लैङ्गिक हिंसा रोक्न आफैँबाट सुरु गरौँ : मन्त्री तिमिल्सिना

अमरराज आचार्य
दाङ, १० मङ्सिर । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लैङ्गिक हिंसा रोक्न आफैँबाट सुरु गर्नुपर्ने बताएका छन् । लैङ्गिक हिसा विरुद्ध १६ दिने अभियानको अवसरमा घोराहीमा आयोजना गरेको कार्यक्रममा कसैको सहयोगबिना राज्य एक्लैले मात्र केही गर्न नसक्ने बताउँदै मन्त्री तिमिल्सिनाले लैङ्गिक हिंसा रोक्न आफैँबाट सुरु गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले अमानवीय व्यवहार कसैलाई गर्न नहुने बताउँदै लैङ्गिक हिंसा रोक्न सर्वप्रथम सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । ‘समाजमा व्याप्त सङ्कीर्ण सोचमा परिवर्तन ल्याउन जरुरी छ, जबसम्म सोचमा परिवर्तन आउँदैन तबसम्म समाजमा लैङ्गिक हिंसा भई नै रहन्छ । जबसम्म समाजमा लैङ्गिक हिंसा व्याप्त रहन्छ तबसम्म समाजमा परिवर्तन हुन सक्दैन’, मन्त्री तिमिल्सिनाले भने ।

सरकार र सामाजिक संघसंस्थाहरूले समन्वय तथा सहकार्य गरेर समाज परिवर्तनको मार्गमा अगाडि बढ्न आवश्यक रहेको बताएँदै मन्त्री तिमिल्सिनाले त्यसका लागि लैङ्गिक सचेतना जगाउन जरुरी रहेको बताए । लैङ्गिक हिंसा विरुद्ध कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वन हुन नससक्दा समाजमा अझैसम्म लैङ्गिक विभेद कायम रहेको बताए । ‘कानुन बनेको छ तर प्रभावकारी कार्यान्वनमा समस्या देखिएको छ’, मन्त्री तिमिल्सिनाले भने, ‘कानुन प्रकावकारी रूपमा कार्यान्वयन गर्न सबैको सहयोग जरुरी छ ।’

कानुनमा लेखिएका कुरा व्यवहारतः कार्यान्वन नहुँदासम्म कुनै अर्थ नहुने बताउँदै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले लैङ्गिक हिंसा तथा बालबालिकाको क्षेत्रमा विभिन्न खालका कानुन कार्यान्वनका लागि नीति कार्यक्रममा नै समावेश गरेको बताए । प्रदेश सभा सदस्य लोका विकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तलाएर मात्र नहुने भन्दै समाजमा हिंसा हुन नदिने वातारण निर्माण गर्नतर्फ सबै लाग्नुपर्ने बताइन् ।

समाजमा भएका हिंसा तथा घटनाहरूको अनुसन्धान गर्नुका साथै शून्य सहनशीलातको वातावरण समाजमा निर्माण गर्न सबैले आआप्mनो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उनले बताइन् । महिलाहरूलाई सहानुभूति दर्शाउनुको साटो समान अवसरको वातावरण समाजमा निर्माण गर्नु आजको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले समाजमा लैङ्गिक समनता स्थापित गर्न सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । यसका लागि समाजमा लैङ्गिक समानता स्थापित गर्ने खालका सचेतना कार्यक्रम गर्न आवश्यक रहेको उनले बताए । यसैगरी बंगलाचुली गाउपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले हिंसा रोक्न सामाजिक रूपान्तरण आवश्यक रहेको बताए ।

यसका लागि समाजका हरेक व्यक्तिले आफूबाटै सुरुआत गर्नुपर्ने उनले बताए । शिक्षित तथा जानेबुझेकाहरूबाटै समस्या हुने गरेको बताउँदै उपाध्यक्ष जिसीले समाजमा लैङ्गिक समानताको वातावरण कायम गर्न महिलाले नै नेतृत्व स्थानसम्म पुग्न जागरुक हुनुपर्ने बताए । कार्यक्रममा ओरेक नेपालका सुनिता मैनालीले एक वर्षको अवधिमा भएका लैङ्गिक हिंसाको अवस्थाबारे जानकारी गराएकी थिइन् ।

