calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

हरेक विद्यालयमा स्रष्टाहरू छन् : बाल साहित्यकार आचार्य [अन्तर्वार्ता]

विजयराज आचार्य बाल साहित्यमा उदीयमान नाम हो । उनले बाल साहित्यसम्बन्धी एक सय ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेका छन् । केही पुस्तक प्रकाशोन्मुख रहेका छन् । बालबालिका सुनौला भविष्यका कर्णधार हुन् । कुनै पनि बालबालिकामा फरक–फरक क्षमता हुन्छन् ।

बालबालिकामा रहेका हरेक प्रतिभालाई उजागर गर्न सकेमा मुलुकले नयाँ मुहार फेर्ने पनि उनको आशा छ । बाल सहित्य विधामा पनि कथा लेखनलाई बढी चाँसोका साथ हेर्ने उनी हाल नेपाल बाल साहित्य समाजको केन्द्रीय अध्यक्ष समेत रहेका छन् । मुलुकभर बाल साहित्यको सम्भावनाको खोजी गरिरहेका छन् । साहित्यलाई समाज परिवर्तनको ऐना मान्ने प्युठान जिल्लाको ऐरावती गाउ“पालिकाको दाङवाङ च्यान्धारामा जन्मिएका बाल साहित्यकार विजयराज आचार्यसँग गोरक्षकर्मी खेमराज रिजालले दाङ आएको समयमा गरेको कुराकानीको सारसंक्षेप ।

— के सिलसिलामा दाङसम्म आइपुग्नु भो ?

विद्यालयमा दबिएर रहेका साहित्यिक प्रतिभालाई प्रस्फटन गर्ने मेरो केही वर्ष अघिदेखि कै अभियान थियो । यसै क्रममा विद्यार्थीलाई पनि साहित्यमा जोड्न यहाँको गोरखा स्कुलले चाहेको जानकारी भयो । गोरखा स्कुलका सञ्चालक तथा नेतृत्वकर्तासँग समन्वय भयो । त्यसपछि स्कुलको चाहनाअनुसार गोरखा ग्रुपले सञ्चालन गरेका स्कुल तथा भगिनि स्कुलमा कथा लेखन कार्यशालाको आयोजना गरी साहित्यिक सर्जकको पहिचान गर्न यहाँ आइपुगेको हुँ । यहाँ म करिब ९ दिन यो अभियानमा भिन्न–भिन्न स्कुलमा जोडिएँ ।

साहित्यसँगै कथा लेखनमा चासो राख्ने बाल प्रतिभाको पहिचान गर्ने उद्देश्यले कथा लेखन कार्यशालाको आयोजना गरिएको थियो । एउटा स्कुलमा तीन दिनसम्म त्यहाँ अध्ययनरत बालबालिकालाई कथा लेखन प्रशिक्षण दिएँ ।

गोरखा मावि तुलसीपुर, गोरखा आवासिय विद्यालय तुलसीपुर र गोरखा स्कुलकै भगिनी संस्था मावि प्रतापकोट स्कुलमा समेत मैले यो प्रशिक्षण दिइसकेको छु । बाल साहित्यमै रुचि राख्ने भएकै कारण मलाई विद्यालयले यो कार्यशालाका लागी निम्तो दिएपछि मैले यसलाई सहस्र स्वीकार गर्दै यहाँसम्म आइपुगे । त्यसो त मैले यस्तै कथा लेखन प्रशिक्षणकै क्रममा मुलुकका ६७ जिल्लासम्म सहभागी भइसकेको पनि यहाँलाई स्मरण गराउन चाहन्छु ।

— बाल साहित्यमा तपाईको पृष्ठभूमि विषयमा केही बताइदिनुस् न ?

