–१६ मा १३ बिघा क्षेत्रफलको जग्ग औद्योगिक ग्रामका लागि छुट्याइएको छ । औद्योगिक ग्राममा उद्योगी व्यवसायीलाई बस्ने वातावरण बनाउन आवश्यक संरचना निर्माण भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

औद्योगिक ग्रामका लागि छुट्याइएको १३ बिघा क्षेत्रफलमा पर्खालको बाउन्ड्री लगाएर सुरक्षित गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष शिवानन्द डिसीले जानकारी दिएका छन् । औद्योगिक ग्रामसम्म सडक तथा विद्युतको पहुँच विस्तार भइसकेको उनले बताए । ‘औद्योगिक ग्रामसम्म सहज सडक तथा विद्युतको व्यवस्था भइसकेको छ’, वडाध्यक्ष डिसीले भने, ‘खानेपानीका लागि माग भए तत्काल व्यवस्थापन गर्न सकिनेछ ।’
उद्योग स्थापनाका लागि उपयुक्त स्थान भएकाले उद्योगी व्यवसायीले उद्योगमा लगानी गर्न सुरु गरिसकेको वडाध्यक्ष डिसीले बताए । ‘एक जना उद्योगीले उद्योग स्थापनाका लागि शिलान्यास गर्नु भएको छ’, वडाध्यक्ष डिसीले भने, ‘अन्य उद्योगी पनि उद्योग ग्राममा व्यवसाय सञ्चालन गर्ने प्रक्रियाबारे बुभ्mन आइरहनु भएको छ ।’ बजारदेखि करिब तीन किलोमिटरको दुरीमा रहेकाले औद्योगिक ग्राममा उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन समस्या नहुने उनले बताए ।

संरचना निर्माण गरेपछि उपमहानगरपालिकाले पाँच वर्षसम्म कर छुट दिने तथा जग्गाको भाडासमेत सहुलियत मूल्यमा उपलव्ध गराउने भएपछि लगानीकर्ताको उद्योग ग्रामप्रति आकर्षण बढ्न थालेको वडाध्यक्ष डिसी बताउँछन् । ‘उद्योग ग्राममा आउन चाहने उद्योगी व्यवसायीलाई स्थानीयलाई रोजगारीका लागि प्राथमिकता दिन भनेका छौँ’, उनले भने । औद्योगिक ग्राममा व्यापार व्यवसाय सुरु भए स्थानीयले रोजगार सहज रूपमा पाउन सक्ने उनले बाताए ।

औद्योगिक ग्राममा उद्योगी व्यवसायीलाई आवश्यक पर्ने सुरक्षादेखि अन्य पूर्वाधार निर्माणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख खड्काले बताए । चालु आर्थिक वर्षमा औद्योगिक ग्रामकै लागि भनेर बजेट छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ । औद्योगिक ग्राममा सार्वजनिक शौचालय, खानेपानीदेखि फिल्ड सम्याउनेलगायतका काम चालु आर्थिक वर्षमै गरिने नगर प्रमुख खड्काले बताए । तुलसीपुर उपमहानगरपालिकामा लामो समयदेखि औद्योगिक ग्राम घोषणा भए पनि त्यसको कार्यान्वन हुन सकेको थिएन ।

औद्योगिक ग्राम हुनु सकारात्मक रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताएका छन् । उद्योग स्थापनापूर्व उद्योगका लागि आवश्यक पूर्वाधार विकास हुनुपर्ने बताउँदै अध्यक्ष केसीले बताए । ‘पूर्वाधार विकास नहुँदै उद्योग स्थापना गरे उद्योगी व्यवसायीलाई समस्या हुन्छ, यसमा स्थानीय सरकारले ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने, ‘पूर्वाधार विकास नगरी व्यावसायिक कर छुट दिएर मात्र उद्योगी आकर्षित हुँदैनन् ।’ त्यसका लागि औद्योगि क्षेत्रमा आवश्यक पूर्वाधारको विकास भए उद्योगी व्यवसायीलाई व्यापार व्यवसाय गर्न कुनै समस्या नहुने उनले बताए ।