गोरक्ष समाचारदाता
तुलसीपुर, २८ बैशाख । मनसुन शुरु भएर किसानले मकै रोपिसकेपछि मात्र तुलसीपुरको स्थानीय सरकारले किसानहरुलाई अनुदानको मकैको बीउ वितरण थालेको छ । त्यसमा पनि पर्याप्त बीउ नआइसकेको भन्दै आधाभन्दा बढी वडामा अनुदानको बीउ वितरण अनिश्चित बनेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका करिब ८० प्रतिशत जति किसानहरुले निजी एग्रोभेट र केहीले घरमै राखेको रैथाने मकैको बीउ रोपेपछि स्थानीय सरकारले भने उन्नत बीउ भन्दै अनुदानको बीउ वितरण गर्न थालेको छ । तैपनि यो बीउ बाँकी किसानलाई समेत अपर्याप्त छ ।
उपमहानगरपालिकाको ठेक्का प्रक्रियामा ढिलाइ तथा कार्यान्वयनमा समस्या भएका कारण किसानलाई अनुदानको बीउ बिक्री वितरणमा ढिलाइ भएको हो । मकै छरिसकेका किसानहरुले स्थानीय सरकारको यो उपहारलाई लगनपछिको पोते भनेका छन् ।
सोमवार उपमहानगरपालिकाको कृषि शाखाले १० क्वीण्टल अनुदानको बीउ वडा नं. ६, ८, ९, १०, १२ र १५ मा वितरण गरेको हो । मकै छर्न बाँकी किसानहरु भने यही बीउ पाउँदा पनि खुसी भएका छन् । अन्य वडाहरुलाई भने बीउ वितरण अझै पनि अनिश्चित बनेको छ । उपमहानगरपालिकाले बीउ ल्याउने क्रममै विभिन्न स्थानमा रोकिएका कारण समयमा बीउ आइपुग्न नसकेको बताएको छ । थप १० क्वीण्टल बीउ केही दिनमै आइपुग्ने पनि उपमहानगरपालिकाले जनाएको छ ।
आवश्यकताका आधारमा मकैको उन्नत जातको अरुण ४ बीउ अनुदानमा वितरण थालिएको उपमहानगरपालिकाअन्र्तगत आर्थिक विकास समितिका संयोजक माधव वलीले जानकारी दिएका छन् । उनका अनुसार कृषि विकास उपशाखाले केही दिन पहिले सूचना जारी गरी कृषकहरुलाई आवश्यक पर्ने मकैको बीउ माग गरेको र माग बमोजिम खरिद गरी सोमवारदेखि वितरण गर्ने तयारी गरेको वलीले जानकारी दिएका छन् । अरुण ४ बीउ चितवनबाट ल्याएर अनुदानमा वितरण गर्न लागेको हो ।
सो मकैको बीउ ५० प्रतिशत अनुदानमा किसानहरुलाई वडामार्फत वितरण भइरहेको छ । उपमहानगरपालिकाले १ सय ३० रुपैयाँ प्रतिकिलोमा खरिद गरी प्रतिकिलो ६५ रुपैयाँमा किसानहरुलाई उपलव्ध गराएको कृषि शाखाका प्रमुख धनराज गौतमले जानकारी दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका १९ वडाबाट २ सय बढी किसानहरुले मकैको बीउ माग गरेको गौतमले जानकारी दिए ।
हाल बजारमा रैथाने मकैको बीउ १ सय ५० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री वितरण भइरहेको छ भने हाइब्रिड जातको बीउ भने करिब ३ सयदेखि साढे ३ सय रुपैयाँमा प्रतिकिलो बिक्री हुँदै आएको छ । सामान्यतया दाङमा मकै छर्ने उपयुक्त समय जेठको पहिलो सातालाई मानिन्छ । तर यो वर्ष बैशाख तेस्रो सातादेखि नै जिल्लामा मकै बाली रोप्न थालिएको हो । देउखुरीमा भने चैतमै मकै खानका लागि तयार हुन्छ ।