कपिलवस्तु, २९ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म शील गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति बैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई शील गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।
भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका शील गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै शील गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दूधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ । सोमवारसम्म देशभर कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । सोमवार कपिलवस्तु र सप्तरीमा कोरोना संक्रमित फेला परेका थिए ।