गलत प्रचार गर्ने काम गरियो : अध्यक्ष विष्ट

गोरक्ष समाचारदाता
दाङ, १२ मङ्सिर । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गम्भीर बिरामीलाई जाँच गरेर उपचारका लागि सरकारी अस्पताल पठाएको घटनालाई गलत प्रचार गरिएको बताएका छन् ।

अध्यक्ष विष्टले बिहिबार घोराहीमा पत्रकार सम्मेलन गरेर राप्ती गाउँपालिका र आफूलाई जोडेर आएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारी अस्पतालमा सेवा लिन आएका बिरामीलाई स्वास्थ्यकर्मीले सेवा नदिएर फर्काएको र बिरामी आफ्नो निजी स्वास्थ्य संस्थामा गएपछि ड्युटी सकेर कोठामा खाना खान आएका डाक्टरलाई आफ्नो अनुरोधमा बिरामीलाई जाँच गर्न लगाई राप्ती आधारभूत अस्पतालमा पठाएका हौँ, मानवीय धर्मको हिसाबले गर्नुपर्ने कर्तव्यलाई गलत प्रचार गरिएको छ ।’

सरकारी अस्पतालमा आएका बिरामीलाई सेवा नदिने र बाहिर पठाउने गरेको गुनासो आएपछि स्वास्थ्यकर्मी साजन रोकाय र मेखराज खत्रीलाई कारबाही गरिएको समेत बताए । अध्यक्ष विष्टले भने, ‘जनताको सेवा नगर्ने, सेवाग्रहीलाई हप्काउने कर्मचारीलाई हटाउनु पालिकाको कानुनी र नैतिकता हो । यहि विषयलाई ढाकछोप गर्न गलत प्रचार गरिएको र त्यसमा केही सञ्चारकर्मी लागेका छन् ।’

राप्ती नदीमा अनुमति विना रातीको समयमा ढुङ्गा उत्खनन् र निकासी भइरहेको सूचनाका आधारमा प्रहरी पक्राउ गरेका पाँच वटा टेक्टरलाई कारवाही भएको र नदीजन्य पदार्थ उत्खन्नका लागि प्रक्रियागत कार्य भइरहेको बेला अध्यक्षलाई जोडेर आएका घट्ना सत्य नभएको बताए । त्यसैगरी राप्ती गाउँपालिकाल फोहोर व्यवस्थापनका लागि वडा नं. २ को कठाह पन्यपुरमा सरसफाई केन्द्र स्थापना गरेर फोहोरको उचित व्यवस्थापनमा लागेको बताए ।

उक्त ठाउँमा फोहोरको बर्गीकरण गरेर गल्तीबाट कम्पोष्ट मल, प्लाष्टिकबाट व्लक इटा उत्पादन र कामै नलाग्ने फोहोरलाई उचित व्यवस्थापन गर्ने कार्य भइरहेको र छिटो फोहोर वर्गीकरण गर्ने उपकरण खरिदमा ढिलाई हुँदा संकलन केन्द्रमा फोहोर धेरै देखिन गएको बताए । साथै आन्दोलतरत पक्षलाई वार्ताका लागि बोलाइएको भन्दै जायज मागहरु सम्वोधन गर्न तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले कुनै पनि समाचार लेख्दा पत्रकारले घट्नाको बास्तविकता बुझेर लेख्नुपर्ने बताए । सत्य र तथ्यमा रहेर समाचार लेख्नु पत्रकारिताको धर्म भएको भन्दै केन्द्रीय सचिव प्रियासनले व्यक्तिगत लाभ वा स्वार्थका लागि लाग्न नहुने बताए । पत्रकार सम्मेलनको सहजीकरण राप्ती गाउँपालिका प्रेस संयोजक तुलबहादुर कवँर मगरले गरेका थिए ।