‘मन सफा भए परिस्थिति सहज हुन्छ, सुन्दर इतिहास लेखिन्छ’

नारायणप्रसाद श्रेष्ठ

मानिसको मन पवित्र गंगासरी बगिरहेको हुन्छ । यो कहिले हावाको झोक्कामा खेलिरहेको हुन्छ भने कहिले काहीँ सांसारिक गतिविधिसँग रमाइरहेको पनि हुन्छ । यसको स्थीर आसन हुँदैन । सूक्ष्मदेखि अति सुक्ष्मसम्ममा पनि यो रमाइरहेको हुन्छ । उडेको पन्छी सरह उडी पनि रहन्छ ।

यसरी उडिरहने क्रममा यो कहिले सुन्दर बगैँचाभित्र रोमलिन पुग्दछ भने कहिले भौतिक चकाचौधको उकुसमुकुस वातावरणमा पनि घुलमिल हुन पुग्दछ । चञ्चल मनको त्यो परिवेशलार्ई बुझेर होला विद्वान र ज्ञानी पुरुषहरु चञ्चल मनलार्ई एकाग्र गराउन ध्यान, जप, तप,को माध्यम योग समाधीको सहारा लिन पुग्दछन् ।

योग र ध्यानको माध्यम संयम र धैर्यता कायम राखी सामाजिक आवरणमा रहेको विश्वास र अविश्वासको दुषित वातावरणलार्ई सकारात्मक उर्जातर्फ परिणत गर्न लागि परेका हुन्छन् । दुषित वातावरणमा हुर्केको गलत सामाजिक परम्परालार्ई हटाई सकारात्मकबिच विजारोपण गर्न लागि परेका पनि हुन्छन् ।

मनलार्ई एकाग्र गराई विश्वासको धरातलमा आफूलार्ई खरो उतार्न प्रयत्नशील भइरहेका पनि हुन्छन् त्यसैले विचारको दरिद्रताभित्र लुकेको कारणलार्ई बुझेर प्रत्येक व्यक्तिले आफूले आफैलार्ई विश्वास योग्य बनाउनु पर्दछ । विश्वास र भरोसाको तराजु मा आफूलार्ई तौलेर आफू र जगतको भलार्ई खातिर अघि बढ्ने संकल्प गर्नुपर्दछ भनिएको हो ।

विश्वास मनको पवित्रता हो । यसमा अहंकार, घमण्ड, केही हुँदैन । न त यसमा शंका भएको वातावरण नै हुन्छ । विश्वासमा कहिले प्रश्न चिन्ह पनि खडा हुँदैन । न त यसमा धोका र छलकपट नै हुन्छ । त्यसैले ज्ञानरुपी अमृत रश पिएर मनको उज्यालो ज्योतिलार्ई सधैं एउटै गतिमा चलाईमान गराइ पवित्र विचार गंगा बगाउनु पर्दछ ।

ज्ञान चम्किलो हिरा हो भने विश्वास हीरा सरी संसारको पर्यावरणलार्ई उज्यालो बनाउने आधार हो । यही आधार मनको गतिसँग जोडिएको हुन्छ । कतिपय विद्वानले ज्ञान पुरुष हो, माया स्त्री हो, भन्दै मायाको जालमा परेर व्यक्ति समाजको आचरण गलत मानसिकतातर्फ अग्रसर भएको पनि हुन्छ भनी भनेको पनि पाइन्छ । उनीहरु भन्दछन् अँध्यारो गतिमा छटपटाएको भ्रमित मनले कहिले पनि उज्यालोको महसुस गर्न दिँदैन ।

सही र स्पष्ट विचार प्रवाह गर्न नदिएको पनि हुनसक्छ । त्यसैले सधैँ स्वच्छ र पवित्र धार लिएर अगाडि बढेको मनको भावलार्ई बुझी त्यसको ज्योतिलार्ई ग्रहण गर्नुपर्दछ । जसले मानवलार्ई मानव भएर बाँच्न हाँस्न खेल्न र सत्कर्म गर्न उत्प्रेरित जगाइरहेको हुन्छ त्यही मनको विचारलार्ई सधै एकाकार गर्नुपर्दछ । स्वच्छ र पवित्र मनलार्ई, जो न त मैन बत्ती झैँ पग्लेर बिलाउँछ, न त आधीहुरीले नै यसको गन्तव्यलार्ई नै टुक्र्याउन सक्दछ, त्यस्तो विचार अगाडि बढाइरहनु पर्दछ ।