मेरो जन्म प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङको च्यान्धारा भन्ने ठाउँमा भएको हो । अहिले म कृतिपुर नगरपालिका–६ काठमाडौँमा बस्दछु । म सानैदेखि कथा पढ्ने स्वभावको थिएँ । विस्तारै पढ्दा पढ्दै लेखनमा पनि अभ्यास थाले । साहित्य पढ्दा पढ्दै लाग्यो, साहित्य पनि त समाज परिवर्तनको एउटा सशक्त माध्यम हो भन्ने लाग्यो, अनि साहित्य हरेक समाजको ऐना हो भन्ने पनि लाग्यो । मैले धेरै पुस्तकहरू पनि पढे । साहित्यले समाजमा धेरै परिवर्तन ल्याएको पनि निक्र्यौल गरे । समाज परिवर्तन गर्नका लागि आफ्नो पुस्ता र अग्रज पुस्तालाई सकिँदैन जस्तो लाग्यो ।

आजका बालबालिकानै भविष्यका देशका जिम्मेवार अभिभावक भएकाले बालबालिकाकै लागि काम गर्नुपर्छ भन्ने लाग्यो । त्यही कारण म बाल साहित्यमा जोडिएँ । मैले २०५८ सालबाट बाल साहित्य लेख्न थालेको हुँ । अहिले मेरा करिब एक सय ५० कृति प्रकाशित भइसकेका छन् । करिब ३ दर्जन पुस्तक प्रकाशोन्मुख अवस्थामा छन् । मैले पाएको जानकारी अनुसार सङ्ख्याको हिसाबले सबैभन्दा बढी पुस्तक लेख्ने साहित्यकार म हुँ । अहिले म नेपाल बाल साहित्य समाजको केन्द्रीय अध्यक्ष भएर नेतृत्व गरिरहेको छु ।

२०४४ सालमा स्थापना भएको यस संस्थामा हाल दुई सय ६० जना सदस्य छन् । यस संस्थामा अग्रज श्रष्ठा रमेश विकल, प्राध्यापक डाक्टर चुरामणि बन्ुधुलगायतले नेतृत्व गरिसक्नु भएको छ । बाल साहित्यको प्रहिचान, प्रस्फुटन र प्रवद्र्धन गर्नु नै यो संस्थाको मुख्य ध्यय हो ।

— साहित्य भनेको के हो, संक्षिप्तमा बताइदिनुस् न ?

साहित्यको परिभाषा निकै भेग छ । मान्छेको स्वभाव, मान्छेको दृष्टिकोण अनुसार परिभाषित गरिन्छ । साहित्य मिति बिनाको इतिहास हो । तत्कालीन समाजको चित्रण हो, तत्कालीन समाजको ऐना हो, श्रष्टाले बाचेको समयमा उसले देखेको, भोगेको, सुनेको र अरूले गरेको कुरालाई कलात्मक रूपमा स्वर मिलाएर, कल्पना मिलाएर लेख्नु नै साहित्य हो । सहित्यले श्रष्टा बाचिरहेको समाज र समयको प्रतिनिधित्व गर्नुपर्दछ भन्ने मलाई लाग्छ । अर्थात कुनै पनि विषयवस्तुलाई गहन रूपमा बुझाउन पनि साहित्यले ठुलो महत्व राख्दछ । समाजको भोगाइको कलात्मक प्रस्तुती साहित्य हो ।

— साहित्यले समाज बदलेका÷सत्ता बदलेका उल्लेख्य केही उदाहरणहरू बताइदिनुस् न ?

साहित्यले समाज र सत्तानै परिवर्तन गरेको त मलाई थाहा छैन तर साहित्यका माध्यमबाट मानिसको सोँच परिवर्तन सोच बदलिएका धेरै उदाहरणहरू छन् । त्यसरी सोँच बदलिएका मानिसले समाज र देशको नेतृत्वमा पुगे भने अवश्य पनि सकारात्मक परिवर्तन आउँछ भन्नेमा कुनै बिमति छैन । यसरी नै साहित्यमार्फत् सोच बदलेर नेपालमा पनि धेरै राजनीतिक, सांस्कृतिक एवम् सामाजिक परिवर्तन भएका छन् ।

— नेपालका विभिन्न जिल्लाका विद्यालयहरूमा कथा लेखन कार्यशालामा सरिक हुँदै आउनु भएको छ। यहाँका बालबालिकाहरूमा साहित्य बारेको रुचि र खुबी कस्तो पाउनु भो ?

