‘बेकरी सर्टिङलाई घिउ, साइटिक एसिडको घोललाई चुक’

गोरक्ष समाचारदाता
तुलसीपुर, १२ मङ्सिर । निरन्तरको अनुगमनले तुलसीपुरको खाद्य बजारमा केही सुधार आए पनि केही किराना पसलमा अझै पनि मानव स्वास्थ्यका लागि गम्भीर असर पार्ने प्रतिवन्धित उपभोग्य सामग्री भेटिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले बिहिबार गरेको बजार अनुगमनका क्रममा साइटिक एसिड पिनेर कालो रँग प्रयोग गरी बनाइएको घोललाई चुक भनेर बेच्ने गरिएको छ । बेकरी सर्टिङलाई घिउ भनेर उपभोक्तालाई झुक्याएर बेच्ने गरिएको छ ।

अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–५ रहिम उल्लाह स्टोर्समा भेटिएको यस्तो खालको चुक अनुगमन टोलीले जफत गरेर नष्ट गरेको छ भने तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोककै अर्को  शुभम किराना पसलमा बेकरी सर्टिङलाई घिउ भनेर बेच्ने गरेको पाइएपछि ती उत्पादन यसरी झुक्याएर नबेच्न निर्देशन दिँदै उत्पादक कम्पनीमा फिर्ता पठाउन अनुगमन टोलीले निर्देशन दिएको छ । त्यो वस्तु घिउ नभएर वनस्पतिबाट बनाइएको बेकरी बनाउँदा पिठो मुछ्न प्रयोग गरिने वस्तु हो ।

यसैगरी अनुगमनका क्रममा अर्को खतर्नाक वस्तुलाई खाद्य सामग्रीमा प्रयोग गर्न बिक्री वितरण भएको अनुगमन टोलीले फेला पारेको छ । शुभाम किराना पसलमा मिठाइ पसलहरूमा बिक्री गर्नका लागि भन्दै सोडियम हाइड्रो सल्फेटका डिब्बाहरू राखिएको फेला परेपछि ती डिब्बा पनि नष्ट गरिएको छ । करिब चार सय रुपैयाँ मूल्यका जम्मा नौ वटा डिब्बा अनुगमन टोलीले जफत गरी नष्ट गरेको हो । खाद्य गुणस्तर तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्राविधिक सुदर्शन गोसाईका अनुसार सोडियम हाइड्रो सल्फेट एक प्रकारको क्लियरिङ एजेन्ट हो ।

यसले कुनै पनि वस्तुलाई सेतो र चम्किलो बनाउन प्रयोग गरिन्छ । धुलो पाउडरका रूपमा पाइने यो वस्तु खास गरी औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ । घरका भित्ता र टायल्स सफा गर्न यसको प्रयोग हुन्छ । बिक्रीका लागि राखिएको यो सामान भने मिठाइ पसलेहरूले मिठाइ सेतो बनाउन प्रयोग गर्ने गरेको सो किराना पसलका सञ्चालक रिजवान अन्सारीले बताए । उनले सो ब्रान्ड भारतीय बजारबाट ल्याएर बिक्री वितरण गर्ने गरेको बताएका थिए ।

अनुगमन टोलीले ती डब्बा पनि सोही पसलमा नष्ट गरेको थियो । ती पसलमा भेटिएका म्याद नाघेका केही खाद्य सामग्री पनि जफत गरेर नष्ट गरिएको थियो । बेसनको मैदालगायतका केही खाद्य सामग्रीलाई भने प्रयोगशाला परीक्षणका लागि नमुना स्वरूप खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुचुल्का उठाएर लगेको छ । परीक्षणको रिपोर्टपछि मात्र ती खाद्य सामग्रीका विषयमा थप जानकारी हुने सो कार्यालयले जनाएको छ । खाद्य प्रविधि प्रयोगशाला नेपालगन्जमा छ ।

