लक्ष्मण बस्नेत
तुलसीपुर,१०मंसिर। ज्ञानज्योती फाउन्डेसन, तुलसीपुर दाङद्वारा आयोजित ज्ञानज्योती दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता–२०८२ आजदेखि फाउन्डेसनको गोलौरास्थित खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगिताको दाङ जिल्ला फुटबल संघका पूर्व अध्यक्ष सुशील श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले राष्ट्रको पहिचान बोकेको खेलकुद क्षेत्रको विकास विद्यालय तहबाटै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बालबालिकामा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने माध्यम यी प्रतियोगिताहरू भएकाले शिक्षासँगै खेलकुदलाई समान प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । ज्ञान ज्योती फाउन्डेसनले खेलकुद क्षेत्रलाई केन्द्रमा राख्दै आफ्नो छुट्टै पहिचान बनाएको उहाँको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता ज्ञान ज्योती कलेजका एकेडेमिक को–अर्डिनेटर शरद गौतमले गर्नुभएको थियो । दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत विशिष्ट अतिथिको रूपमा उपस्थित हुनु भएको कार्यक्रममा आदर्श एकेडेमीका प्रिन्सिपल बसन्त टण्डनले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्व राष्ट्रिय खेलाडी प्रीति बहादुर गिरि, मनोज केसी, मन्जित पुन, सरोज वली, सुदिप नेपालीलगायत खेलकुद क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलेजका सन्तोष केसीले गर्नुभएको थियो ।
यसैबीच आज भएको उद्घाटन खेलमा कम्प्युटर साइन्स–१२ ले होटल म्यानेजमेन्ट–११ लाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । भोलि बिहान ८ बजे साइन्स–१२ र साइन्स–११ बीच प्रतिस्पर्धा हुनेछ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा फाउन्डेसनभित्रका तीन कलेजका विभिन्न संकायका १३ टिमको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।