उद्योग दिवस : उद्योग व्यवसायमा लगानीसँगै घट्दै उत्पादन

अमरराज आचार्य
दाङ, ९ मङ्सिर । जिल्लामा पछिल्लो समय उद्योगमा लगानीसँगै उत्पादन घट्दै गएको छ । अस्थिर देशको अवस्थाले आर्थिक क्षेत्रलाई असर गर्दा उद्योग व्यवसायमा त्यसको असर देखिएको छ । जसका कारण उद्योग व्यवसाय बन्द नभए पनि उत्पादन घटाउँदै गएको दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ बताउँछन् ।

‘बजारको माग घटेको कारण अधिकांश जिल्लाका उद्योगले उत्पादन घटाएको’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बताउँछन् । उद्योग पूर्ण रूपमा सञ्चालन नहुँदा त्यसको प्रभाव रोजगारी तथा अन्य क्षेत्रमा पर्ने उनले बताए । उत्पादन क्षेत्रमा लगानी हुन नसकेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिए । उत्पादनमूलक क्षेत्र राम्रोसँग सञ्चालन हुन नसक्दा लगानी हुन नसकेको उनको भनाई छ ।

राष्ट्र बैंकको रिपोर्टले पनि ऋण लगानी हुन नसकेको देखाएको उनले बताए । अहिले सञ्चालनमा रहेका उद्योगले आफ्नो उत्पादन करिब ३० प्रतिशत कमी गरेको उनको भनाई छ । ‘उपभोग नै कम भए पछि उद्योगले उत्पादन कटौती गर्दै गएका हुन्’ उनले भने । कहिले के कहिले के कारणले निजी क्षेत्र समस्यामा पर्दै आएको उनी बताउँछन् । ‘बजार चलायमान हुन सकेको छैन बजार चलायमान हुन नसक्दा यसको प्रभाव धेरै तिर पर्ने गरेको छ ।

पछिल्लो समय घरेलु तथा साना उद्योग एवम् वाणिज्य फर्म दर्ता हुने क्रम कमी देखिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । जेन–जी आन्दोलनको कारण पछिल्लो समयमा दर्ता गर्न आउनेको सङ्ख्या समेत कमी भएको उनको भनाई छ ।

जिल्लामा व्यवसायको लगतकट्टा गर्ने व्यवसायी दाङमा बर्सेनि बढ्दै गएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग तथा वाणिज्य फर्मको लगतकट्टा गर्नेको आँकडा बर्सेनि बढ्दै गएको कार्यालयको रेकर्डले देखाएको छ । विगत आठ वर्षदेखिको तथ्याङ्कमा लगतकट्टा गर्ने बर्सेनि बढेको देखिएको हो । आर्थिक वर्ष २०७४÷०७५ देखि गत आर्थिक वर्ष २०८१÷०८२ सम्मको रेकर्डले व्यवसाय लगतकट्टा गर्ने क्रम बढेको देखाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा उद्योगतर्फ एक सय तीन र वाणिज्यतर्फ दुई सय ५७ गरी तीन सय उद्योगको लगतकट्टा भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा उद्योगतर्फ एक सय ५६ र वाणिज्यतर्फ दुई सय ५६ गरी चार सय १२ उद्योगको लगतकट्टा भयो । आर्थिक वर्ष २०७६÷०७७ मा उद्योगतर्फ एक सय ३९ र वाणिज्यतर्फ दुई सय २५ गरी तीन सय ६४ उद्योगको लगत कट्टा भयो भने आर्थिक वर्ष २०७७÷०७८ मा उद्योगतर्फ दुई सय सात र वाणिज्यतर्फ दुई सय शून्य गरी चार सय ८७ उद्योगको लगतकट्टा भएको रेकर्ड छ ।

त्यस वर्ष उत्पादनमूलक ४०, कृषि तथा वनजन्य उद्योग ७९, पर्यटन उद्योग ४२ र सेवामूलक उद्योग ४६ वटा बन्द भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा उद्योगतर्फ दुई सय एक र वाणिज्यतर्फ तीन सय ४१ गरी पाँच सय ५९ को लगतकट्टा भएको थियो । जसमा उत्पादनमूलक ५४, कृषि तथा वनजन्य उद्योग ८१, पर्यटन उद्योग ३१ र सेवामूलक उद्योग ५२ वटा बन्द भएका थिए ।

आर्थिक वर्ष २०७९÷०८० मा उद्योगतर्फ दुई सय ९८ र वाणिज्यतर्फ तीन सय २३ गरी छ सय २१ उद्योगको लगतकट्टा भएकोमा उत्पादनमूलक ५४, कृषि तथा वनजन्य उद्योग एक सय ४०, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ वटा थिए र आर्थिक वर्ष २०८०÷०८१ मा उद्योगतर्फ चार सय एक र वाणिज्यतर्फ चार सय ७५ गरी आठ सय ७६ को लगतकट्टा भएको थियो ।