यसैगरी होटल तथा रेस्टुरेन्टहरूमा अनुगमन गर्दा अघिल्लो पटक कुनै खाद्यान्न पकाएको तेल पटक पटक प्रयोग गरेको पाइएकाले सो तेल नष्ट गरिएको छ । खास गरी तुलसीपुर उपमहानगरपालिका–५ प्रादेशिक अस्पताल रोडमा रहेका होटलमा यस्तो तेल प्रयोग भएको पाइएको थियो । त्यसलाई तेलको शुद्धता नाप्ने मेसिनको प्रयोग गरी अयोग्य पहिचान गरिएको थियो ।

त्यसरी पटक पटक तताउदै प्रयोग गरिएको तेलमा एसिडको मात्रा बढ्दै जाने र यसको सेवनले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य प्राविधिक सुदर्शन गोसाईले बताए । बजारका होटल तथा रेस्टुरेन्टमा यो प्रवृत्ति धेरै देखिने गरेको उनले बताए । अनुगमनका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल प्राङ्गणभित्रकै क्यान्टिनमा रोचक परिदृश्य देखियो ।

एउटै फ्रिजको माथिल्लो खण्डमा खचाखच इन्जेक्सन राखिएका छन् भने फ्रिजको तल्लो खण्डमा बाँटा र बाल्टिनमा खुल्ला रूपमा अचारको लेदो राखिएको थियो । ती इन्जेक्सनहरू राप्ती प्रादेशिक अस्पताल फार्मेसीका स्टाफले फ्रिजमा राख्न दिएको क्यान्टिन सञ्चालकले बताएका छन् । अनुगमनका क्रममा अस्पताल चमेना गृहको सो फ्रिजमा राखिएको अचार नष्ट गरिएको थियो ।

साथै चमेना गृहभित्र किराना पसलमा राखिने सामानसमेत राखिएकाले यसलाई पनि दर्ता प्रक्रियामा लैजान तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हकहित संरक्षण तथा बजार व्यवस्थापन शाखाले निर्देशन गरेको छ । रुवि स्टोर र विजय स्टोरमा अधिक रँग प्रयोग गरिएका मिठाइ भेटिएका थिए । अनुगमन गरिएका हरेक व्यावसायिक स्टोरमा केही न केही कैफियत देखिएको उपभोक्ता हकहित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठले बताएका छन् ।

अनुगमन टोलीले बिहिबार तुलसीपुर उपमहानगरपालिका वीरेन्द्र चोकस्थित गणेश डेरी, रहिम उल्लाह स्टोर, शुभम किराना पसल, न्यु राप्ती किराना पसल, रवि स्टोर, विजय स्टोर, भण्डारी होटल एन्ड लज, त्रिवेणी रेस्टुरेन्ट एन्ड लज, राप्ती प्रादेशिक अस्पताल चमेना गृह, सल्यानी त्रिवेणी नास्ता पसल, दिदीबहिनी होटल, सुवेदी नास्ता पसल, सन्ध्या÷वसन्त नास्ता पसल तथा इलाका प्रशासन कार्यालय गेट नजिकको नाम नखुलेको नास्ता पसलको समेत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अखाद्य सामग्री तथा म्याद नाघेका सामग्री नष्ट गर्ने, पसलको दर्ता नवीकरण नभएको भए एक साताभित्र नवीकरण गर्ने, सरसफाइ तथा खाद्य स्वच्छतामा विशेष ध्यान दिने तथा अर्को अनुगमनमा पनि त्रुटि नसच्याएको पाइए उपभोक्ता हकहित ऐन बमोजिम कारबाही गर्ने चेतावनी अनुगमन टोलीले दिएको छ ।

अनुगमनमा तुलसीपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्राविधिक सुदर्शन गोसाई, उपमहानगरपालिका उपभोक्ता हकहित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठ, कर्मचारी खेमकान्त पाण्डे, सूचना अधिकारी यज्ञ केसी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, इलाका प्रशासन कार्यालय तुलसीपुरका हुमलाल न्यौपाने, नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सञ्जय गिरीलगायत सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो ।