प्रतिष्ठानको सेवा सुधार र संरचना व्यवस्थापन गर्न माग

गोरक्ष समाचारदाता
दाङ, १२ मङ्सिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको सेवा, संरचना र व्यवस्थापनमा देखिएको कमजोरी सुधार गर्न माग गरिएको छ । ‘हाम्रो दाङ, हाम्रो जिम्मेवारी’ अभियानले बिहिबार ध्यानाकर्षण–पत्र बुझाएर सेवा संरचना र व्यवस्थापनमा देखिएको कमजोरी सुधार गर्न माग गरेको हो ।

अभियानले प्रतिष्ठानका पदाधिकारी समक्ष ध्यानाकर्षण–पत्र प्रस्तुत गर्दै लामो समयदेखि निर्माणाधीन चार सय शय्याकोे शिक्षण अस्पताल समयमै सम्पन्न गर्न, जनशक्ति व्यवस्थापन सुधार गर्न तथा नागरिकमैत्री सेवा प्रणाली लागु गर्न आग्रह गरेको हो । ज्ञापनपत्रमा प्रतिष्ठान दाङको लागि मात्र नभई आसपास जिल्लाका नागरिकको लागि प्रमुख स्वास्थ्य सेवा केन्द्र भए पनि अपेक्षित स्तरको गुणस्तरीय, सुरक्षित र सुलभ स्वास्थ्य सेवा दिन नसकेको नागरिकको गुनासो रहेको उल्लेख गरिएको छ ।

अस्पताल निर्माणमा ढिलाइ, सेवा विस्तारमा सुस्तता, औषधी तथा परीक्षण सेवामा समस्या, व्यवस्थापनमा कमजोरीलगायतका कारणले सेवाग्राही मर्कामा परेको अभियानका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए । अभियानले अस्पताल निर्माण कार्य स्पष्ट कार्ययोजना र समय सीमासहित तीव्र रूपमा अघि बढाउन, प्रतिष्ठानको जग्गा, संरचना तथा सम्पत्ति सुरक्षित गर्न कडा निगरानी व्यवस्था लागु गर्न माग गरेको छ ।

यसैगरी विशेषज्ञ सेवा विस्तार गर्दै क्याथ ल्याब सेवा सञ्चालन, आवश्यकता अनुसार आइसियु, सिसियु बेड थप तथा २४ घण्टा अल्ट्रासाउन्ड सेवा सञ्चालन गर्न माग गरिएको छ । बिरामीलाई परीक्षणका लागि बाहिर पठाउनु पर्ने अवस्था अन्त्य गर्न प्रतिष्ठानमै अत्यावश्यक परीक्षण सेवा उपलब्ध गराउन ज्ञापनपत्रमा माग गरिएको छ । अभियानले अव्यवस्थित औषधी वितरण प्रणाली नियन्त्रण गर्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीका लागि प्राथमिकता सेवा लागु गर्न, छुट्टै काउन्टर, छिटो उपचार प्रणाली स्थापना गर्न सुझाव दिइएको छ ।

यसैगरी ओपिडी, इमर्जेन्सी, बिलिङ, रिपोर्ट र फार्मेसी सेवा सहज बनाउन अनलाइन प्रणाली, डिजिटल नम्बर, हेल्पडेस्क तथा जनमैत्री व्यवहार लागु गर्न माग गरिएको छ । अभियानका संयोजक मजगैयाँले दाङको प्रतिष्ठानलाई नाम अनुसारको सुविधा सम्पन्न र सेवामैत्री बनाउन आग्रह गरे । उनले सम्बन्धित निकायले तुरुन्त सुधार कार्य अघि बढाउने विश्वास व्यक्त गरे । त्यस अवसरमा नागरिक समाज, स्थानीय नागरिक, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राडा श्याम लम्सालले नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा प्रदान गर्न आफूहरू लागिपरेको बताए । शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानको कामलाइ प्रतिष्ठानले अगाडि बढाएको बताउँदै प्राडा लम्सालले प्रतिष्ठानमा स्वास्थ्य सेवाहरू थप्दै लगिएको बताए ।

‘हामी उद्देश्य अनुसार नै काम सहज र गुणस्तरीय सेवा छिटो रूपमा दिने प्रयास गरिरहेका छौँ’, रजिस्ट्रार लम्सालले भने । सेवा थप गर्नका लागि निर्णायक व्यक्ति उपकुलपति नहुँदा समस्या भइरहेको बताए । उपकुलपतिले राजीनामा दिएको लामो समय बितिसक्दासम्म पनि निमित्त नतोकिँदा काम गर्न समस्या भएको उनी बताउँछन् ।

चार सय बेडको अस्पातलको ठेक्का आह्वानका लागि अहिलेको सरकारले बहुवर्षीय आयोजनाको स्वीकृति नगर्ने भनेपछि निर्माण अगाडि बढ्न नसकेको बताउँदै प्राडा लम्सालले बजेटको सुनिश्चिता नभएकाले पनि काम गर्न समस्या हुने बताए । प्रतिष्ठानको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै उनले भने, ‘प्रतिष्ठान एक्लैले मात्र काम गर्छु भनेर हुँदैन, सरोकारवाला सबैको सहयोग आवश्यक पर्छ’, उनले भने ।

प्रतिष्ठानमा देखिएका समस्या सुधारका काम भइरहेको बताउँदै उनले केही दिनमै काउन्टर थप गरिने बताए । उनका अनुसार प्रतिष्ठानमा छिट्टै नै सुविधा सम्पन्न ल्याब सेवा सुरु हुनेछ । नागरिकलाई ल्याब तथा औषधी खरिद गर्न बाहिर पठाउने देखिएको समस्या प्रतिष्ठानले समाधान गरिसकेको बताउँदै प्राडा लम्सालले प्रतिष्ठानलाई तुस्त र दुरुस्त बनाउन सबैले सल्लाह, सुझाव तथा सहयोग गर्न आग्रह गरेका थिए ।