साहित्यिक यात्राका क्रममा मैले नेपालका ६७ जिल्ला घुमेको छु तर कथा लेखनकै सिलसिला र कथा लेखन प्रशिक्षणका सिलसिलामा मैले नेपालका ४५ जिल्लाका करिब दुई सयभन्दा बढी विद्यालयमा सहभागी भएको छु । फरक–फरक स्थानको फरक–फरक प्रस्तुती, फरक–फरक अभिव्यक्ति, फरक–फरक भाषा, फरक–फरक संस्कृति बुझ्न पनि मलाई यो अभियानले निकै सघाएको छ ।

म जहाँ–जहाँ कथा लेखन प्रशिक्षणका क्रममा पुगेँ, कहीँ कतै पनि रित्तो साहित्य पाइन । हरेक बालबालिकामा साहित्यको कुनै न कुनै खुबी अन्र्तनिहित छ भन्ने मैले पाएको छु । खाली समस्या भनेको ती प्रतिभाको पहिचान गर्नु, उजागर गर्नु र प्रोत्साहन गर्नुमा छ ।

हरेक क्षेत्रमा रहेका अब्बल लेखकलाई प्रोत्साहन गर्दै जाने हो भने जतिसुकै दुर्गम जिल्लाकै बालबालिका किन नहुन उनीहरूलाई नाम चलेको साहियकारका रूपमा स्थापित गराउन सकिन्छ तर उनीहरूमा भएको क्षमताको पहिचान गरी अवसर भने दिनुपर्दछ । मलाई लाग्छ यसमा विद्यालयको अहम भूमिका रहन्छ । विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित राख्नु हुँदैन । अतिरिक्त क्रियाकलापलाई पनि सँगसँगै लग्यौँ भने सबथोक हाम्रै विद्यालयमा छन् ।

राष्ट्रिय कलाकार यिनै विद्यार्थी हुन्, भोलिका प्रधानमन्त्री यिनै हुन्, भोलिका प्रधान न्यायधिश यिनै हुन्, गायक यिनै हुन्, कथाकार यिनै हुन् । अर्थात् भोलि हामीलाई हरेक क्षेत्रमा चाहिने प्रतिभा र क्षमता यिनै विद्यालयमा छन् । यी प्रतिभालाई निखार्न विद्यालयको पनि अहम भूमिका हुन्छ भन्ने मलाई लाग्छ ।

— पछिल्लो समयमा पठन संस्कृति र लेखन संस्कृति हराउँदै गएको छ, यसको प्रमुख कारण के देख्नुहुन्छ ?

पठन संस्कृतिको जग भनेकै विद्यालय हो । विद्यालयमा शिक्षक तथा अभिभावकले विद्यार्थीलाई पाठक संस्कृतिका विषयमा उजागर गर्न आवश्यक छ । अहिलेको सूचना प्रविधिको बढ्दो प्रयोगले बालबालिकामा त पढ्ने अभ्यासनै समाप्त पार्न थालेको छ । युवामा पनि पढ्ने अभ्यास अत्यन्तै कमजोर बन्दै गएको छ । पढ्नुको रस विद्यार्थीलाई छैन ।

सामाजिक सन्जालका परीदृश्यमा बालबालिका, युवादेखि वृद्धवृद्धा समेत अभ्यस्त देखिन्छन् । डिजिटलमा सुन्दरता मात्रै हुन्छ, तर पढ्नुमा सुगन्ध पनि हुन्छ । त्यसैले पढ्ने अभ्यास बसाउन विद्यालयदेखि नै विद्यार्थीलाई अभ्यस्त पार्न विद्यालय व्यवस्थापन गम्भीर भएर लाग्नु आवश्यक हुन्छ भन्ने मलाई लाग्छ । हो, सूचना प्रविधिमा पनि जोडिनु समयको माग हो तर यसो भन्दैमा चौविसै घण्टा डिजिटल अभ्यासमा लाग्नु भने शारीरिक र मानसिक दुवै हिसाबले उपयुक्त होइन ।

अन्तमा मलाई बाल साहित्यका विषयमा केही जानकारी दिने अवसर जुटाइदिनु भएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि धन्यवाद दिन चाहन्छु । साथै म यस जिल्लामा रहँदा मलाई साहित्य प्रशिक्षणमा साथ र सहयोग गर्नु हुने विद्यालय परिवार, लेखनमा जोडिने विद्यार्थी भाइबहिनि तथा मेरो बसाइ व्यवस्थापन गरिदिने सम्पूर्ण अभिभावकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।