अवकासमा जाँदै गर्दा प्रधानाध्यापक न्यौपानेले भने, यसरी नमुना विद्यालय बन्यो रझेना

गोरक्ष समाचारदाता
दाङ, ११ मङ्सिर । घोराही उपमहानगरपालिका–१८ स्थित माध्यमिक विद्यालय रझेनामा १० वर्ष अघि करिब पाँच सयको सङ्ख्यामा विद्यार्थी थिए । घोराही बजारको छेउमै रहेको विद्यालयमा खासै विद्यार्थीको आकर्षण थिएन ।

बजारमै रहेको विद्यालय भए पनि विद्यार्थीको आकर्षण नहुनु मुख्य कारण थियो, समुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन भन्ने मान्यता । त्यही कारण २०७२ सालसम्म कक्षा १२ सम्म पढाइ सञ्चालन गरे पनि विद्यार्थी सङ्ख्या भने न्यून थियो । त्यही समयमा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा आइपुगे शिक्षक उद्धव न्यौपाने । करिब १० वर्ष मावि रझेनाको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शिक्षक न्यौपानेले मावि रझेनालाई जिल्लामा ‘नमुना सामुदायिक विद्यालय’का रूपमा स्थापित गरिदिएका छन् ।

विद्यार्थी सङ्ख्याको कमी, कमजोर भौतिक संरचनासँगै शैक्षिक गुणस्तरको समस्या झेल्दै आएको विद्यालयलाई नमुना विद्यालय बनाउन सफल भएको बिहिबार विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानाध्यापक न्यौपानेले बताए । उनका अनुसार २०६७ सालमा विद्यालयमा प्रवेश गरे पनि २०७२ देखि २०८२ मङ्सिर ११ गतेसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । विद्यालय नेतृत्व सम्हालेपछि सुरु भएको सुधार अभियानका क्रममा शिक्षक, अभिभावक र प्रधानाध्यापकको समन्वय र सहकार्यले विद्यालयको शैक्षिक तथा भौतिक परिवर्तनका लागि सम्भव भएको बताउँछन् ।

उनका अनुसार अहिले माध्यमिक विद्यालय रझेनामा नेपाली र अङ्ग्रेजी माध्यमसँगै नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार आठ सय ४२ जना विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षे कार्ययोजना बनाएर प्रधानाध्यापक बनेको भन्दै उनले भने, ‘विद्यालयका प्रधानाध्यापक बन्न प्रस्तुत गरेको पाञ्चवर्षीय कार्ययोजना अनुसार अघि बढेको थिएँ । करिब दुई कार्यकाल विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा विद्यालयले विद्यार्थी वृद्धि, शैक्षिक गुणस्तर र पूर्वाधार विकास–तीनै पक्षमा सुधार गर्न सफल भएका छौँ ।’

विद्यालयमा प्लस टु तहमा शिक्षा, मानविकी, व्यवस्थापनसँगै प्राविधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङ र कानुन विषय पढाइ हुँदै आएको छ । प्राविधिकतर्फ मात्रै चार सय जना विद्यार्थी अध्ययनरत छन् । उनका अनुसार शैक्षिक सुधारलाई गति दिन विद्यालयले ई–हाजिरी, स्मार्ट बोर्ड, प्रविधिमैत्री कक्षाकोठा र नियमित अनुगमन जस्ता आधुनिक व्यवस्थापन पद्धति कार्यान्वयन गरेको छ ।

विद्यालय भर्ना अभियानका क्रममा बालबालिका खोज्दै गाउँ गाउँमा जाने क्रममा गिठेपानीमा अभिभावकले ‘तपाईँका छोराछोरी कुन विद्यालयमा पढाउनुहुन्छ भन्दै प्रश्न गरेको स्मरण गर्दै न्यौपानेले भने, ‘सामुदायिक विद्यालयप्रतिको विश्वास दिलाउन चुनौती थियो । अभिभावकले प्रश्न गरेपछि पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले आफ्नै दुई छोरीलाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गराउँदा अभिभावकको विश्वास बढ्दै गयो । अहिले विद्यालयकै शिक्षकले बालबालिका विद्यालयलमै पढाउने वातावरण बनेको छ ।’

प्रधानाध्यापक न्यौपानेले सामुदायिक विद्यालय उकास्न सबैभन्दा पहिला शिक्षकले इमानदारीपूर्वक पढाउनुपर्ने बताए । ‘शिक्षक नियमित र समर्पित भए सामुदायिक विद्यालय उत्कृष्ट बन्न समय लाग्दैन’, उनले भने, ‘शिक्षक नियमित विद्यालय आउने र आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गरे सुधार गर्न सकिन्छ ।’ विद्यार्थी अभावका कारण माध्यमिक विद्यालय रझेनामा गाभिएको आधारभूत विद्यालय मसिनामा हाल ७० विद्यार्थी अध्ययनरत छन् । केही वर्ष अघि २० विद्यार्थीमा झरेको विद्यालय रझेनाको निगरानी र सहयोगपछि विद्यार्थी सङ्ख्या बढ्दै गएको बताउँछन् ।