लकडाउनमा भारतबाट फर्किएका दाङका युवाहरु कृषी व्यवसायमा

हेमराज शर्मा
दाङ, २९ बैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नं १ तेर्छेगाउँमा बदेल र बादरले अन्नबाली खाएपछि खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती शुरु गरिएको छ ।
चारैतिरबाट जंगलले घेरेको उक्त पहाडी भिरालो बस्तिका अधिकांस मानिसहरु आफ्नो जीवनयापनका लागि पुरानो बस्ती तेर्छे गाउँलाई छोडेर तराइमा झरेका छन । शुरुमा तेर्छेगाउँमा २० घरपरिवारको भन्दा बढीको बस्ती थियो । उनीहरुले आफूलाई चाहिने अन्नपातको खेतीपाति पनि गर्दथे तर रातीमा जंगली जनावर बदेल र बादरले उक्त खेती खाइदिएपछि गाउँलेहरुले खेती स्याहार्नै पाएनन ।

परिवार जाड्नका लागि तेर्छेगाउँका अधिकांस युवा र पुरुषहरु रोजगारीका लागि भारत सहित तेस्रो मूलक जाने र कमाएको पैसाले परिवार पाल्ने र बचेको पैसाले तराइमा घर घडेरी र जग्गा समेत जोडे । जसका कारण तेर्छेगाउँका आधा भन्दा धेरैको रामपुर, साहीपुर, कालिमाटी र वरपरको तराइका गाउँमा बसोबास गर्दछ । उनीहरुको तेर्छेगाउँमा रहेको जग्गा बाझै थियो । उक्त बाझो जग्गामा अहिले बेसार, अदुवा र पिडालु खेती शुरु गरिएको छ ।

स्थानीय टेकन भण्डारी र बसन्त भण्डारीले गाउँकाले खेती गर्न छाडेका करिव ५ बिगाह जग्गामा बेसार, पिडालु र अदुवा खेती गर्न शुरु गरेका छन । ‘यो बर्षे पाँच बिगाहमा खेती गरेका छौ’—स्थानीय टेकन भण्डारीले भने—‘आगामी बर्षमा हामीले गाउँमा कुनैपनि जमिन बाझो राख्दैनौ सवैमा खेती गर्छौ ।’ तेर्छेगाउँमा अहिले पनि ८ घरपरिवारको बसोबास छ । त्यहा करिव १० बिगाहजति जग्गामा खेती गर्न बाँकी छ ।

लकडाउन भएपछि रोजगारीका लागि भारत गएका युवाहरु भारतमा लकडाउन शुरु हुन लागेपछि गएको चैत महिनमा घर फर्किका छन । लकडाउन कहिलेसम्म रहन्छ भन्ने अन्यौलता एकातिर छ भने अर्कोतिर लकडाउन सकिएपनि भारतमा तत्काल पुरानै रोजगारी पाइन्छ भन्नेमा गाउँमा फर्केका युवाहरु विश्वस्त नभएको बताउछन । ‘लकडाउन कहिले सकिने हो थाह छैन, सकिएपनि तत्काल भारतजाने अवस्था छैन’—भारतबाट चैतमा फर्किएका तेर्छेगाउँका सचिन खत्रीले भने—‘अव गाउँमा गोठ बनाउने हो ब्यावसायीक बाख्रा पालन गरेर बस्ने हो ।’

भारतबाट फर्केकासहित स्थानीय १५ जनालाई दैनिक खाना खाएर ६ सय रुपैया पारिश्रमिक दिएर अदुवा, बेसार र पिडालु खेतीमा लगाइएको युवा टेकनले बताएका छन । यो बर्ष भण्डारीले उक्त स्थानमा ६ क्वीन्टल बेसार खेती गरि सकेका छन । तेर्छेगाउँमा ब्यावसीयक अदुवा, बेसार र पिडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताए । मिहनेत गरियो भने भारतमा आफूहरुले कमाएजति यही पनि कमाउन सकिने स्थानीय युवाहरुको विश्वास पनि छ । युवाहरुले त्यहा रहेको सिस्नोको सागलाई जम्मा गरेर सिस्नोको धुलो समेत बनाइरहेका छन । बजारमा सिस्नोको धुलोको समेत माग धेरै हुने गरेको आफूहरुले सुनेपछि सिस्नो संकलन गरी धुलो बनाउने काम समेत थालिएको भण्डारीले बताएका छन ।