घरपरिवार तथा चिनजानका व्यक्तिबाटै हिंसा बढी हुने गरेको बताउँदै मैनालीले महिला तथा बालबालिका आफ्नै घरमा पनि सुरक्षित रहने अवस्था नरहेको तथ्याङ्कले देखाएको बताइन् । एक वर्षमा ओरेकले एक हजार दुई सय ७९ वटा घटना सङ्कलन गरेको उनले बताइन् । प्रस्तुत गरिएका घटना देशका विभिन्न २८ जिल्लाबाट सङ्कलन गरिएको उनले बताइन् ।

कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष अनिता पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो । महिला मानव अधिकार रक्षक सञ्जालका पूर्व अध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्व्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ओरेक नेपालका जिल्ला कार्यक्रम संयोजक कल्पना चौधरीले गरेकी थिइन्् ।

तुलसीपुरमा पनि १६ दिने अभियान सुरु

यसैबिच ‘मैले लैङ्गिक हिंसा गर्दैन र अरूलाई पनि हिंसा गर्न दिन्न’ भन्ने प्रतिबद्धतासहित तुलसीपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मङ्गलवारबाट सुरु भएको छ ।

‘महिला आमा हुन् भने सम्मान दिनु, महिला श्रीमती हुन् भने इज्जत दिनु, महिला दिदीबहिनी हुन् भने स्नेह दिनु, महिला छोरी हुन् भने गर्व गर्नु, महिला अपरिचित हुन भने संरक्षण दिनु’, भन्ने उद्घोष तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले उद्घोष गरेसँगै अभियान सुरु भएको हो ।

लैङ्गिक हिंसाविरुद्धका नाराहरू लेखिएका प्लेकार्ड बोकेका अभियन्ताले हिंसा न्यूनीकरणको प्रतिबद्धता दोहो¥याएका छन् । कार्यक्रममा स्कुले विद्यार्थीहरू, मानव अधिकारकर्मीहरू, उपमहानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, न्युसिपिसीका प्रतिनिधि, बेस, नेपाल रेडक्रस सोसायिटी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुखलगायत सञ्चारकर्मीको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ’ भन्ने सरकारको मुल नारा र तुलसीपुर उपमहानगरपालिकाको नारा ‘तुलसीपुर उपमहानगरपालिकाको प्रतिबद्धता लैङ्गिक हिंसा विरुद्धको शून्य सहनशीलता’ भन्ने नाराका साथ कार्यक्रमको शुभारम्भ भएको छ । अभियान १६ दिने भनिए पनि यसलाई वर्षभरि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइयो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका संरक्षक एवम् तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली, तुलसीपुर मेट्रो कलेजका विद्यार्थी शूष्मा केसीलगायतले लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता जाहेर गरेका थिए । महिला तथा बालबालिका शाखाका कर्मचारी ईश्वरा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख श्रेष्ठले गरेकी थिइन् ।

दंगीशरणमा पनि लैङ्गिक हिसां विरुद्धको दिवस

यसैबिच दंगीशरण गाउँपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने उद्देश्यका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुआत गरिएको छ ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक उद्घाटन गरिएको हो । अभियानको पहिलो दिन वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, महिला अधिकारकर्मीसहितको टोलीले विभिन्न नारा लेखिएका प्ले ब्यानरसहित ¥यालीसमेत निकालेको थियो ।

¥यालीमा सहभागीहरूले बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी, घर शान्ति विश्व शान्तिको अधिकार, गाउँभरि हल्ला छ, २० वर्ष पुगेपछि बिहे गर्ने सल्लाह छ, लैङ्गिक हिंसा अन्त्य गरौँ सभ्य समाजको निर्माण गरौँ, सबैको घरमा शान्ति समृद्धि ः देशमा आर्थिक उन्नति लगायतका नारा लेखिएका प्ले–कार्डसहित हेकुली चोकसम्म पुगेर पुनः गाउँपालिका फर्किई कोणसभामा परिणत भएको थियो । १६ दिनसम्म चल्ने अभियानमा हरेक दिन फरक फरक कार्यक्रमसहित अभियानलाई भव्य रूपमा मनाइने गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिइन् ।