अपाङ्गता भएका व्यक्ति खोज्दै बंगलाचुली गाउँपालिका

गोरक्ष समाचारदाता
कमिरेचौर, १० मङ्सिर । शारीरिक अशक्तताका कारण कष्टकर जीवन बिताइरहेका शारीरिक अपाङ्ता भएका व्यक्तिहरूको उपचार गर्ने उद्देश्यले बंगलाचुुली गाउँपालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र खोजीकार्य थालेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापन र उपचारका लागि गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूको खोजी तथा पहिचानको थालनी गरेको हो । गाउँपालिका अध्यक्ष तुुलसीराम पुनले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क उपचार गरी अपाङ्गताको कष्टकर जीवनबाट उन्मुक्ति दिलाउन गाउँपालिकाले गाउँ गाउँमा अपाङ्गता भएका व्यक्तिहरूको खोजी गरी निःशुल्क उपचारका लागि अपाङ्गता पहिचान शिविर सञ्चालन गरेको बताए ।

कीर्तिपुुर अस्पताल र अपाङ्ग समाज सुधार केन्द्र दाङको सहयोग र सहकार्यमार्फत् बंगलाचुलीले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, उपचार सेवा सुुरु गरेको हो । स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सहज जीवनयापन अधिकार रहेकाले गाउँपालिकाले बर्सेनि अपाङ्गता भएका व्यक्तिहरूको खोजी, उपचार र उद्धारको काम गरिरहेको बताउँदै अध्यक्ष पुनले त्यस्ता नागरिकको निःशुल्क शल्यक्रियासहित औषधोपचार गरिने बताए । ‘शिविरमार्फत् पहिचान गरिएका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क उपचार गरिनेछ’, उनले भने ।

अपाङ्गता भएका व्यक्तिको खोजीका लागि गाउँपालिकाको आयोजना, कीर्तिपुुर अस्पताल काठमाडौं र अपाङ्ग समाज सुधार केन्द्रको सहकार्यमा गाउँपालिकामा बृहत अपाङ्ग पहिचान शिविर सञ्चालन गरिएको छ । जसमा २३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिएका बंगलाचुुली अस्पतालका जनस्वास्थ्य निरीक्षक सुुवासचन्द शेरपाइलीले जानकारी दिए । जसमा दुुई जना आगोले जलेको र एक जनाको औँला शल्यक्रिया गर्ने बिरामी भेटिएका छन् ।

शिविर गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा बंगलाचुुली गाउँपालिका प्रवक्त शोभाराज विश्वकर्मा, अपाङ्ग समाज सुुधार केन्द्रका संस्थापक हुमकान्त कँडेल, केन्द्रका अध्यक्ष ईश्वरीप्रसाद खड्कालगायतले शिविरको आवश्यकता र औचित्यबारे बोलेका थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक नेवबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लोकबहादुर विश्वकर्माले गरेका थिए ।