अदुवा, बेसार र पिडालुको बजारीकरण सहकारीले गरिदिने

तेर्छेगाउँमा उत्पादन हुने अर्गानिक अदुवा, बेसार, पिडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराही स्थित सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ ।

सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजार मार्फत उपभोक्ताहरुलाई अदुवा, बेसार, पिडालु र सिस्नोको धुलो उपभोक्ताहरुलाई दिने योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताए । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को पचास प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको बजारमा तेर्छेगाउँमा उत्पादन हुने बेसार,अदुवा, पिडालु र सिस्नोको धुलो लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

प्रदेश मन्त्रालय र सहकारीको बिचमा सम्झौता भइ बजारका लागि आवश्यक पर्ने काम भइरहेको र जिल्लाभर कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले एउटै छानामूनी दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरु सहुलियत दरमा उपलव्ध गराउने योजना अनुसार काम भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका शेयर सदस्यहरुलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान खाद्यान्न, तरकारी, फलफूल, माछामासु, चिया कफी, दुध, नुन तेल, मह लगायतका सामाग्री उपलब्ध गराउने, उपभोक्ताहरुलाई समेत एउटै बजारबाट सबै सामानहरु उपलब्ध गराउने, आर्गानिक ताजा कृषि उपजको उत्पादनका लागी कृषकहरुलाई आवश्यक प्राविधिक सिप तथा तालीमहरु उपलव्ध गराउने, कृषकहरुले उत्पादन गरेका सामाग्री उचित बजार मूल्यमा खरिद गरी उपभोक्ताहरुलाई उपलब्ध गराउने, कृषि उपजमा बिचौलियाहरुले लिने नाफाको ठूलो हिस्सा कम गरी सुपथ मूल्यमा उपभोक्ताहरु लाई सामाग्री उपलब्ध गराउने उद्देश्य सर्वोत्तम सहकारी बजारको छ ।

यसैगरी सहकारी बजारले किसान र उपभोक्ताहरुबिचको उपभोक्तामैत्री वातावरण सिर्जना गर्ने, उपभोक्ताहरुले खोजेको तर सहज तरिकाले नपाइने ग्रामीण भेगमा उत्पादन हुने तर उपभोक्ताहरुलाई पछिल्लो दिनमा उपभोग गर्ने क्रम बढाएका खाद्यान्न, जडिवुटी जस्तै, मकैको आटो पिठो, कोदो, फापर, मार्सि चामल, टिमुर, अदुवा, बेसार, गहत, पहाडमा फलेका सिमि, अरहर, बोडिको दाल,सिस्नुको साग लगायतका सामाग्रीहरु उपलब्ध
गराउने,तरकारीहरु कम उत्पादन हुने मौषमहरुका लागि सुके पाकेका तरकारीहरु जस्तै गुन्द्रुक,सुकेसाग,मुलाको चाना,टमाटर सुकाएको,विभिन्न प्रकारका तयारी अचारहरु समेतको उपलव्ध गराउने,स्थानीय स्तरमा उत्पादन हुने र स्थानीय पहिचान बोकेका सामान जस्तै अल्लोको टोपी, कोट, ढकिया, अम्रिसाको कुचो लगायतका सामानहरु पाइने बताए ।

बजारका रुपमा स्थापीत गर्ने,बढ्दो मात्रामा रहेको प्लाष्टिक र आयातित सामानको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा कृषक तथा महिला समूहले उत्पादन गर्ने डोको,छिट्नी,दुना, टपरी, सिन््का, दाम्ला, नाम्ला,तोरन माला उपलब्ध हुने बजारका रुपमा बिकसित गर्ने, समाजको पहिचानकोे रुपमा रहेको पैचो प्रणालीलाई कायम गर्दै किसानले उत्पादन गर्ने सामान सहकारी बजारमा बिक्रि गर्ने र किसानलाई चाहिने सामान सहकारी बजारबाटै किनेर लैजाने बजारका रुपमा स्थापीत गर्ने,व्यवस्थित कृषि बजारको माध्यमबाट आम कृषि उद्यमीको उत्पादन, संकलन लगायतका क्रियाकलापका तौरतरिकामा परिवर्तन गरी कृषकहरुको जीवन स्तरमा सुधार ल्याउने उद्देश्य राखेको संस्थाका अध्यक्ष ध्रुवराज पाडेलले बताए ।