एक हजार पाँच सय बढीको कुपोषण जाँच

बालाराम खड्का
तुलसीपुर, ११ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले बालबालिकामा कुपोषण जाँच सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा तथा बेस संस्था दाङले छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाको पोषण लेखाजोखा गरी पोषण स्वास्थ्य परामर्श तथा कुपोषण भए नभएको यकिन गरी उपचार गर्ने गरी विभिन्न वडामा कुपोषण जाँच सुरु गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाभित्र हालसम्म ३९ स्थानमा एक हजार पाँच सय आठ जना बालबालिकामा कुपोषण जाँच गरिएको जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिएका छन् । कुपोषण जाँच गरिएका मध्ये ११ जना बालबालिकामा कुपोषण भेटिएको जनस्वाथ्य अधिकृत केसीले जानकारी दिए । उनका अनुसार मध्यम खालका कुपोषण भएका बालबालिका एक सय ४५ जना रहेका छन् । कात्तिकदेखि हालसम्म गरिएको परीक्षणमा बालबालिकामा कडा तथा मध्यम खालको कुपोषण देखिएको उनले बताए ।

‘हामीले कुपोषण जाँच तथा परामर्श सेवा सुरु गरेका छौँ, कडा तथा मध्यम खालका कुपोषण भएका बालबालिकालाई उपचार सुरु पनि गरेका छौँ’, केसीले भने । पालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाले सबै वडामा करिब १० हजार बालबालिकाको कुपोषण जाँच गर्ने लक्ष्य लिएको छ । विभिन्न वडामा पुगेर कुपोषण जाँच गर्ने, परामर्श दिने र कुपोषण भएका बालबालिकालाई नजिकैको उपचार केन्द्रमा दर्ता गर्ने गरेको जनस्वास्थ्य अधिकृत केसीले बताए ।

उनका अनुसार उपचार केन्द्रमा दर्ता भएका बालबालिकामा मध्यम खालको कुपोषण भए सुपरसेल प्लस खुवाइन्छ भने कडा कुपोषण भएका बालबालिकालाई उपचारात्मक खानाद्वारा सुधार गर्ने कार्यक्रम तय भएको छ । हाल विभिन्न वडामा पुगेर स्वास्थ्यकर्मीले बालबालिकाको तौल, पाखुराको नाप, उचाई, लम्बाई नाप गरेर कुपोषण भए नभएको पहिचान र जाँच गर्ने गरेको उनले बताए ।

बालबालिकाको विकासको चरण अनुरूप आवश्यक पोषकतत्वको कमी, बढी वा असन्तुलन भएमा कुपोषण हुने गर्दछ । ‘कुपोषण विभिन्न कारणले हुने गर्छ, पोषकतत्वको कमी वा बढी भएमा बालबालिकालाई कुपोषण हुनेगर्छ’, केसीले भने । भोकमरी, गरिबी, बेरोजगारी, अशिक्षा, स्वास्थ्य सेवाको कमी, स्तनपान पर्याप्त नहुनु जस्ता कारणले बालबालिकामा कुपोषण हुने गर्दछ ।

कुपोषणबाट बच्न बच्चा पर्याप्त स्तनपान गराउने, हेरचाह गर्ने, नियमित ताजा फलफूल, हरिया सागसब्जी खुवाउने, पौष्टिक आहारको व्यवस्था गर्न गर्नु आवश्यक छ । जनस्वास्थ्य प्रवर्धन शाखाले छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाको पोषण लेखाजोखा गरी पोषण स्वास्थ्य परामर्श तथा कुपोषण भए नभएको यकिन गरी उपचार गरिने भएकोले बालबालिकाको पोषण अनिवार्य जाँच गराउन सबैमा अनुरोध गरेको छ ।