साथै यस्तो मनको भावलाई बुझी अघि बढने इच्या शक्ति बढाउनु पनि पर्दछ । मन चम्किलो हिरा हो । साथै यो चम्किलो मनी पनि हो । यसले संसारलार्ई सधैँ उज्यालोको अनुभूति गराउन लागि परेको हुन्छ । फरक यति हो यस्तो मनलार्ई हेर्ने बुझ्ने परख गर्ने र व्यवहारमा लागु कसरी गराउन सकिन्छ यसतर्फ गम्भीर बनी अगाडि बढ्नु पर्दछ ।

सकारात्मक भाव कसरी ल्याउन सकिन्छ यसतर्फ गम्भीर रुपले चिन्तन गर्नुपर्दछ छ । कुनै पनि काम गर्दा वा गराउँदा मनको पवित्रतालार्ई नबुझी गरेको कार्य सफल हुँदैन । सोचको दरिद्रताको कारण उत्पन्न भएका दुःखकष्ट लाभहानी जस्ता विचारलाई समयमै पन्छयाई परिस्थितिको आंकलन गर्न सकिएन भने पनि आफूले आफैलाई प्रश्न गर्नु पर्ने अवस्था आउँछ ? त्यसैले प्रत्येकले आफूले आफैलार्ई बुझेर अघि बढ्ने संकल्प गर्नुपर्दछ । मनको तरेलीमा आउने हजारौँ विचारलाई छटनी गर्न सक्नुपर्दछ ।

संकल्पले मानिसको इच्छाशक्ति र कर्ममा निश्चिन्तता बनाउँछ । यसले सोच र चिन्तनमा सकारात्मक भाव जागृत गर्ने परिस्थिति जन्माउँछ । यही परिस्थिति मानिसको भविष्यको आधार पनि बन्दछ । त्यसैले सोच र चिन्तनलाई सकारात्मक भाव जागृत गर्नेतर्फ मनलाई सधै गतिशिल बनाउनु पर्दछ ।

त्यस्तो परिस्थिति सिर्जना गर्नुपर्दछ । बाटोमा देखा पर्ने अवरोध, अप्ठ्यारो, सफ्ठेरो गोरेटोलाई पनि सहज बनाउने संकल्प गर्न सक्नुपर्दछ । प्रत्येक क्षणमा आउने विचारको प्रवाहलाई तौलेर भविष्यको गोरेटो निर्माण गर्ने कार्यमा विचारको प्रभावकारिता कसरी सुदृढ बन्न सक्छ त्यसलाइ बुझेर आफूलाई समाहित गर्नुपर्दछ ।

कुनै पनि विचारको प्रभावमा पर्ने अप्ठ्यारो सप्ठ्यारोलाई आंकलन गरी भौतिक वातावरणले ल्याउन सक्ने सकारात्मक र नकारात्मक भावलाई बुझेर सकारात्मक वातावरण अनुसरण गर्ने क्षमताको विकास गर्न सक्नुपर्दछ । दौडिरहने मनको गतिलाई सांसारिक सुखभोगभित्र नअल्मल्याई, नयाँ विचार र सोचका साथ सर्वेभवन्तु सुखीन भन्ने मान्यता स्थापित गर्न लागि परिरहनु पर्दछ ।

धन दौलत केवल भौतिक आडम्बर भित्रको सपना मात्र हो । यसलाई उचित ठाउँमा उचित समयमा सदुपयोग गर्नुपर्दछ । कर्म र व्यवहारमा एकरुपता ल्याई जीवनको पूर्वार्धदेखि उत्तरार्धसम्म आफ्नो सोच र चिन्तनलाई मनको उज्यालो गतिमा समाहित गर्नुपर्दछ । आफूले आफैलाई हेर्ने परख गर्ने भावनामा विकास गर्नु सक्नुपर्दछ । सधैँ चनाखो रहेर दृष्टिकोणमा सकारात्मक भाव जागृत हुने चिन्तन गर्नुपर्दछ ।

मनलाई उडेको पन्छीसरी स्वच्छ र पवित्र विचारधाराको सुन्दर बटवृक्षको शीतलताको अनुभूति गराउने गरी संकल्प गर्नुपर्दछ । मनमा दुविधा, विचारमा साँघुरोपन, कर्ममा स्वार्थ, यो चिन्तनको घेराभित्र राख्नु हुँदैन ।

यस्तो अवस्थामा दुःखको समुन्द्रले डुबुल्की मार्न सक्छ । यही कुरालाई मनन गरी शोकको बाटिकामा होइन अशोकको बाटिका– जहाँ स्वच्छ सफा र सुन्दर भविष्यको कल्पना गर्न सकिन्छ, जहाँ सुन्दरताले भरिपूर्ण सामाजिक परिवेशमा रमाउन खोज्ने वातावरण बन्न सक्दछ, त्यस्तो चिन्तन र विचार प्रवाह गर्नुपर्दछ ।