जसमा उत्पादनमूलक ४८, कृषि तथा वनजन्य उद्योग दुई सय २१, पर्यटन उद्योग ५७ र सेवामूलक उद्योग ७५ वटा बन्द भएका थिए । गत आर्थिक वर्ष २०८१÷०८२ मा चार सय ४४ उद्योग र पाँच सय ५५ वाणिज्य फर्म गरी नौ सय ९९ व्यवसाय बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कले देखाएको छ ।

दाङमा घरेलु तथा साना उद्योग घट्दै गइरहेको बर्सेनि भइरहेको नयाँ दर्ता र लगतकट्टाको अवस्थाले देखाएको छ । विगत तीन वर्षको उद्योग दर्ता र बन्दको आँकडाले नै उद्योगको अवस्था ओरालोतिर झर्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७९÷०८० मा एक हजार पाँच सय ६९ साना उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार एक सय नौ उद्योग मात्रै नयाँ दर्ता भए ।

आर्थिक वर्ष २०८१÷०८२ मा एक हजार २८ नयाँ उद्योग व्यवसाय दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१÷०८२ मा ८१ कम उद्योग व्यवसाय दर्ता भए । अघिल्लो वर्ष दाङमा चार सय ६० नयाँ दर्ता कम भएका थिए ।

एकातिर नयाँ उद्योग दर्ता घटेको देखिएको छ भने अर्कोतर्फ उद्योग दर्ता खारेज गर्ने बढेको देखिएको छ । आर्थिक वर्ष ०७९÷८० मा छ सय २१ उद्योगको दर्ता खारेज भएकोमा आर्थिक वर्ष २०८०÷०८१ मा आठ सय ७६ उद्योगको दर्ता खारेज भएको छ । एक वर्षको अवधिमा दुई सय ५५ बढी उद्योगको दर्ता खारेज भए अर्थात उद्योग कानुनी रूपमा बन्द भए । आर्थिक वर्ष २०८१÷०८२ मा नौ सय ९९ उद्योग व्यवसाय बन्द भए जुन अघिल्लो आर्थिक वर्षको भन्दा एक सय २३ बढी हो ।

दर्ताको पनि घट्दै

नयाँ उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०८१÷०८२ सम्मकै तथ्याङ्क हेर्दा नयाँ दर्तामा उत्साह देखिएको छैन । आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१÷०८२ मा १ उद्योग र वाणिज्य फर्म कम दर्ता भए । आर्थिक वर्ष ०७९÷०८० को तुलनामा आर्थिक वर्ष २०८०÷२०८१ मा पनि चार सय ६० नयाँ दर्ता कम भएका थिए ।

आर्थिक वर्ष २०७९÷०८० मा एक हजार पाँच सय ६९ साना उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार एक सय नौ उद्योग मात्रै नयाँ दर्ता भएका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार ७२ नयाँ उद्योग कार्यालयमा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा सात सय ३१ मात्रै उद्योग दर्ता भए । कोभिडका कारण त्यस वर्ष उद्योग दर्तामा उत्साह नदेखिए पनि आर्थिक वर्ष २०७७÷०७८ मा भने नयाँ उद्योग दर्ता बढेको थियो । त्यस वर्ष दुई हजार एक सय चार नयाँ उद्योग दर्ता भएका थिए ।

जसमा उत्पादनमूलक दुई सय सात, कृषि तथा वनजन्य उद्योग एक हजार पाँच सय १२, पर्यटन उद्योग एक सय ६ र सेवामूलक उद्योग दुई सय ९७ नयाँ दर्ता भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा अघिल्लो आर्थिक वर्षभन्दा तीन सय ५३ कम उद्योग दर्ता भए । त्यस वर्ष उत्पादनमूलक एक सय ७३, कृषि तथा वनजन्य उद्योग एक हजार दुई सय ६०, पर्यटन उद्योग एक सय ६१ र सेवामूलक उद्योग दुई सय ३६ गरी एक हजार आठ सय ३१ नयाँ उद्योग दर्ता भएका थिए ।

उद्योग दिवसमा औपचारिक कार्यक्रम नगरिने

उद्योग दिवसमा घरेलु तथा साना उद्योग कार्यालयले औपचारिक कार्यक्रम नगर्ने भएको छ । कार्यालयलमा परिपत्र ढिला आएको कारण तयारी नपुग्दा औपचारिक कार्यक्रम गर्न नसकेको जनाएको छ । औपचारिक कार्यक्रम नगरे पनि कार्यालय सरसफाइ तथा सेवा ग्राहीलाई सम्मान गर्ने कार्यक्रम गर्ने कार्यालयले जनाएको छ ।