खेमराज रिजाल
तुलसीपुर, ९ मङ्सिर । अचेत त्यहाँ मालागेडिको हररर.. वास्ना आइरहन्छ । कहिले टिमुरको राग, त कहिले हर्रो, वर्रो र पिपलाको राग । तपाई घोराही, तुलसीपुर यात्रा गर्दै हुनुहुन्छ भने रानीघाट पुल नपुग्दै दक्षिणतर्फबाट मिठो सुगन्ध सडकसम्मै आएर तपाईको नाकमा ठोकिन्छ । यो करिब तेइस वर्षदेखिको निरन्तर हो ।
त्यो घरलाई धेरैले जडिबुटी घर भन्थे । अब त्यहाँं ‘टिमुर घर’ बनाइँदै छ । स्थानीय भरत न्यौपानेले २०५२ सालदेखि नै ढिका नुनको व्यापार गर्थे, मट्टितेलको व्यार र खाद मलको डिलर पनि । पछि पेसा परिवर्तन गर्दै न्यौपानेले टिमुरको व्यापारबाट जडिबुटी व्यापारमा छिरे । क्रमशः मालागेडी, सुठो, अमला, तेजपत्ता, दालचिनीको बोक्रा, हर्रो, वर्रो लगायतका जडिबुटीको व्यापार हुन थाल्यो ।
जडिबुटी व्यापारलाई बढावा दिँदै ठुलो जडिबुटी सपना देख्दा देख्दै भरत न्यौपानेको २०७७ सालमा कोरोना भाइरसको सङ्क्रमणले निधन भयो । अहिले भरतको व्यापार उनकै छोरा दिपेन्द्र न्यौपानेले सम्हाल्दै छन् । व्यापारमा उनलाई आमा सुस्मिताले सघाउँदै छिन् । पेसाले दिपेन्द्र चार्टर एकाउण्टेन्ट हुन्, तैपनि उनले यो जडिबुटी व्यापारलाई भने छाडेका छैनन् । यो व्यापारलाई परिमार्जित र परिस्कृत गर्दै निखार्ने दिपेन्द्रको धोको छ ।
‘बुवाको जडिबुटी व्यापार प्रतिको लगनशीललाई छाड्न सकेनौँ, अहिले उहाँको व्यापारलाई थप परिमार्जन गरेर लैजाने तयारीमा छौँ’, दिपेन्द्रले भने । खासमा उनको पसलमा अहिले मुख्य व्यापार भनेको टिमुर र मालागेडीको हो । यी दुवै जडिबुटीको बजार भाउ राम्रो भएको दिपेन्द्रले बताए । उनले यो व्यापार गर्न गौरीकुण्ड नेचुरल्स नामको फर्म खोलेका छन् । यही फर्ममार्फत् व्यापार भइरहेको छ ।
गौरीकुण्ड नेचुरल्सलाई अब ब्रान्डिङ सहितको उत्पादनमा जोड्न नयाँ फर्म सञ्चालनको तयारीमा छन् भरत । ‘अब हामीले यही टिमुर घर सञ्चालन गर्ने तयारीमा छौँ’, दिपेन्द्रले भने, अब हाम्रा उत्पादनमा टिमुर घरको ब्रान्ड हुने छ । दिपेन्द्रले गाउँ–गाउँबाट ल्याएको जडिबुटीलाई ग्रेडिङ गरेर ग्राहकको डिमाण्ड अनुसार बिक्र्री गर्ने गरेका छन् । यो सिजनमा उनले स्थानीय करिब १५÷२० जनालाई रोजगार समेत दिने गरेका छन् । सधै व्यापार गर्नका लागि भने तीनजना कामदार राखेका छन् ।
