गोरक्ष समाचारदाता
दाङ, १० मङ्सिर । दाङमा ओभरलोड बोक्ने सवारीसाधनलाई प्रहरीले कारबाही गर्न थालेको छ । ओभरलोड बोकेर हिड्ने सवारीसाधनका कारण सडक जीर्ण बन्नुका साथै दुर्घटनाको जोखिम बढाएको भन्दै प्रहरीले ओभरलोड बोकेर हिड्ने सवारीसाधनलाई कारबाही गर्न थालेको छ ।
ओभरलोडलाई नियन्त्रण गर्न जिल्लामा प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानमा ओभरलोड रूपमा ढुङ्गा, चुनढुङ्गा, गिट्टी र बालुवा बोक्ने ८० वटा सवारीसाधन कारबाही गरेको छ ।
ओभरलोड बोक्ने कार्यलाई रोक्न प्रहरीले सञ्चालन गरेको विशेष चेकिङका क्रममा मङ्सिरको ६, ७ र ८ गते जिल्लामा ८० वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाइले संयुक्त रूपमा सञ्चालन गरेको चेकिङका क्रममा तीन दिनको अवधिमा जिल्लामा ओभरलोड रूपमा ढुङ्गा, चुनढुङ्गा, गिट्टी र बालुवा बोक्ने ८० वटा सवारीसाधन कारबाहीमा परेको बताए ।
ओभरलोड बोक्ने प्रत्येक सवारी साधनलाई दुई हजारका दरले जरिवाना गर्दा एक लाख ६० हजार रुपैयाँ जरिमाना असुल गरिएको बताए । यातायात नियम पालना गराउन र सडक सुरक्षा सुनिश्चितता गर्न प्रहरीले नियमित रूपमा चेकिङ अभियान सञ्चालन गर्दै आएको छ ।