मृगौला पीडित बिरामीलाई आर्थिक सहयोग

शान्तकुमार बुढा मगर
दाङ, १० मङ्सिर । रोल्पा कोटगाउँले समाजले मृगौला पीडित बिरामी मनवीर विकलाई आर्थिक सहयोग गरेको छ । करिब एक वर्ष अघिदेखि दुवै मृगौला गुमाएका रोल्पा कोटगाउँ निवासी विकलाई समाजले एक लाख बढी रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिका–१३ स्थित समाजको कार्यालयमा सोमवार कार्यक्रमको आयोजना गरेर मृगौलाका बिरामी मनवीरलाई एक लाख २० हजार नौ सय २० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । दुवै मृगौला फेल भएपछि उपचारकै क्रममा आर्थिक अभाव भएका विक परिवारलाई समाजले रकम हस्तान्तरण गरेको हो ।

समाजका अध्यक्ष टेकबहादुर वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१३ का कार्यवाहक वडा सदस्य रामकली घर्तीको प्रमुख आतिथ्यता एवम् रोल्पाली सेवा समाज केन्द्रका केन्द्रीय अध्यक्ष डिलाराम वली, अल्फा टेकवान्दो डोजाङका पदम केसी, रोल्पाली सेवा समाज केन्द्रका केन्द्रीय महासचिव शेरबहादुर डांँगीलगायतको उपस्थितिमा आर्थिक सहयोग गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण समाजका सचिव निशाना वलीले गरेका थिए ।