स्वच्छ सफा र सुन्दर भविष्यको कल्पनासँगै प्राकृतिक सम्पदाले भरिपूर्ण आनन्दको सागरमा डुबुल्की मार्न र सामाजिक परिवेशलाई नयाँ चिन्तन र विचारका साथ अगाडि बढाउनुपर्दछ । जहाँ स्वच्छ र पवित्र विचार सलबलाउँछन् त्यही रमाउन जान्नुपर्दछ । हुन त वर्तमानको परिस्थितिलाई हेर्दा यस्तो अवस्था सिर्जना गर्न कठिनाइ नपर्ला भन्न सकिन्न ।

स्वार्थ र सत्ता भत्ता र विलासिताको मोहले धपक्कै ढाकेको वर्तमानमा मनको इच्छा र आकांक्षा पनि मोहतर्फ आकर्षित नहोला ? भन्न सकिन्न । तथापि जीवनको उद्देश्य स्वेच्छाचारी विचार प्रतिपादन गर्न अघि बढेको होइन ? जीवन भनेको त सांसारिक गतिविधिलाई सकारात्मक दिशा उन्मुख बनाई सेवा र समर्पणमा आधारित कर्म र व्यवहार गरी जीवनलाई सार्थकता दिनु हो भन्ने मान्यता राखी सदाबहार वसन्तको छहारीमा शीतलताको अनुभूति गर्दै अगाडि बढ्ने दृढता राख्नुपर्दछ ।

भौतिक सुख सुविधाभित्र देखा पर्ने दुषित वातावरणलाई पन्छ्याउँदै मनको गतिलाई अरुको भलाई खातिर समर्पित गर्नुपर्दछ । मनलाई स्वच्छ र पवित्र विचारधारामा गतिशील बनाउनु पर्दछ । अरुलाई पीडा दिनु होइन मनको पवित्र विचार धारालाई सबै प्राणी म र म जस्तै हुन्, भन्ने स्वीकारेर अरुको दुःखमा दुःख मनाउने होइन उनको दुखिरहेको घाउमा मलम्पट्टी गरी साहारा बन्ने संकल्प गर्नुपर्दछ ।

अहिलेको वर्तमानमा मानव जातिले अरुको पीडाप्रति त्यति ध्यान दिएको पाइँदैन । आज सम्झेको र बोलेका कुराहरु भोलि बिर्सने मानवीय स्वभावले कहीँ कतै दुःखको भारी आफैले बोक्नु पर्ने अवस्था नदेखिएको पनि होइन ? तथापी सही र स्पस्ट विचार र सकारात्मक चिन्तन र सोचले कहिले पशच्याताप गर्नु परेको हुँदैन ।

आफूले कुनै वास्ता प्रयोजन नगर्ने तर आफूलाई सबैले सहयोग गरोस् भन्ने भावना राख्नु वास्तवमा यो सबै स्वार्थ केन्द्रित विचारले ल्याएको परिणाम हो । तसर्थ रोटी एकहोरो पाक्दैन भन्ने चिन्तन बढाई सेवा र समर्पणमा आधारित जीवनशैली अपनाउनु पर्दछ मनको मझेरीभित्र लुकेको स्वार्थलाई परित्याग गरी सर्वेभवन्तु सुखिनको सिद्धान्तभित्र जीवनलाई गतिशील बनाउनु पर्दछ ।

मनमा उठ्ने जति पनि स्वार्थ चिन्तन छन् ती सबै भौतिक आडम्बरभित्र लुकेका भ्रम हुन् भने ठानी आफूलाई सधैं चिन्तनशील बनाउनुपर्दछ । बोल्न पाए भन्दैमा प्याच बोल्ने, बस्न पाए भन्दैमा थ्याच्छ बस्ने जुन प्रवृत्ति छ त्यसलाई हटाउन सक्नु बुद्धिमानी मानिन्छ । क्षणिक स्वार्थ र मोहमा फसेर होइन मनको पवित्र भावले अरुप्रतिको सेवा भावमा आफूलाई समर्पित गर्नुपर्दछ । क्षणिक स्वार्थ र मोहमा फसेर आफूलाई पापी हुनबाट जोगाउनु पर्दछ ।

कतिपय समयमा दृष्टिभ्रमको कारण जीवनले कष्ट भोगिरहेको पनि देखिन्छ । तसर्थ यस्तो अवस्था सिर्जना हुन नदिने गरी तर्क र विज्ञानसम्मत आफूभित्र भएको आस्था र विश्वासलाई मनको दरिलो चिन्तनभित्र समाहित गरी अघि बढ्ने चिन्तन गर्नुपर्दछ । मन सफा त कटौतीमा गंगा त्यसै भनिएको होइन । मन सफा भय परिस्थिति सहज बन्छ, सुन्दर इतिहास लेखिन्छ । चेतना भया ।