अनुदानमा च्याउको बिउ वितरण

प्रमोद आचार्य
दंगीशरण, ११ मङ्सिर । दंगीशरणका किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बिउ वितरण गरिएको छ । दंगीशरण गाउँपालिका र समृद्ध समाजको संयुक्त साझेदारीमा गाउँपालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बिउ वितरण गरिएको हो ।

गाउँपालिकाले सूचना जारी गरी च्याउको बिउ लिन इच्छुक कृषक समूहलाई माग आह्वान गरेको थियो । सोही अनुसार ६० वटा कृषक समूहले माग गरेको कृषि सहायक अधिकृत मानबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाबाट ५० हजार, समृद्ध समाजबाट ५० हजार तथा किसान स्वयम्ले एक लाख गरी दुई लाख बराबरको च्याउको बिउ वितरण गरिएको हो ।

बिउ वितरण कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानले प्रविधिमैत्री कृषि उत्पादनमार्फत् बढी लाभ लिन सक्नुपर्ने बताए । यसैगरी उपाध्यक्ष पिमा वली खड्काले घरमै बस्ने महिलालाई आयआर्जनमा टेवा पुग्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा च्याउको बिउ वितरण गरिएको बताइन् ।