कति हुन्छ व्यापार ? गोरक्षले दिपेन्द्रलाई कारोबारका विषयमा सोधेको थियो । दिपेन्द्रले डायरी पल्टाएर भने वार्षिक आठ करोडको टर्नओभर हुँदोरहेछ । मुनाफा त अन्तर्राष्ट्रिय बजार अनुसार हुने हो । अर्थात् भारतीय बजार अनुसार । अब यसलाई अझै बढाउने उनको योजना छ । यहाँ विभिन्न जडिबुटी सङ्कलन गर्ने र होलसेलमा बेच्ने गरेका उनले अब ब्रान्डिङ गरेर जडिबुटीजन्य उत्पादन बेच्ने तयारी गरेका छन् तर जडिबुटी सङ्कलन भने सहज छैन ।
जडिबुटी पाउनका लागि गाउँ–गाउँमा गएर स्थानीय किसानलाई खाली बोरा र एडभान्स रुपैयाँ समेत दिनु पर्ने रहेछ । डिभिजन वनसँग स्वीकृति लिएर राजस्व पनि तिर्नु पर्ने रहेछ । यी सबै प्रक्रिया पु¥याएर आगामी सिजनमा जडिबुटी टिप्नका लागि रोल्पा, सल्यान, रुकुम, सुर्खेत र दाङको बंगलाचुलीका किसानलाई बैना समेत दिइसकेको बताए । ‘उता किसानले सङ्कलन गरिसक्छन् अनि हामीले आफ्नै गाडी लगेर माल ल्याउने हो’, दिपेन्द्रले भने ।
जडिबुटी व्यापार कति फस्टाउने भन्ने भारतीय बजारमा भर पर्ने उनले बताए । कति व्यापार वृद्धि हुने भन्ने भारतीय कै भर भएको पनि उनले बताए । ‘हामीले सङ्कलन गरेको जडिबुटी बेच्ने भनेकै भारतीय बजार हो, उनीहरूले लिइदिएनन् भने अर्को विकल्प छैन’, दिपेन्द्रले भने, यही कारण मूल्य निर्धारण पनि भारतीयले नै गरिदिने जस्तो अवस्था छ ।
नेपाल सरकारले जडिबुटीको बजारीकरणमा कुनै पहल नगरेको उनको गुनासो छ । भारत बाहेक तेस्रो मुलुकमा दाङ जिल्लाबाट कुनै पनि व्यापारीले पठाउने गरेका छैनन् । यसैमा उनले जडिबुटी व्यापारका विषयमा अर्को कुरा पनि बताए । अहिले बजारको मागअनुसार जडिबुटी सङ्कलन नै गर्न नसकिएको पनि बताए । किनकि जडिबुटीको उत्पादन क्रमश हरेक वर्ष कम हुँदै गएको छ ।
गाउँमा स्थानीय श्रम विदेश पलायन भएपछि जडिबुटी स्याहार गरी हुर्काउन समेत असहज अवस्था आएको उनले बताए । अब सरकारले जडिबुटी खेतीलाई प्रवद्र्धन गर्न छुट्टै कार्यक्रम ल्याउनु पर्ने पनि उनको सुझाव छ । दाङ जिल्लामा पनि जडिबुटी उत्पादनको प्रचुर सम्भावना भएको बताउँदै छिल्लीकोट क्षेत्रमा मात्रै सयौँ प्रजातिका जडिबुटी रहेको उनको अनुभव छ । त्यसो त उनले स्थानीय संघसंस्थालाई पनि आवश्यकता अनुसार जडिबुटी आपूर्ति पनि गर्दै आएका छन् ।
‘हामीले यही कै बिजौरीमा रहेको आयुर्वेैद चिकित्सालयलाई पनि टेण्डर खोलेका बेला जडिबुटी उपलब्ध गराउन सक्ने हैसियत आफूहरूले राख्ने पनि उनले दाबी गरे । यद्धपि अस्पतालले केही वर्ष यता टेण्डर खोलेको छैन तर पनि व्यापार टिकाउन भने त्यति समस्या छैन ।